Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 911
    Shares

    • images
    आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव बस्नेतले देश समृद्धि, विकास, सुशासन र रोजगारीको दिशामा अघि बढ्नुपर्ने युवाहरूको चाहनामाथि सरकारले प्रहार गरेको दाबी गर्नुभएको हो । एमाले अध्यक्ष ओली र काँग्रेस नेता रमेश लेखकलाई सरकारले शनिवार बिहान निवासबाट पक्राउ गरेको थियो । त्यसको विरोधमा एमालेले सडक संघर्ष शुरु गरिसकेको छ । उहाँले बालुवाटारबाट भइरहेका पछिल्ला निर्णयहरूलाई ‘घृणायुक्त’ र ‘प्रतिशोधपूर्ण’ भएको बताउनु भयो । सरकारले तत्काल यि निर्णयहरु फिर्ता लिनुपर्ने बताउनु भयो । 

    २. वैशाखमा महिला तथा पुरुष भलिबल लिग हुने

    प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अर्को महिना हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा आगामी वैशाख १० देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको हो । महिलामा ६ टोली र पुरुषमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुषतर्फ एनभिए च्याम्पियनसिपबाट छनोट भएका ८ टोली र महिलातर्फ ६ टोली गरी कुल १४ टोलीको सहभागिता रहनेछ ।
    पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम भलिबल टिम, कोशी प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब सहभागी छन् ।

    ३.राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा

    नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनाक्रमलाई राजनीतिक र कानूनी दुवै रूपमा प्रतिवाद गर्ने बताउनुभएको छ । यस घटनालाई ‘गलत’ र ‘निन्दनीय’ भन्दै पार्टीले यसमा विमर्श गरेर थप कदम चाल्ने जानकारी दिनुभएको हो । विश्वकर्माले पार्टीको आधिकारिक धारणा बैठकपछि मात्रै थप स्पष्ट हुने बताउनु भयो । विश्वकर्माकाअनुसार पार्टीको तर्फबाट यस विषयमा प्रारम्भिक धारणा सार्वजनिक भइसकेको छ । उहाँले विषय अगाडि बढिसकेकाले आन्तरिक छलफल पछि मात्रै थप कुराहरू बाहिर ल्याइने बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘राजनीतिक रूपमा यसको प्रतिवाद हुन्छ । कानूनी लडाइँ सँगसँगै हुन्छ नै । यो आएर भर्खर मलाई थाहा भइरहेको छ । यो गलत भएको छ । अब बैठकमा छलफल भएर विमर्श भएपछि मात्र भन्न सकिन्छ ।’

    ४.राजनीतिक प्रतिशोधको कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौंः प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर ‘राजनीतिक प्रतिशोध’ साँधेको बताउनुभएको छ । उहाँले सरकारका कदमहरू पूर्वाग्रही रहेको भन्दै यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो । ज्ञवालीले एमाले विरुद्ध भइरहेका घेराबन्दीलाई चिर्न पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने समेत संकेत गर्नुभयो । यसबाट सत्तापक्ष र प्रतिपक्ष बीचको दूरी अझ बढ्ने देखिएको छ । उहाँले भन्नुभयो, ‘यो प्रतिशोध हो । यसको हामीले कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौं । हामीले आफ्नो धारणा भनिसकेका छौँ, यो राजनीतिक प्रतिशोध हो । र प्रतिशोधको कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद हुन्छ ।’

    ५. यो राजनीतिक प्रतिशोध हो, अध्यक्षलाई अविलम्व रिहा गरियोस्ः गोकर्ण विष्ट

    नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले पार्टी अध्यक्षको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उपाध्यक्ष विष्टले सरकारको यो कदमको कडा निन्दा गर्नुभएको हो । विष्टले सरकारले राजनीतिक पूर्वाग्रह राखेर नेताहरूलाई दुःख दिने काम गरिरहेको बताउनु भयो । यो लोकतन्त्रको उपहास भएको र एमालेले यसको विरुद्धमा सशक्त आवाज उठाउने बताउनु भयो । उपाध्यक्ष विष्टले कार्यकर्ताहरूलाई संयमित रहँदै न्यायको पक्षमा उभिन आग्रह समेत गर्नुभएको छ ।

    ६. प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित

    नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण भएको टिप्पणी गर्नुभएको छ । देशका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर सरकारले राजनीतिक प्रतिशोधको शुरुवात गरेको उहाँले आरोप लगाउनुभएको हो । उहाँले प्रतिशोधको राजनीतिले राजनीतिक स्थायित्व र सुशासन नभई द्वन्द्वको अवस्था निम्त्याउने चेतावनी दिनुभयो । पण्डितकाअनुसार पार्टीले राजनीतिक प्रतिवाद गर्नेछ । जुन सडक संघर्ष मात्र नभई अन्य विभिन्न स्वरूपको हुनसक्छ । उहाँले पार्टीको बैठक बसिरहेको र निर्णय छिट्टै सार्वजनिक हुने जानकारी दिँदै कानूनी लडाईं समेत लड्ने स्पष्ट पार्नुभयो । 

    ७. पूर्वप्रधानमन्त्री ओली पक्राउ

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको छ । शनिवार बिहान गुण्डुस्थित निवासबाट ओलीलाई पक्राउ गरिएको हो । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वमा सरकार बनेको १८ घण्टाभित्रै पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निवासबाटै ओलीलाई पक्राउ गरेको हो । ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको जाँचबुझ आयोगले मुख्य दोषी ओलीलाई ठहर गरेको  छ ।  पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय र दोषी ठहर गरेलगत्तै ओलीलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको थियो । 

    ८. पछिल्लो २४ घण्टामा ३८ विपद्का घटनाः ३ जनाको मृत्यु, १ करोड १४ लाखभन्दा बढीको क्षति

    राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लाहरूमा ३८ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । यी घटनाहरूमा परी ३ जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन् । प्राधिकरणको पछिल्लो बुलेटिनअनुसार यस अवधिमा १ करोड १४ लाख ७२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

    ९.खगराज अधिकारीको चेतावनीः प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ, तुरुन्त रिहा गर

    नेकपा एमालेका नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई ’गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै भत्र्सना गर्नुभएको छ । अध्यक्ष ओलीलाई बिना शर्त तुरुन्त रिहा गर्न माग गर्दै सरकारको यो कदम संविधान र कानूनको भावना विपरीत रहेको बताउनुभएको हो । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकारीले गिरफ्तारीको प्रक्रियामा समेत गम्भीर प्रश्न उठाउनु भयो । उहाँले छानबिन समितिले सिफारिस गरेको भनिए पनि कुनै ठोस अभियोग र प्रक्रिया पूरा नगरी रातारात जुन शैलीमा पक्राउ गरियो, यसले सरकारको प्रतिशोधको ज्वाला प्रष्ट पारेको बताउनु भयो । अधिकारीले एमाले यस कदमको विरुद्धमा कानुनी र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले देशलाई द्वन्द्वमा नभई सहमति र सहकार्यको बाटोमा लैजान सरकारलाई आग्रह समेत गर्नुभयो । 

    १०. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय प्रतिशोधपूर्णः एमाले नेता भट्टराई

    नेकपा एमालेका नेता विशाल भट्टराईले सरकारले प्रतिशोधको राजनीति शुरु गरेको आरोप लगाउनुभएको छ । कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको पछिल्लो कदमलाई उहाँले पूर्वाग्रहपूर्ण र निन्दनीय भएको बताउनुभएको हो । नेता भट्टराईकाअनुसार कार्की आयोगको प्रतिवेदन आफैँमा विवादित छ । एमालेले यस कदमको कानूनी र संसदीय दुवै मोर्चाबाट प्रतिवाद गर्ने चेतावनी दिएको छ । भट्टराईले महाराजगञ्ज प्रहरी चौकीमा भएको अमानवीय हत्याका बारेमा प्रतिवेदन मौन रहेकोमा पनि प्रश्न उठाउनु भयो । उहाँले भन्नुभयो, ‘यो प्रतिवेदनले २३ गतेको घटनालाई मात्रै दोषी ठहर्याएको छ तर २४ गते भएको ठूलो विध्वंशप्रति पुरै बेखबर छ । कसैलाई किटानी ठहर गर्न नसकेको प्रतिवेदनलाई सरकार बन्नासाथ कार्यान्वयनमा लैजानु भनेको सिधै प्रतिशोध साँध्नु हो । आयोगका संयोजक गौरीबहादुर कार्की आफैँ विवादित हुनुहुन्छ । उहाँले पहिले नै पक्रनुपर्छ, थुन्नुपर्छ भन्दै फैसला सुनाइसक्नुभएको थियो । यस्तो पूर्वाग्रही व्यक्तिको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्नु भनेको राजनीतिक प्रतिशोध बाहेक अरु केही होइन ।’

    ११. कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने एमालेको तयारी, सचिवालय बैठकले रणनीति तय गर्ने

    नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानूनी दफाहरुको कुनै आधार नभएको दाबी गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुग्नुभएका उपाध्यष पन्तले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनी आधार बिना पक्राउ गर्नु गम्भीर भएको बताउनुभएको हो ।  अध्यक्ष ओलीमाथि लगाइएका दफाहरु तर्कसंगत नभएको उहँँको भनाइ छ । पन्तले एमालेले यस विषयमा आजै छलफल गर्ने र कानूनी रुपमा कडा प्रतिवाद गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘समस्या त अब गम्भीर नै भयो तर जुन दफाहरु लगाइएको छ, त्यो दफाहरु चाहिँ लगाउने आधार देखिँदैन। त्यसैले हामी आज छलफल गर्छौँ र यो कानूनी रुपमै कत्तिको प्रतिवाद गर्न सकिन्छ, कानूनी रुपमा पनि प्रतिवाद गर्छौं । र त्यसपछि अब अरु के गर्ने भन्ने कुरो अहिले हामी सचिवालयको बैठकमा छलफल गरेपछि थप पाइलाहरु के हुनेछन् भन्ने कुरा अब अहिले रणनीति बन्छ अब त्यसको बारेमा ।’

    १२. ओली पक्राउ परेपछि च्यासलमा एमाले केन्द्रिय सचिवालय बैठक शुरु

    नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक शुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा केही समयअघि बैठक शुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ज्यान कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेसँगै आन्दोलनको रणनीति बनाउन सचिवालय बैठक बसेको हो । अध्यक्ष ओलीलाई सरकारले शनिवार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो । 

    १३. एमाले अध्यक्ष ओली पक्राउपछि तनावः सडकमा उत्रिए आक्रोशित कार्यकर्ता

    नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै मुलुकको राजनीतिक परिस्थिति तरंगित बनेको छ । अध्यक्ष ओली पक्राउ परेसँगै एमालेका भ्रातृ संगठनहरू र समर्थकहरू राजधानीलगायत देशभरका प्रमुख शहरहरूमा सडक प्रदर्शनमा उत्रिएका हुन् । अध्यक्ष ओलीलाई गुण्डुस्थित निवासबाट शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । ओली पक्राउ परेलगत्तै काठमाडौंको भृकुटीमण्डप र पार्टी केन्द्रिय कार्यालय च्यासलसहित देशभरका विभिन्न स्थानमा एमाले निकटका युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरू ठूलो संख्यामा भेला भएका छन् । प्रदर्शनकारीहरूले सरकार विरोधी नाराबाजी गर्दै तत्काल ओलीको रिहाइको माग गरेका छन् । 

    १४. अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले

    नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानूनी ठहर गरेको छ । पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको केसन्द्रय सचिवालयको आकस्मिक बैठकले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरीत रहेको निष्कर्ष निकालेको हो । बैठकपछि महासचिव शंकर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै तत्काल रिहाइको माग गर्नुभयो । अध्यक्ष ओली र नेता लेखकको गिरफ्तारीको निन्दा र भत्र्सना गर्दै तत्काल रिहाइको माग। गर्ने निर्णय भएको बताउनु भयो । यो कदम लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरीत रहेको ठहर एमालेको रहेको पनि बताउनु भयो । 

    १५. कृषिमन्त्रीद्वारा कृषि सामग्री कम्पनीको अनुगमन, रासयनिक मललाई सहज बनाउन निर्देशन

    कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले कृषि सामग्री कम्पनी लिमिडेटको अनुगमन गर्नुभएको छ । मन्त्री चौधरीले शनिवार कम्पनीको अनुगमन गर्नुभएको हो । उहाँले अनुगमनका क्रममा रासयनिक मलको मौज्जातको अवस्था र आयात प्रणालीको बारेमा जानकारी लिनुभएको थियो । मन्त्रीले चौधरीले मललाई प्राथमिकतामा राखेर छलफल गरेको बताउनु भयो । उहाँले मध्यपूर्वमा भइरहेको युद्धको कारण मलको अवस्था कस्तो छ ? कसरी ल्याउन सक्छौँ ? भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेको जानकारी दिनुभयो । खेती लगाउने बेला भएकोले किसानलाई मल अभाव नहुनेगरी काम गर्ने उहाँको भनाई छ । उहाँले तत्काल अग्र्यानिक मलको प्रयोग सम्भव नभएकोले रासयनिक मलको सहजतालाई नै सरकारले जोड दिएको बताउनुभयो । अग्र्यानिक मलको प्रयोगलाई पनि प्रोत्साहन गर्ने बताउनु भयो । 

    १६. नवनिर्वाचित सांसदहरुलाई काँग्रेसको अभिमुखिकरण शुरु

    नेपाली काँग्रेसले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरुको लागि संसदीय सचेतना कार्यक्रम शुरु भएको छ । पार्टी कार्यलय सानेपामा सचेतना कार्यक्रम शुरु भएको हो । काँग्रेसले पार्टीको तर्फबाट निर्वाचित भएका प्रतिनिधि सभा एवं राष्ट्रिय सभा सदस्यहरुलाई संसदीय ज्ञान दिनको लागि अभिमुखिकरण गर्ने निर्णय गरेको थियो । सचेतना कार्यक्रमका पार्टी सभापपति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीहरु प्रदीप पौडेल र गुरु घिमिरेले प्रशिक्षण दिनुहुनेछ । यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने काँग्रेसले जनााएको छ ।

    १७. संसद, सडक र न्यायलय तीन तिरबाटै एमालेको प्रतिवादः प्रतिशोध र आवेगले आगो बाल्छः उपमहासचिव भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्राउको घटनालाई संसद, सडक र न्यायलय तीनतिरबाट प्रतिवाद गर्ने बताउनुएको छ । पार्टी कार्यलय च्यासलमा शनिवार पत्रकारहरुसँग कुरा गर्दै उहाँले गैरसंवैधानिक र गैरकानूनी रुपले अध्यक्ष ओलीलाई पक्राउ गरिएकोले सशक्त विरोध गर्ने बताउनुभएको हो । उहाँले एमालेले कानूनी र संवैधानिक सीमाभित्र रहेर संयमित तर प्रभावकारी विरोध कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । उहाँले सरकारलाई जनमतको दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो । प्रतिशोध र आवेगबाट प्रेरित निर्णयले समाधान नदिई झन् द्वन्द्व बढाउने उहाँको भनाई छ । 
    उहाँले भन्नुभयो, ‘यो गैरसंवैधानिक र गैरकानूनी रहेको छ । गैरसंवैधानिक र गैरकानूनी भएकोले यसलाई हामी संसदमा पनि उठाउँछौँ । सडकबाट पनि हामी यसको प्रतिरोध गर्नेछौँ । कानूनी हिसावले हाम्रा कानून व्यवसायीहरुसग समन्वय गरेर न्यायलयमा पनि जान्छौँ । कानूनी र सडक दुबै मोर्चाबाट हामी विरोधमा उत्रिन्छौँ । हाम्रो विरोध संयमित हुन्छ । एमाले जिम्मेवार पार्टी हो, हाम्रा सबै विरोधका कार्यक्रमहरु संयमित हुन्छन्, उछृङ्खल हुँदैनन् । कानुनी र संवैधानिक घेरा भन्दा बाहिर हामी जाँदैनौ । कानूनप्रति, संविधान, न्यायलयप्रति हामीलाई विश्वास छ । हामी यो सरकारलाई पनि जुन जनमत प्राप्त गरेको छ, त्यो जनमतको दुरुपयोग नर्गन आग्रह गर्छु । प्रतिशोध र आवेगले निष्कर्ष निस्किँदैन, त्यसले आगो बाल्छ ।’ 

    १८. ओली र लेखकको तत्काल रिहाई गर्न सरकारसँग एमालेको माग, कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने चेतावनी

    नेकपा (एमाले)ले पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवं पूर्वग्रहमन्त्री रमेश लेखकको तत्काल रिहाई गर्र्न सरकारसँग माग गरेको छ । जेन–जी आन्दोलनका बेला प्रधानमन्त्री रहनुभएका ओली र गृहमन्त्री रहनुभएका काँग्रेस नेता लेखकलाई फौजदारी अभियोगमा सरकारले गिरफतार गरेलगत्तै बसेको एमाले सचिवालय बैठकले सो गिरफदारीको निन्दा, भत्सर्ना र विरोध  गर्दै दुवै नेताहरुलाई तत्काल रिहाई गर्न सरकारसँग गरेको हो । सो गिरफतारी प्रतिरोधपूर्ण, पूर्वाग्रही र गैरकानूनी भएको तथा लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरित भएकाले दुवै नेतालाई तत्काल रिहा गर्न सरकारसँग माग गरिएको पार्टीका महासचिव शंकर पोखरेलले बताउनु भयो । बैठकले सो गिरफतारीको विरोधमा उत्रन पनि राजनीतिक दलहरु, नागरिक समाज र आम जनसमुदायलाई आह्वान गरेको छ । सो घटनाको कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय पनि एमालेले गरेको छ ।

    १९. लामो समयदेखिको आंशिक बन्दकाबीच कर्मचारीहरूलाई पारिश्रमीक खुवाउने सम्बन्धी पत्रमा ट्रम्पद्वारा हस्ताक्षर

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार एक राष्ट्रपतीय स्मरणपत्रमा हस्ताक्षर गर्दै यातायात सुरक्षा प्रशासनका एजेन्टहरूलाई तलब उपलब्ध गराउने निर्णय गरेका छन् । गृह सुरक्षा विभाग एक महिनाभन्दा बढी समयदेखि बन्द रहँदा ती कर्मचारीहरूले बिना तलब काम गरिरहेका थिए र उनीहरूमाझ अनुपस्थित हुने दर बढ्दै गएको थियो ।  बन्द शुरु भएयता झन्डै ५ सय यातायात सुरक्षा अधिकारीहरूले आफ्नो पद छोडिसकेका छन् र तलव अभावका कारण हजारौं कर्मचारीहरू बिरामी बिदामा बस्ने क्रम कीर्तिमानी दरमा बढेको छ । फलस्वरूप केही विमानस्थलहरूमा सुरक्षा जाँचका लागि पर्खनुपर्ने समय तीन घण्टा वा सोभन्दा बढी पुगेको छ । जुन अत्यन्तै कष्टकर बनेको छ । 

    २०. युक्रेन वार्ताका मुख्य मुद्दाहरूमा कुनै प्रगति नभएको रुसको भनाइ

    रुसले युक्रेन संकट समाधानका लागि भइरहेको वार्तामा क्षेत्रीय मामिलालगायतका मुख्य मुद्दाहरूमा कुनै प्रगति हुन नसकेको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दैनिक पत्रकार सम्मेलनमा बोल्दै हालैका त्रिपक्षीय वार्ताका क्रममा समाधानका दिशामा केही प्रगति भएको बताउनुभयो । युक्रेन वार्ताका क्रममा क्षेत्रीय विवादहरू छलफलका मुख्य विषयहरूमध्ये एक रहेको उहाँले बताउनु भयो । उहाँले युक्रेन समस्याको समाधानका लागि मस्को अमेरिकाको सम्पर्कमा रहेको र परिस्थिति अनुकूल हुनासाथ वार्तालाई निरन्तरता दिने अपेक्षा गरिएको पनि बताउनु भयो । रुस र अमेरिकाबीचको सम्बन्ध सुधार्नु दुवै देशको हितमा रहेको उहाँले उल्लेख गर्नुभयो । यस वर्षको शुरुदेखि रुस अमेरिका र युक्रेनबीच युक्रेन मुद्दामा तीन चरणको त्रिपक्षीय वार्ता भइसकेको छ । जसको पछिल्लो चरण फेब्रुअरी १७–१८ मा स्विजरल्याण्डको जेनेभामा सम्पन्न भएको थियो ।

    २१. मध्य भारतमा सडक दुर्घटनाः १० जनाको मृत्यु

    भारतको मध्य प्रदेश राज्यमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन महिला र एक बालकसहित १० जनाको मृत्यु भएको छ । अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार उक्त सडक दुर्घटना मध्य प्रदेशको छिन्दवाडा जिल्लामा भएको हो । दुर्घटना हुँदा बसमा करिव ४५ जना यात्रु सवार थिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । 

    २२. मडागास्करका राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको घोषणा

    मडागास्करको राष्ट्रपति कार्यालयले नयाँ सरकारको नियुक्तिको घोषणा गरेको छ । यस नयाँ सरकारलाई देशमा सामाजिक स्थिरता सुदृढ गर्ने र भ्रष्टाचार विरुद्ध लड्ने मुख्य जिम्मेवारी सुम्पिएको छ । नयाँ सरकारमा ३० जना सदस्यहरू रहेका छन् । जसमा १७ जना सदस्यहरू पूर्वप्रधानमन्त्री हेरिन्त्सालामा राजोनारिभेलोको नेतृत्वमा रहेको अघिल्लो सरकारमा पनि कार्यरत थिए । मन्त्रिमण्डलमा अधिकांश सदस्यहरू सर्वसाधारण (नागरिक) रहेका छन् भने एक सैनिक अधिकारी, एक प्रहरी अधिकारी र दुईजना अर्धसैनिक बल (जेन्डम्र्स) का सदस्यहरू समावेश छन् । नयाँ सरकारको घोषणाका लागि आयोजित समारोहमा मडागास्करका राष्ट्रपति माइकल एन्ड्रियानिरिनाले नयाँ मन्त्रीहरूलाई सम्बोधन गर्दै मडागास्करका जनताको अपेक्षा पूरा गर्न निर्देशन दिनुभयो । 

    २३. बंगलादेशमा बस नदीमा खस्दा मृत्यु हुनेको संख्या २६ पुग्यो

    गलादेशको पद्मा नदीमा बुधवार एउटा बस खस्दा मृत्यु हुनेको संख्या २६ पुगेको एक वरिष्ठ अधिकारीले बताएका छन् । यो घटना ढाकाबाट करिव १२५ किलोमिटर दक्षिणमा पर्ने बंगलादेशको राजबारी जिल्लाको एक फेरी टर्मिनलमा भएको हो । राजबारीका डेपुटी कमिश्नर र जिल्ला मजिस्ट्रेट सुल्ताना अख्तरले सिन्ह्वासँग टेलिफोनमा कुरा गर्दै बसमा करिव ४० जना यात्रु सवार रहेको जानकारी दिनुभयो । फायर सर्भिसकाअनुसार ढाका जाँदै गरेको उक्त यात्रुवाहक बसले नियन्त्रण गुमाएर पल्टिँदा करिव ८० फिट गहिराइमा डुबेको थियो । 

    २४.ट्रम्पद्वारा इरानी ऊर्जा केन्द्रहरूमाथिको आक्रमण १० दिनका लागि स्थगित

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी ऊर्जा संयन्त्रहरूमाथि गर्ने भनिएको प्रश्तावित आक्रमणलाई १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् । दुई पक्षबीचको वार्ता धेरै राम्रोसँग अघि बढिरहेको दाबी गर्दै उनले बिहीबार यस्तो बताएका हुन् । अमेरिका र इरानबीच पाकिस्तानमार्फत सन्देशहरू आदानप्रदान भई अप्रत्यक्ष वार्ता भइरहेको पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इसहाक डारले बिहीवार एक सामाजिक सञ्जाल पोस्ट मार्फत जानकारी दिनुभयो । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बुधबार विभिन्न मध्यस्थकर्ताहरू मार्फत इरान र अमेरिकाबीच पछिल्ला केही दिनयता सन्देशहरू आदानप्रदान भएको बताएका छन् ।

    २५. गाजाका शिविरहरूमा भीषण आँधी र बाढी

    गाजा पट्टीमा भारी वर्षा र शक्तिशाली हावाहुरीले विस्थापित मानिसहरू बसिरहेका सयौं पालहरू डुबानमा पारेको अधिकारीहरूले बताएका छन् । गाजाको नागरिक रक्षाका प्रवक्ता महमुद बसलले बताएअनुसार, पालहरू डुबानमा परेपछि वा शक्तिशाली हावाले नष्ट गरेपछि सयौं बासिन्दाहरूले सहयोगका लागि विभागमा फोन गरेका थिए । उहाँले स्थितिलाई विनाशकारी भन्दै पूर्वाधारमा भएको क्षति र जारी प्रतिबन्धका बीच अत्यावश्यक सेवा र आवश्यकताहरूको अभाव रहेको बताउनु भयो । यसैबीच गाजाको सरकारी मिडिया कार्यालयका निर्देशक इस्माइल थावाब्ताले बताएअनुसार १ लाख ३० हजारभन्दा बढी पालहरूमध्ये १ लाख २० हजारभन्दा बढी पालहरू बारम्बारको आँधी र गर्मीका कारण जीर्ण र बस्न अयोग्य भएका छन् । उहाँले २ लाख ८० हजारभन्दा बढी परिवार घरबारविहीन भएको थप जानकारी दिनुभयो ।

    २६. अमेरिकी–इजरायली आक्रमणमा ६ सय भन्दा बढी इरानी विद्यालयहरू क्षतिग्रस्त

    इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रवार संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि शुरु गरेको सैन्य कारबाहीमा इरानभर ६ सय भन्दा बढी विद्यालयहरू ध्वस्त भएको बताउनुभएको छ । यसमा १ हजार भन्दा बढी विद्यार्थी र शिक्षकहरू मारिएका वा घाइते भएका छन् । जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को आकस्मिक बहसमा भिडियो लिंकमार्फत बोल्दै अराघचीले दक्षिण इरानी शहर मिनाबको एउटा प्राथमिक विद्यालयमा नियोजित आक्रमण भएको बताउनु भयो । जसमा १७५ भन्दा बढी विद्यार्थी र शिक्षकहरूको मृत्यु भएको थियो । 
    अराघचीले शजरेह तय्यबेह विद्यालयलाई निशाना बनाउनु युद्ध अपराध र मानवता विरुद्धको अपराध भएको र यसको सबैले कडा निन्दा गर्नुपर्ने र दोषीहरूलाई जवाफदेही बनाउनुपर्ने माग गर्नुभयो । उहाँले आक्रमणकारीहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको व्यापक र व्यवस्थित रूपमा उल्लंघन गरेको आरोप लगाउनु भयो । 

    २७. अमेरिकाबाट युद्धकालीन परिचालन कमाण्ड छिट्टै फिर्ता लिन्छौँः दक्षिण कोरियाली राष्ट्रपति

    दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले द्रुत रूपमा परिवर्तन भइरहेको सुरक्षा वातावरणको बीचमा देशले अमेरिकाबाट आफ्नो युद्धकालीन परिचालन कमाण्ड छिट्टै फिर्ता लिने बताउनुभएको छ । लीले प्रमुख सैन्य कमाण्डरहरूसँगको बैठकको अध्यक्षता गर्दै अमेरिकाबाट दक्षिण कोरियामा युद्धकालीन परिचालन नियन्त्रणको हस्तान्तरण द्रुत रूपमा अगाडि बढाइने बताउनुभएको हो । द्रुत रूपमा परिवर्तन भइरहेको सुरक्षा वातावरणमा प्रतिक्रिया दिन आत्मनिर्भर रक्षा आवश्यक रहेको उहाँको भनाइ छ । सन् १९५० मा तीन वर्ष लामो कोरियाली युद्ध शुरु भएपछि सियोलको युद्धकालीन परिचालन कमान्ड अमेरिकाको नेतृत्वमा रहेको संयुक्त राष्ट्र संघको कमान्डलाई हस्तान्तरण गरिएको थियो । 

    २८. अमेरिका–इरान अप्रत्यक्ष वार्ता पाकिस्तानमार्फत पठाइएका सन्देशहरूद्वारा जारी छः परराष्ट्रमन्त्री

    पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इसहाक डारले अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता पाकिस्तानमार्फत प्रवाहित सन्देशहरूमार्फत भइरहेको बताउनुभएको छ । यस सन्दर्भमा संयुक्त राज्य अमेरिकाले १५ बुँदाहरू साझा गरेको छ । जसमा इरानले विचार विमर्श गरिरहेको छ । साथै भाइचारा राष्ट्रहरू टर्किए र इजिप्टले पनि यस पहलमा आफ्नो सहयोग विस्तार गरिरहेका छन् । उहाँले पाकिस्तान शान्ति प्रवद्र्धनका लागि पूर्ण रूपमा प्रतिवद्ध रहेको र यस क्षेत्र तथा बाहिर स्थायित्व सुनिश्चित गर्न हरसम्भव प्रयास जारी राख्ने बताउनु भयो ।

    २९. ओली र लेखक पक्राउबारे काँग्रेसः सरकारले विधिको शासनविपरित काम ग¥यो

    नेपाली काँग्रेसले जेन–जी आन्दोलनको छानविन गर्न गठित उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन अपारदर्शी र एकपक्षीय रहेको निष्कर्ष निकालेको छ । शनिवार नवनिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरूका लागि आयोजित संसदीय सचेतना कार्यक्रममा पार्टीले यस्तो निष्कर्ष निकालेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । चालिसेले प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले विधिको शासनविपरीत काम गरेको टिप्पणी पनि गर्नुभयो । उहाँले सञ्चारमाध्यमबाट सार्वजनिक भएका प्रतिवेदनका अंशहरूले भदौ २३ गतेको दमनलाई बढावा दिएको र भदौ २४ गतेको घटनालाई पूर्णतः नजरअन्दाज गरेको बताउनु भयो । उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर सरकारले सेलेक्टिभ रूपमा प्रतिवेदन कार्यान्वयन गर्न खोजेको कांग्रेसको जिकिर गर्नुभयो । हतारमा पक्राउ गर्ने तर घटनाको गहिराइमा नपुग्ने कार्यले न्याय पाउने प्रक्रियालाई झन गिजोल्ने उहाँको निष्कर्ष छ । 

    ३०. त्रिभूवन विमानस्थलको अध्यागमन विभागको सर्भरमा समस्या, सेवाग्राही तनावमा

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या आएसँगै यात्रुहरु समस्यामा परेका छन् । शनिवार दिउँसोदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरु समस्यामा परेका हुन् । विभागको प्रशासनिक सर्भर डाउन हुँदा यात्रु चेक जाँचपास प्रभावित बनेको छ । यसले गर्दा यात्रुहरू विमानस्थलमा यात्रुको भीड समेत बढेको छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - २०:३५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij