२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाह ‘बालेन’ले वास्तुशात्र अनुसार प्रधानमन्त्री कार्यालयको आसन मिलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बालेनले आफ्नो कार्यकक्ष र मन्त्रिपरिषद बैठकको आसन वास्तु अनुसार मिलाएका हुन्।
बुधबार सह–सचिव प्रदीप परियारसहित ३ जनाको टोलीले प्रधानमन्त्री कार्यालयमा वास्तु अनुसार सबै सेटअप मिलाएको प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले जानकारी दिए। बालेन शाह काठमाडौँ महानरपालिकाको मेयर हुँदा प्रदीप परियार कार्यकारी प्रमुख थिए। उनै परियार वास्तुविज्ञ लिएर प्रधानमन्त्री कार्यालयमा बालेन शाहको आसन मिलाउन पुगेका थिए। साथमा बालेनका विश्वास पात्र कुमार बेन पनि थिए।
वास्तुविज्ञले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द कार्कीलाई तीन वटा कुरा मिलाउन निर्देशन दिएका थिए।
ती कर्मचारीले भने, ‘क्याबिनेटको मिटिङ हलको सेटअप चेन्ज भएको छ। प्रधानमन्त्रीज्यूले डिप्लोम्याटसँग भेट गर्ने ठाउँको आसन पनि परिवर्तन भएको छ।’ ती कर्मचारीका अनुसार प्रधानमन्त्री बस्ने कुर्सी बदलिएको छ भने ठाउँ यथावत छ।
‘प्रधानमन्त्रीको कुर्सी उत्तरतिर फर्किएको छ। त्यसलाई यथावत राखिएको छ। तर, टेबुलमा राखिएको सिसा निकालिएको छ,’ ती कर्मचारीले भने, ‘राष्ट्रिय निशान चिन्हलाई दाहिने पारेर कुर्सीको सेटिङ मिलाइएको छ। पहिले प्रधानमन्त्रीको कुर्सीको ठीकपछाडि निशान चिन्ह राख्ने गरिन्थ्यो।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij