२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १ सय ९१ दिने कार्यकाल पूरा गरी पदबाट बिदा भएका छन् ।
बिहीवार गृह मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा उनले जेनजी जनआन्दोलन पछिको सङ्कटपूर्ण अवस्थामा निर्वाचन सम्पन्न गराई संविधानलाई सही बाटोमा ल्याउन सफल भएको दाबी गरेका छन् ।
२०८२ भदौ ३० मा कार्यभार सम्हालेका अर्यालले आफ्नो कार्यकालमा शान्ति सुरक्षाको सामान्यीकरण, सुशासन र निष्पक्ष निर्वाचनलाई मुख्य कार्यभार बनाएको बताएका छन्। उनले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन आम नागरिक, सुरक्षाकर्मी र कर्मचारीको ठूलो योगदान रहेको उल्लेख गरेका छन् ।
कार्यकालका दौरान जेनजी आन्दोलनका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको, ७२९ जना घाइतेलाई राहत वितरण गरिएको र गम्भीर घाइतेहरूलाई मासिक भत्ताको व्यवस्था गरिएको जानकारी उनले दिएका छन् ।
बिदाईका क्रममा उनले भने, ‘सबैभन्दा महत्वपूर्ण विषय निर्वाचन पश्चात संविधानले सही बाटो समातेको छ । जेनजी जनआन्दोलन पश्चातको अवस्थाबाट संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन अनिवार्य थियो, जुन सम्पन्न भइसकेको छ ।’
नीतिगत क्षेत्रमा ऐतिहासिक रूपमा दुई दर्जन कानून तर्जुमा तथा संशोधन गरिएको र आन्दोलनमा क्षतिग्रस्त ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सुचारु गरिएको बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij