२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो बहुप्रतीक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल ‘सुजुकी ई-भिटारा’ को बुकिङ खुला गरेको छ।
बुधबार पोखरामा आयोजित वाडा अटो शोका अवसरमा कम्पनीले यस गाडीको सार्वजनिक घोषणा गर्दै बुकिङ सुरु भएको जानकारी दिएको हो। जापानी अटोमेकर सुजुकीले नेपाली बजारलाई लक्षित गरी भित्र्याएको यो पहिलो प्रिमियम विद्युतीय गाडी हो ।
जसको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो विशेष मूल्य सीमित अवधिका लागि मात्र लागु हुनेछ।
नयाँ हार्टेक्ट(ई प्लेटफर्ममा निर्माण गरिएको ई-भिटारामा जापानी विश्वसनीयता र अत्याधुनिक इन्जिनियरिङको उत्कृष्ट संयोजन पाइन्छ। यो गाडी ४९ किलोवाट घण्टा र ६१ किलोवाट घण्टाका दुई शक्तिशाली ब्याट्री विकल्पहरूमा उपलब्ध छ।
एक पटकको फुल चार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिने यो गाडीमा इको, नर्मल र स्पोर्ट्सका साथै हिउँ परेको बाटोका लागि विशेष स्नो टेरेन मोड पनि समावेश गरिएको छ।
गाडीको बाहिरी बनावट निकै मस्कुलर र बोल्ड छ, जसमा १८ इन्चको एरोडाइनामिक एलोय ह्वील, थ्री-पोइन्ट म्याट्रिक्स एलईडी डीआरल र प्रोजेक्टर हेडल्याम्पले आकर्षक लुक्स दिएका छन्।
सुरक्षाका दृष्टिकोणले पनि ई-भिटारालाई निकै सबल बनाइएको छ। यसमा लेभल २ एडास प्रविधि, ७ वटा एयरब्याग, चारै पाङ्ग्रामा डिस्क ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता विशेषताहरू छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij