Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

आज दिनभरको २४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 1.0K
    Shares

    • images
    आज दिनभरको २४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. पोखरा महानगरः शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरणः वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो

    पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् । मेयर धनराज आचार्यकाअनुसार पछिल्लो समय सामुदायिक (सरकारी) विद्यालयहरूमा ८ हजारभन्दा बढी विद्यार्थी थपिएका छन् । कतिपय सरकारी विद्यालयहरूमा त अहिले भर्ना पाउनै मुस्किल हुने अवस्था सिर्जना भएको छ । जहाँ २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरले शिक्षा क्षेत्रमा ५५ वटा विभिन्न बुँदाहरूमा सुधारका कामहरू अघि बढाएको छ । यसले गर्दा सरकारी विद्यालयहरू र शिक्षकहरूमा नयाँ आत्मविश्वास पलाएको मेयर आचार्यले बताउनु भयो । यसैगरी विकासको बजेटलाई तल्लो तहसम्म पु¥याउन मेयर आचार्यले बजेटको व्यापक विकेन्द्रीकरण गरेको दाबी गर्नुभयो ।  

    २. विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा

    नेपाल विद्यार्थी संघले विश्वविद्यालय र विद्यालयहरूमा हुने अनिश्चितकालीन तालाबन्दीलाई सधैँका लागि अन्त्य गर्ने घोषणा गरेको छ । सभापति दुजाङ शेर्पाले नेविसंघको कुनैपनि सदस्यले अब शैक्षिक संस्थामा तालाबन्दी नगर्ने प्रतिवद्धता जनाउँदै यसलाई पूर्ण कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभएको हो । शेर्पाले शिक्षा क्षेत्रको सुधारका लागि ‘मेरो शिक्षा, मेरो प्रश्न’ कार्यक्रम अन्तर्गत विभिन्न समयमा चार जना शिक्षा मन्त्रीहरूलाई रचनात्मक सुझाव बुझाएको बताउनु भयो । नेविसंघको मुख्य माग ‘सेन्ट्रल स्टुडेन्ट स्कलरसिप पोर्टल’ निर्माण गर्नु रहेको उहाँले बताउनु भयो । जसले दूतावासदेखि सरकारसम्मले दिने सबै छात्रवृत्तिलाई पारदर्शी बनाउनेछ । 

    ३. विश्व नम्बर एक बन्न एरिकालाई तमु धी एशोसिएशन युकेको साथ

    नेपाली राष्ट्रिय कराते टोलीकी सदस्य तथा ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई तमु धी एशोसिएशन युकेले आफ्नो सद्भावना दुत नियुक्त गरेको छ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै एरिकालाई आगामी एक वर्षका लागि उक्त जिम्मेवारी प्रदान गरिएको हो । सन् २०२६ को अप्रिलदेखि सन् २०२७ को अप्रिलसम्मका लागि उनलाई सद्भावना दूत नियुक्त गरेको तमु धी एशोसिएशन युकेले जनाएको छ । तमु धी एसोसिएसन युकेका अध्यक्ष जुमकाजी गुरुङ र उपाध्यक्ष कमल गुरुङका साथै एरिका गुरुङ, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विश्व नम्बर एक बन्नका लागि एरिकालाई तमु धी एसोसिएसन युकेले सहयोग गर्ने भएको छ । 

    ४. राखेप र मन्त्रालयका कारण फुटबल गतिविधिमा बाधा पुग्योः संकटा क्लव

    संकटा फुटबल क्लवले राजनीतिक स्वार्थका कारण नेपाली खेलकुदको अविभावकीय संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली फुटबलमा नै धराशायी बनाउने काम गरेको आरोप लगाएका छन् । श्रम स्वीकृतिबिना विदेशी खेलाडी खेलाएको भन्दै अध्यागमन विभागले सहिद स्मारक महिला लिग र राष्ट्रिय लिग रोक्न निर्देशन दिएपछि नेपालको घरेलु फुटबल ठप्प छ । संकटाले श्रम स्विकृतिका लागि आफूहरूले पटकपटक प्रयास गरे पनि राखेपले राजनीति स्वार्थका कारण रोकेको आरोप लगाएको छ । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले करिव दुई महिनादेखि श्रम स्वीकृतिका लागि आवश्यक कागजात दिएपनि अनेक बाहनामा राखेपले रोकेको बताए । एउटा व्यक्ती जाँदा श्रम स्वीकृतिका लागि सिफारिस दिने तर संस्थालाई भने रोकेको संकटाको भनाइ छ । राखेप कर्मचारीको खराब प्रवृत्तिकै कारण नेपाली गतिविधि प्रभावित भएको संकटाले आरोप लगाएको छ । 

    ५. बानेश्वरमा ‘गत्लाङका महिलाको सङ्घर्ष’ तस्बिर प्रदर्शनी शुरु

    रसुवाको गत्लाङ गाउँका महिलाहरूको मेहनत, दिनचर्या र सङ्घर्षलाई उजागर गर्ने उद्देश्यले काठमाडौंको नयाँ बानेश्वरस्थित ‘उमोजा कफी’ मा तस्बिर प्रदर्शनी शुरु भएको छ ।सोमवारदेखि ‘गत्लाङका महिलाको सङ्घर्ष’ शिर्षकमा उक्त प्रदर्शनी आयोजना गरिएको हो । दुई दिनसम्म चल्ने यस प्रदर्शनीमा करिव दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय केशवराज थोकरले खिचेका  उत्कृष्ट तस्बिरहरू राखिएका छन् । यस प्रदर्शनीको मुख्य उद्देश्य गत्लाङका श्रमजीवी महिलाहरूको जीवन सङ्घर्षलाई आम मानिसमाझ पु¥याउँदै उनीहरूप्रति उच्च सम्मान प्रकट गर्नु रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा राखिएका तस्बिरहरूले रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ३ मा अवस्थित सुन्दर पर्यटकीय गाउँ गत्लाङको जीवन्त कथा बोल्छन् । करिव ३ सय घरधुरी रहेको यस गाउँमा विशेषगरी तामाङ र दलित समुदायको बसोवास छ । 

    ६. प्रधानमन्त्री कपमा लुम्बिनी र सुदूरपश्चिमको सहज जित

    बलिङमा उत्कृष्ट प्रदर्शनको प्रेरणामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेका छन् । जनकपुरमा सोमवार भएको खेलमा लुम्बिनीले कोशी प्रदेशमाथि एक सय ४८ रन र सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि चार विकेटको जित निकाल्दा बलिङमा उत्कृष्ट प्रदर्शनको साथ रह्यो । सुदूरपश्चिमको पहिलो खेल हो भने लुम्बिनी, कर्णाली र कोशीले दोस्रो खेल खेलेका हुन् । लुम्बिनी र कर्णाली तथा कोशी र मधेस प्रदेशबीचको पहिलो खेल वर्षाका कारण प्रभावित भएको थियो । आफ्नो दोस्रो खेलमा बलिङमा उत्कृष्ट साथ पाएपछि लुम्बिनीले जित निकाल्दा कर्णाली र कोशी असफल भए । लुम्बिनीको जितममा सन्तोष यादवले अलराउन्ड प्रदर्शन गरे । सुदूरपश्चिमको जितमा पनि तीव्र गतिका बलर हेमन्त धामीको प्रदर्शन महत्वपूर्ण सावित भयो ।

    ७. नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

    नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा भारती घिमिरे र साकर आप्टे र अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ, विपिन कार्कीले स्वर दिनुभएको छ । त्यस्तै चलचित्रमा अभिनेता मदनकृष्ण श्रेष्ठसँगै सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । म्युनिक भिडियोको निर्देशन रञ्जित सिंह गाजमेरले गर्नुभएको छ चलचित्रका लेखक र निर्देशक तुलसी घिमिरे हुनुहुन्छ । कार्यक्रममा बोल्दै घिमिरेले नयाँ पुस्ता र पुरानो पुस्ता एक आपसमा ठोक्किने र नयाँ पुस्ताले नयाँ कुरा सधैँ बोकेर हिँड्ने गरेको बताउनु भयो । पुरानो पुस्ताबाट सिक्न पनि त्यत्तिकै आवश्यक रहेको उहाँले बताउनु भयो ।

    ८. नीलो आकाश र कञ्चन दृश्यले फेरियो उपत्यकाको रूप

    गत शुक्रवार र शनिवारको निरन्तर वर्षापछि काठमाडौँ उपत्यकाको मौसममा निकै सुधार आएको छ । लामो समयदेखिको धुलो र वायु प्रदुषणलाई वर्षाले पखालेपछि उपत्यकाको आकाश कञ्चन नीलो देखिएको छ भने वरिपरिका डाँडाकाँडाहरू अत्यन्तै मनमोहक देखिएका छन् । वर्षापछि काठमाडौंको वायुमण्डल यति सफा भएको छ कि उपत्यकाको एक छेउबाट अर्को छेउका घरहरू र डाँडाहरू प्रष्ट देख्न सकिन्छ । आकाशमा तैरिरहेका सेता बादलका थुप्राहरूले उपत्यकाको सुन्दरतामा थप रौनक थपेका छन् । मनमोहक हिमाल र डाँडाकाँडा मौसम खुलेसँगै उपत्यकाका अग्ला स्थानहरूबाट उत्तरतर्फका हिमश्रृङ्खलाहरू मुस्कुराएको देख्न सकिन्छ । वर्षाले वायुमण्डलमा रहेको धुलोका कणहरू भुइँमा झारिदिएपछि ‘भिजिबिलिटी’ (दृश्यता) बढेको हो । पहाडका चुचुराहरूमा रहेका गुम्बा र मठमन्दिरहरू नीलो आकाशको पृष्ठभूमिमा निकै आकर्षक देखिएका छन् । नागार्जुन र स्वयम्भू वरपरका डाँडाहरूमा हरियाली छाएको छ, जसले गर्दा उपत्यकाबासीलाई प्रकृतिसँग नजिक भएको महशुस गराएको छ । यो बदलिएको मौसमले काठमाडौंवासीको जनजीवनमा उत्साह थपेको छ । 

    ९.निजी क्षेत्रबीचको सहकार्यले मात्र आर्थिक समृद्धि सम्भवः कमलेश अग्रवाल

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रका प्रमुख संस्थाहरूबीचको एकता र सहकार्यले मात्रै मुलुकमा आर्थिक उपलब्धि प्राप्त गर्न सकिने बताउनुभएको छ । उद्योग वाणिज्य महासंघको उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले निजी क्षेत्र विभाजित हुँदा सरकार अलमलमा पर्ने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने बताउनुभएको हो । अग्रवालले आफ्नो दुई वर्षे कार्यकालमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग अत्यन्तै सौहार्दपूर्ण र प्रभावकारी सहकार्य भएको स्मरण गर्नुभयो । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझाएको सुझाव निजी क्षेत्रको साझा सहमतिको दस्तावेज भएको उहाँले बताउनु भयो । उहाँले आगामी नेतृत्वबाट पनि यस्तै किसिमको सहकार्य र एकताको अपेक्षा गर्नुभयो । 

    १०. निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ । महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै उहाँले निर्वाचनमा हुने प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारीमा जोड दिनुभएको हो । अहिले देशमा दुई तिहाइको स्थायी सरकार बन्ने प्रक्रियामा रहेको र यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनुपर्ने बताउनु भयो । उहाँले एक ढिक्का भएर आवाज उठाए मात्रै सरकारले सुन्ने उहाँको भनाइ छ । आफ्नो विगतको निर्वाचन अनुभव सुनाउँदै उहाँले भोट दिन्छु भन्ने सबैले भोट नहाल्ने यथार्थलाई बुझ्न उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । विधानले पदहरू समेत बढाएकाले इगो त्यागेर पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्न उहाँले वरिष्ठ उपाध्यक्ष र अन्य उम्मेदवारहरूलाई सुझाव दिनुभयो । निजी क्षेत्रको एउटै बलियो आवाजका लागि एकताको विकल्प नभएको उहाँको निष्कर्ष छ । 

    ११. निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छः पूर्वअध्यक्ष भवानी राणा

    नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । महासंघको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उहाँले व्यवसायीहरूबीच एकता (सोलिडारिटी) भए मात्र सरकारले निजी क्षेत्रको आवाज सुन्ने र महत्व दिने बताउनुभएको हो । उहाँले वर्तमान सरकारले निजी क्षेत्रलाई ‘ड्राइवीङ फोर्स’ को रूपमा लिएर ५ वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्य राखेको स्मरण गराउँदै यो लक्ष्य उद्योग, रोजगारी, उत्पादन र निर्यात बढेमा मात्र सम्भव हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीमा पनि भिन्नता भयो र अलग–अलग बाटोमा गयौँ भने सरकारले हामीलाई कमजोर पक्षको रूपमा हेर्छ । त्यसैले हामी सबै व्यवसायी एकीकृत भएर सोलिडारिटीका साथ अगाडि बढौँ । यो टिम एउटा बलियो टिम हो । उनीहरूले जिल्लाका समस्याहरूलाई नीतिगत तहसम्म पु¥याउन र वस्तुगत क्षेत्रका एजेण्डाहरूलाई अगाडि बढाउन सक्षम छन् ।’ 

    १३. ‘सात दिने मौसम पूर्वानुमान तयारीमा विभागः प्रविधि र बजेटको अभाव मुख्य चुनौती’

    जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएकोमा निकट भविष्यमै सात दिनसम्मको पूर्वानुमान गर्ने योजना बनाएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसम विज्ञ राजु प्रधानाङ्गले यसबारे जानकारी दिनुभएको हो । मौसमजन्य विपद्बाट हुने धनजनको क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमानलाई थप भरपर्दो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानाङ्गले पूर्वानुमानको शुद्धताका लागि अवलोकनका तथ्यांकहरू गुणस्तरीय हुनुपर्ने बताउनु भयो । नेपालमा हरेक वर्ष भारी वर्षा, हावाहुरी, असिना र डढेलो जस्ता मौसमी प्रकोपले ठूलो क्षति पु¥याइरहेको उल्लेख गर्दै उहाँले विभागले हाल भूउपग्रह (स्याटेलाइट), राडार, रेडियोसोण्ड र जमिनमा आधारित मौसम केन्द्रहरूबाट तथ्यांक संकलन गरिरहेको जानकारी दिनुभयो ।

    १४. अमेरिकी प्रयास विश्वव्यापी ऊर्जा बजारमा प्रभुत्व जमाउनः रूसी विदेश मन्त्री

    संयुक्त राज्य अमेरिकाले विश्वव्यापी ऊर्जा बजारमा प्रभुत्व जमाउने सिद्धान्त पछ्याइरहेको छ रूसी विदेश मन्त्री सर्गेई लाभरोभले बताउनुभएको छ । लाभरोभका अनुसारः ‘संयुक्त राज्य अमेरिकाले आफ्नो स्वार्थ सधैं अन्तर्राष्ट्रिय सम्झौताहरू भन्दा माथि रहने सिद्धान्त पछ्याउँछ । उनीहरू (संयुक्त राज्य अमेरिका) केवल आफ्नो समृद्धिको मात्र ख्याल गर्छन् । संयुक्त राज्य अमेरिकाले रूससँग सहकार्य गर्नका लागि पहिले रूसको हितको सम्मान गर्नुपर्ने बताउनु भयो । 

    १५. इरानलाई ट्रम्पको अन्तिम चेतावनीः ४८ घण्टाभित्र हर्मुज जलसन्धि नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौं

    मेरिकी राष्ट्रपति डोनाल्ड इरानलाई सीधा सैन्य कारबाहीको चेतावनी दिँदै ४८ घण्टाको समयसीमा (अल्टिमेटम) दिनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत इरानले विश्वव्यापी इन्धन आपूर्तिका लागि महत्वपूर्ण मानिने हर्मुज जलसन्धिमा लगाएको अवरोध नहटाए इरानका विद्युत उत्पादन केन्द्रहरू (पावर प्लान्ट) ध्वस्त पारिदिने घोषणा गर्नुभएको हो ।   फेब्रुअरी २८ देखि शुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इरानले हर्मुज जलसन्धिमा अवरोध सिर्जना गरेको छ । विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास यही मार्ग भएर आपूर्ति हुने गर्दछ । ट्रम्पको धम्की लगत्तै इरानको सेनाले पनि कडा प्रतिवाद गरेको छ । इरानी सेनाका प्रवक्ताले यदि अमेरिकाले पावर प्लान्टमा आक्रमण गरेमा इरानले हर्मुज जलसन्धिलाई ‘स्थायी रूपमा’ बन्द गरिदिने र क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार इलाका तथा ऊर्जा पूर्वाधारहरूलाई निशाना बनाउने चेतावनी दिएका छन् ।

    १६. इस्तानबुलको मध्य भागमा भवन भत्किँदा मानिस पुरिए

    टर्कीको इस्तानबुल शहरको मध्य भागमा आईतवार एउटा भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा पुरिएको स्थानीय सञ्चारमाध्यम एनटीभीले जनाएको छ । एनटीभीकाअनुसार शहरको युरोपेली तर्फ पर्ने ‘फतिह’ जिल्लामा उक्त दुर्घटना भएको हो । घटनास्थलबाट प्राप्त प्रत्यक्ष दृश्यहरूमा ठूलो संख्यामा दमकल, स्वास्थ्यकर्मी र प्रहरी टोलीहरू परिचालन गरिएको देखिएको छ । भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अहिले पनि जारी छ । भग्नावशेषबाट हालसम्म दुई जनाको जीवितै उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाइएको एनटीभीले उल्लेख गरेको छ । 

    १७. दक्षिण अफ्रिकामा पहिलो ‘इनोभेसन विक’ सम्पन्न

    दक्षिण अफ्रिकाको जोहानेसबर्ग लगायत देशभर सञ्चालन भएको देशकै पहिलो ‘इनोभेसन विक’ (नयाँ खोज तथा आविष्कार सप्ताह) सम्पन्न भएको छ । हप्ता दिनसम्म चलेको उक्त कार्यक्रममा १ हजार ५ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा १ सय ५० भन्दा बढी नवीन परियोजना र सहभागी संस्थाहरूले आफ्ना आविष्कारहरू प्रदर्शन गरेका थिए । यसले स्वदेशी तथा विदेशी आविष्कारक, लगानीकर्ता, उद्योगका नेतृत्वकर्ता र विकास साझेदारहरूलाई एउटै थलोमा ल्याएको छ । टेक्नोलोजी इनोभेसन एजेन्सीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत इस्माइल अब्दुलाले यस कार्यक्रमको मुख्य उद्देश्य दक्षिण अफ्रिकाका विश्वस्तरमा प्रतिष्पर्धी प्रविधिहरू प्रदर्शन गर्नु र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्नु रहेको बताउनु भयो । 

    १८. मस्कोमा चिनियाँ महिला विकास सम्बन्धी तस्बिर प्रदर्शनी शुरु

    मस्कोमा चीनमा महिला विकासका उपलब्धिहरूलाई उजागर गर्ने एक तस्बिर प्रदर्शनी शुरु भएको छ । यस प्रदर्शनीमा चीन र रुसका राजनीतिक, प्राज्ञिक, सञ्चार र व्यावसायिक क्षेत्रका ८ सय भन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो । रुसस्थित चिनियाँ दुतावासद्वारा संयुक्त रूपमा आयोजित यस प्रदर्शनीमा करिव ४० वटा छानिएका तस्बिरहरू समावेश छन् । यी तस्बिरहरूले चिनियाँ महिलाहरूको प्रगतिको कथा र यस क्षेत्रमा चीन–रुस बीचको आदानप्रदान र सहयोगको परिणामहरूलाई देखाउँछन् । चिनियाँ राजदुत झाङ हानहुईले सन् २०२६ लाई चीन–रुस रणनीतिक साझेदारीको ३० औं वार्षिकोत्सवको रूपमा मनाइने उल्लेख गर्नुभयो । उहाँले यस प्रदर्शनीले ‘शी पावर’ (महिला शक्ति) लाई विश्वव्यापी रूपमा अगाडि बढाउन र दुई देशबीचको मित्रतालाई प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । 

    १९. मौसम पुर्वानुमान प्रणालीलाई वैज्ञानिक र प्रभावकारी बनाउने कार्य सरकारको उच्च प्राथमिकतामाः मन्त्री सिन्हा

    ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री अनिलकुमार सिन्हाले नेपालको मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विश्व मौसम दिवसको अवसरमा सोमवार जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउन उपकरण विस्तार, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिने नीति लिएको बताउन ुभयो । पूर्वसूचना प्रणालीलाई सशक्त बनाउँदै जोखिममा रहेका समुदायसम्म समयमै सूचना पु¥याउने कार्यलाई प्राथमिकतामा राखिएको उहाँको भनाई छ । जल, मौसम, जलवायु र हिमसम्बन्धी अवलोकन तथा तथ्यांक संकलनमा गरिने लगानीले भविष्यमा अध्ययन, अनुसन्धान, विपद् न्युनिकरण र पूर्वतयारीमा सहयोग गर्ने बताउनु भयो । विकासका हरेक आयामसँग मौसमसम्बन्धी सूचनाको प्रत्यक्ष सम्बन्ध रहेको उहाँको भनाई छ । सिमित स्रोतसाधनका बाबजुद पनि विभागले मौसमसम्बन्धि जानकारी समयमा नै उपलब्ध गराएको बताउनु भयो । नेपालको भौगोलिक संरचनाका कारण पनि यहाँको मौसम प्रणाली अत्यन्त संवेदनशील रहेको छ । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा असामान्य वर्षा, बाढी, पहिरो, तातो हावाको लहर, हिमनदी पग्लिने दरमा वृद्धि तथा हिमताल विस्फोटजस्ता जोखिमहरू तिब्र बन्दै गएको उहाँले बताउनु भयो । यस्ता घटनाले जनजीवन, पूर्वाधार र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उहाँको भनाई छ । 

    २०. आत्मनिर्भर औद्योगिक संरचना विकासका लागि विशेष औद्योगिक नीति ल्याउन पहल गर्छुः एफएनसीसीआई उपाध्यक्षका उम्मेदवार घिमिरे

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनको वस्तुगत तर्फका उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले उत्पादनमुखी र प्रविधिमैत्री अर्थतन्त्र निर्माण आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा अञ्जन श्रेष्ठ समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले आत्मनिर्भर औद्योगिक संरचना विकासका लागि विशेष औद्योगिक नीति आवश्यक रहेको औंल्याउँदै त्यसका लागि निर्णायक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापीकरणका कारण विकासशील मुलुकतर्फ उक्लिरहेको नेपालको साना तथा मझौला उद्योग क्षेत्र जोखिममा परेको भन्दै त्यसको संरक्षण पनि आफ्नो प्राथमिकता रहने उल्लेख गर्नुभयो । उहाँले ठूला उद्योग र साना उद्योगीबीच सहकार्यको वातावरण निर्माण गरी उत्पादन वृद्धि तथा प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै किसान, सहकारी र उद्योगबीच एकीकृत मूल्य शृंखला विकास गर्दै कृषिजन्य कच्चा पदार्थमा आधारित उद्योगलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न पहल गर्ने दाबी पनि गर्नुभयो । 

    २१. खानेपानी मन्त्रालयको दाबीः खानेपानीका आयोजनाहरुलाई महिलामैत्री बनाइएको छ

    खानेपानी मन्त्रालयले खानेपानीसम्बन्धि आयोजनाहरुलाई महिलामैत्री बनाउने कामलाई प्राथमिकता दिइएको जनाएको छ । विश्व पानी दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सो मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठले सो कुरा बताउनुभएको हो । मन्त्रालयले लैगिकमैंत्री खानेपानीको व्यवस्थापन गर्न सरकारले सबै स्थानीय पालिकाहरुमा खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन सम्बन्धि सिष्टम लागू गरेको पनि उहाँले स्पष्ट पार्नुभयो । खानेपानीको व्यवस्थापनमा सबैको पहुँच पु¥याउनका लागि सरकारले सो सिष्टम लागू गर्नुपरेको पनि प्रवक्ता श्रेष्ठको भनाई थियो । उहाँले खानेपानी आयोजनाहरु आवश्यक्ताको आधारमा तय गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनु भयो । 

    २२. वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ

    वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आ.व.मा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धि कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पार्नुभयो । हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरु कुँहिनेभएकाले पनि प्राकृतिक रुपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उहाँको तर्क थियो । सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताउनु भयो ।  

    २३. नेपालको व्यापारघाटाः भारत, चीनसहित ५ देशसँग झन्डै १० खर्ब

    परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झन् पछि झन् बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार छिमेकी मुलुक भारत, चीनसहित ५ वटा देशसँग मात्रै नेपालको व्यापार घाटा झन्डै १० खर्ब रुपैयाँ व्यहोरेको छ । गत फागुन मसान्तसम्ममा नेपालले भारतसँग पाँच खर्ब ६७ अर्ब ३९ करोड व्यापार घाटा व्यहोरेको छ । यस अवधिसम्ममा भारतबाट सात खर्ब २४ अर्ब ६ करोड रुपैयाँको वस्तु आयात भएको छ भने एक खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, छिमेकी मुलुक चीनसँग दुई खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँको आयात र ९८ करोड ३३ लाख रुपैयाँको निर्यात गर्दा दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको छ । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इण्डोनेसिया, लगायतका देशहरु रहेका छन् । अर्जेन्टिनासँग नेपालको व्यापारघाटा ७५ अर्ब रुपैँया बढि ब्यापार घाटा बेहोरेको छ भने संयुक्त अरब इमिरेट्ससँग नेपालले ४४ अर्ब ४१ करोड रहेको छ त्यस्तो इण्डोनेसियासँग १४ अर्ब भन्दा बढी व्यापारघाटा व्यहोरेको छ । 

    २४. एफएनसीसीआईका पदाधिकारीलाई दलगत आवद्धता निषेध गर्ने श्रेष्ठको घोषणा

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पदाधिकारीहरु कुनैपनि राजनीतिक दलमा आबद्ध हुन नदिने व्यवस्था विधानमै समावेश गर्ने घोषणा गर्ने घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित आसन्न ६० औँ वार्षिक साधारण सभाका लागि प्यानल घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो घोषणा गर्नुभएको हो । उहाँले महासंघका पदाधिकारीहरु राजनीतिक दलहरुसँग आवद्ध भएकै कारण निजी क्षेत्र कमजोर भएको जिकिर गर्नुभयो । उहाँले अगामी कार्यकालमा निजी क्षेत्रलाई सशक्त बनाउन महासंघको नेतृत्वले उद्योगी व्यवसायीका गुनासा सुन्ने प्रभावकारी संयन्त्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आफ्नो अध्यक्षको कार्यकालमा डेटा र अनुसन्धानमा आधारित नीति निर्माणतर्फ अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले उद्योगीका समस्या पहिचान गरी सरकारसँग सहकार्य गरेर समाधान निकाल्ने भन्दै अब उद्योगी व्यवसायीले हाम्रो कुरा सुनिएन भन्ने अवस्था अन्त्य गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले गुनासा संकलन, विश्लेषण र नतिजामुखी समाधानका लागि संस्थागत संयन्त्र विकास गर्ने योजना समेत सुनाउनु भयो । श्रेष्ठले ऐन तथा नियम संशोधनका लागि सरकारलाई मात्र दबाब दिने परम्परागत अभ्यास अन्त्य गर्दै सार्वजनिक सरोकारका विधेयकहरू स्वयं संसदमा लैजाने रणनीति अघिका साथ काम गर्ने वचन पनि दिनुभयो । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - २०:१२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij