Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 722
    Shares

    • images
    आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’

    आज मार्च २२, अर्थात ‘विश्व पानी दिवस’ । संसारभर पानीको महत्व र यसको संरक्षणबारे बहस भइरहँदा, नेपालको राजधानी काठमाडौंका गल्लीहरूमा भने पानीको अभावले एउटा बेग्लै र कहालीलाग्दो तस्बिर बुनिरहेको छ । हाम्रा पूर्खाहरूले ढुंगेधाराका माध्यमबाट शहरको प्यास मेटाउने जुन अद्भुत प्रणाली बसालेका थिए, आज ती प्रणालीहरू ‘अस्तित्वको लडाइँ’ लडिरहेका देखिन्छन् । यि तस्बिरहरूले काठमाडौंको वर्तमान पानी संकट र हाम्रा ऐतिहासिक जल–सम्पदाको दयनीय अवस्थालाई उजागर गरेका छन् । तस्बिरमा देखिने ऐतिहासिक धाराहरू काठमाडौं इतिहासका साक्षी हुन् । तर विडम्बना ! आज ती ऐतिहासिक धाराहरूबाट पानी होइन, अभावको सुस्केरा मात्र निस्कन्छ । कुनै समय अविरल पानी बग्ने यी धाराहरू अहिले व्यापारीहरूका लागि जुत्ताका तुना झुन्ड्याउने किला वा अगरबत्तीको खरानी राख्ने भाँडोमा परिणत भएका छन् । यो केवल एउटा फलामको पाइप सुक्नु मात्र होइन, बरु शहरको जीवन्त सभ्यता सुक्नुको प्रमाण हो । अन्तिम भरोसा र संघर्ष काठमाडौंका रैथाने ढुंगेधाराहरू, जो शताब्दियौंदेखि शहरका प्यासा ओठहरूका सहारा थिए, आज ती पनि संकटमा छन् । कतै मधुरो धारो त कतै पूर्णतः सुकिसकेका ढुंगेधाराका संरचनाहरूले शहरको खस्किँदो जमिनमुनिको पानीको सतहलाई गिज्याइरहेका छन् । तस्बिरहरूमा एक युवा २० लिटरको जारमा निकै बेर कुरेर पानी भरिरहेका देखिन्छन् । 

    २. सानेपामा काँग्रेस केन्द्रिय कार्य समिति बैठक शुरु

    नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ । बैठक हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले प्राप्त गरेको अपेक्षाभन्दा कमजोर नतिजापछि बोलाइएको हो । नेपाली काँग्रेसले चुनावमा अप्रत्यासित पराजय व्यहोरेको थियो । बैठकमा पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा प्रश्तावमाथि छलफल हुनेछ । निर्वाचन परिणामको प्रारम्भिक समीक्षा र हारका कारणहरूको विश्लेषण गर्नुका साथै पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र आन्तरिक एकता कायम राख्ने विषयबारे छलफल हुनेछ । 

    ३. शतक प्रेरित आर्मी र एपिएफ विजयी

    विभागीय टोली त्रिभूवन आर्मी र एपिएफ क्लवले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद् शुरुवात गरेका छन् । मूलपानीमा आईतवार भएको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लवलाई २२ रनले हराउँदा एपिएफले वागमती प्रदेशलाई ७१ रनले पराजित ग¥यो । आर्मीको जितमा बसिर अहमद र एपिएफको जितमा आसिफ शेखले शतक बनाए । दुवै म्यान अफ दी म्याच पनि भए । प्रधानमन्त्री कपको यस संस्करण काठमाडौं र मधेस प्रदेशका दुई जिल्ला वीरगञ्ज र जनकपुरमा भइरहेको छ । मधेसबाट शुरु भएको पहिलो दिनको खेल वर्षाका कारण हुन सकेन । काठमाडौंमा आईतवार तल्लो मूलपानीमा आर्मी र पुलिसबीच भएको खेल ४७ औं ओभरमा झारिएको थियो । भिजेको मैदानका कारण टसमा ढिलाइ हुँदा ओभर घटाइएको हो ।गत हप्ता मात्र जय ट्रफी (दुई÷तीन दिवसीय फरम्याट) मा आर्मी र पुलिसबीच फाइनलमा प्रतिष्पर्धा भएको थियो ।

    ४. विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे 

    नेपाली काँग्रेसका नेता श्याम घिमिरेले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको लज्जास्पद पराजयको मुख्य जड पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद भएको दाबी गर्नुभएको छ । उहाँले निर्वाचनको मुखमा पार्टीभित्र भएको शक्ति संघर्षले जनतामा नकारात्मक सन्देश गएको र त्यसैको परिणामस्वरुप काँग्रेस खुम्चिन पुगेको विश्लेषण गर्नुभएको हो । घिमिरेकाअनुसार चुनावको तयारीमा लाग्नुपर्ने समयमा काँग्रेसका नेताहरू ५ महिनासम्म ‘विशेष महाधिवेशन कि नियमित महाधिवेशन’ भन्ने प्राविधिक र कानूनी लडाईंमा अल्झिएका थिए । विशेष महाधिवेशनको नाममा जे जस्ता गतिविधि भए, त्यसले पार्टीको वैधानिकतामाथि नै प्रश्न उठाएको उहाँको भनाइ छ । निर्वाचन आयोगले नयाँ नेतृत्वलाई आधिकारिकता दिएपनि पार्टीको ठूलो हिस्साले त्यसलाई स्वीकार गर्न नसक्नु नै पराजयको बीउ भएको उहाँको तर्क छ । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।  
    प्रश्नः अघिल्लो महाधिवेशनले तय गरेको केन्द्रिय समितिको बैठक बोलाउने भन्ने निर्णय भयो भन्ने समाचार आएको छ, के यो सत्य हो ? 
    जवाफः त्यो विषयमा मलाई कुनै औपचारिक जानकारी छैन । मेरो विचारमा त्यस्तो औपचारिक रुपमा, आधिकारिक रुपमा बोलाउने भन्ने निर्णय त भएको छैन । तर अनौपचारिक रुपमा साथीहरु अब अहिले अत्यन्तै ठूलो अन्यमनस्क हालतमा साथीहरु हुनुहुन्छ । पार्टी नराम्रोसँग पराजित भएको छ । त्यसपछि गएर एकथरी साथीहरु जो १४ औ महाधिवेशनबाट निर्वाचित भएर आउनुभएको थियो । अथवा १४ औँ महाधिवेशनबाट केन्द्रिय समितिमा हुनुहुन्थ्यो । उहाँहरु भुमिकाविहिन, हामीहरु नै भुमिका विहिन भएर बसिराखेको अवस्था छ । यो अवस्थामा केही गर्नुपर्छ भन्ने साथीहरुको भनाई र आवाज छ । तर मलाई लाग्दैन कि अहिले आधिकारिक रुपमा त्यस्तो केन्द्रिय समितिको फर्मल बैठक चाहीँ बोलाई हाल्लान भन्ने कुरा चाहीँ भएको छैन । अनौपचारिक रुपमा साथीहरुको भेटघाट यताउता सम्पर्क त भईनै राख्ने कुरा भयो राजनीतिमा । 
    प्रश्नः नेपाली काँग्रेसको विशेष महाधिवेशन भएको कुरा तपाईंलाई थाहा छ कि छैन ?
    जवाफः विशेष महाधिवेशनको नाममा जे जस्तो भयो । त्यसको परिणाम पनि हामीले भोगिसक्यौँ । हामीले चुनावको मुखमा आएर हामीले ५ महिनासम्म पार्टी भित्र झगडा गर्दै रह्यौँ विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर । र यो झगडाले पार्टी भित्रको समग्र एकतालाई खल्बल्यायो । र त्यसको म्यासेज पनि जनतामा असाध्यै नराम्रोसँग गयो । त्यो निर्वाचनको पराजयका लागि पनि मुख्य कारण बन्यो । हामीलाई लागि राखेको थियो–कि गगनजीको नेतृत्वबाट पार्टी अगाडि बढ्दाखेरी पार्टीले निकै राम्रो परिणाम दिनसक्छ भन्ने हामीलाई जुन विश्वास थियो । त्यो विश्वासको धरातल पनि टुटेको छ । अर्कोतर्फ सबभन्दा ठूलो क्षति भनेको पार्टीलाई के भयो ? भने मेरो बुझाईमा कि अर्को निर्वाचनका लागि हामीले गगनजीको अनुहार बेचेर, उहाँको अनुहार देखाएर हामीले पार्टीका लागि ठूलो भोट कलेक्शन गर्नसक्थ्यौँ । र त्यो भोट बैंक जुन हाम्रो थियो । अर्थात त्यो भोटका लागि हामीसँग एउटा आशाको अनुहार थियो । त्यो अनुहारलाई हामीले अहिले अनावश्यक टाईममा एक्स्पोज ग¥यौ । त्यो भने काँग्रेसको अपूरणीय क्षति हो भन्ने मैले बुझेको छु । त्यसले गर्दा यो अपुरणीय क्षतिलाई हामीले कसरी अव रिभाईव गर्छौ, कसरी यसलाई मेन्टेन गर्छौं ? त्यो हाम्रो लागि ठूलो चुनौतिको विषय छ । 
    प्रश्नः विशेष महाधिवेशन अवैधानिक हो भन्ने मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ, त्यस अर्थमा पनि अहिले यताउता चहलपहल गर्दा त्यसलाई पो असर गर्ने हो कि ?
    जवाफः मेरो बुझाईमा अहिलेलाई अदालतको निर्णय कुर्नु नै सबैभन्दा उपयुक्त विकल्प हो । अब नेपालको अदालतले एउटा विश्वास गुमाएको छ । त्यो के हो भन्दाखेरी समयमा न्याय नदिने । अनि समय गुज्रिसकेपछि त्यसको औचित्य सकिएपछि मात्रै त्यसलाई खारेज गर्ने । यो किसिमको परिपाटी पनि नेपालको अदालतमा देखिएको छ । त्यसलाई जनविश्वासमा बदल्नका लागि, जनविश्वास आर्जन गर्नका लागि अदालतले आफनो त्यो पुरानो अभ्यासलाई बदल्नु पर्छ । उसले जे फैसला दिन्छ, त्यो फैसला यथाशिघ्र दिनुपर्छ । र त्यो फैसला दिएपछि पार्टी एउटा निष्कर्षमा पुग्छ । त्यसपछि जसले जित्ला, पार्टीलाई सम्हालेर अर्को पटक रिभाईभ गर्नेगरी जाने हो भने जसले जितेपनि पार्टीलाई एकजुट बनाएर लैजानै पर्छ । त्यो बाध्यता हो । होइन भने काँग्रेसले एकथरी शक्तिलाई पन्छाएर नेपाली काँग्रेस कहिल्यै पनि अगाडि बढेको छैन । तपाईलाई म यही सन्दर्भमा एउटा कुरा भनिहाल्छु–२०१५ सालमा टिकट बाँडदाखेरी पनि विपी, सुवर्णजी, सूर्यप्रसाद उपाध्यायजीहरुको अगलअलग टिमहरु थिए । तर तीन जना नै जना मिलेर टिकटहरु बाँड्नुभएको थियो । २१०४८ सालमा पनि गिरिजाप्रसाद, किसुनजी, गणेशमानजी मिलेर नै टिकट बाँड्नुभएको थियो । २०५१ सालमा पनि त्यही भएको थियो । २०५६ मा पनि त्यही भएको हो । २०६४ मा पनि सबै मिलेर गरेको हो । २०७०, २०७४ मा पनि त्यही भयो । २०७९ पनि त्यही भयो । पार्टी भित्रका अनेक शक्ति केन्द्रहरुलाई समायोजन गरेर गरियो । तर यो २०८२ को निर्वाचन भने एकलौटी ढंगले टिकट बाँडिएको हो । र कसैलाई सुझबुझ समेत नगरी हुँदाहुँदा निवर्तमान नै भएपनि शेरबहादुर देउवासँग पनि सम्पर्क गरिएन । उहाँले चुनाव लड्छु भन्दाभन्दै टिकट समेत दिइएन । यी सब कुराहरु भएका हुन् । पार्टी भित्रका यी तितो यथार्थलाई स्वीकार्नु पर्दछ । र जसले जितेपनि पार्टी भित्रको नेतृत्व पार्टी भित्रैबाट आउने हो । बाहिरबाट आउँदैन । त्यो नेतृत्वलाई सबैले स्विकार गरेर पार्टीलाई समग्र एकतावद्ध गरेर लैजाने बाटोमा जानुपर्छ । 
    प्रश्नः अहिले विशेष महाधिवेशनबाट आएको केन्द्रिय समितिको बैठक बसिरहेको छ, यसले नियमित महाधिवेशन गर्ने निर्णय गरेर आयो भने त्यसलाई देउवा पक्षलाई के असर पार्छ ?
    जवाफः नियमित महाधिवेशनमा त जानै पर्छ । अब अदालतले भोली पुरानै केन्द्रिय समितिलाई रिभाईभ गरिदियो भने पनि नियमित महाधिवेशनमा त जानै पर्छ । र यो वर्तमान केन्द्रिय समिति भनिएको छ । उसले पनि नियमित महाधिवेशनमा जानै पर्छ । यो बाध्यता हो । र यो आवश्यकता पनि हो । यदि नियमित महाधिवेशनमा जानका लागि जुन पक्षले जिते पनि पार्टी भित्र एकता कायम गरेर नियमित महाधिवेशनमा गइयो भने हामी सफल हुनसक्छौँ । अर्को चुनावका लागि हामी तयार हुनसक्छौँ । होइन अब मैले जिति हाले, अब मेरो मात्रै चल्छ पार्टीभित्र भन्ने हिसावले अगाडि बढने कोशिस पार्टीभित्र गरियो भने अर्को निर्वाचनमा हामी झन खुम्चिने सम्भावना बढेर जान्छ । 
    प्रश्नः नियमित महाधिवेशनको घोषणा गरियोभने समानान्तर अभ्यास त गरिरहन परेन नि ? 
    जवाफः समानान्तर अभ्यास त गरिरहन परेन । ठिक छ । तर कुरा छ भने आआफनो टिमलाई जिताउने, अर्थात आआफनो चुनाव जित्ने गरी अभ्यास सुरु भईहाल्छ । ती वैचारिक समूहहरुको आ आफ्नो अभ्यास शुरु हुन्छन । त्यो महाधिवेशनकै एउटा नियमित प्रक्रियाको रुपमा अघि बढछ । त्यसले पार्टी भित्र समानान्तर शक्ति केन्द्र अर्थात समानान्तर रुपले पार्टीका दुई वटा खेमा अर्थात दुई वटा शक्ति अघि बढ्नुपर्ने अवस्था पर्दैन । पार्टीको नियमित महाधिवेशनकै प्रारुपको रुपमा, स्वरुपमा आआफना गतिविधि अगाडि बढाउँदा हुन्छ । तर भोली पार्टी भित्रको एकताको पक्षको कुराहरुलाई कुनैपनि पक्षले जसले जिते पनि ओझेल पार्ने प्रयास ग¥यो, त्यसलाई पन्छाएर हिँड्ने कोशिस ग¥यो भने समानान्तर अभ्यास र गतिविधिहरु हुन्छन् । त्यसलाई पार्टीले आजको भन्दा पनि ठूलो क्षति पु¥याउने मैले देख्दछु । अदालतको फैसला भन्दा अगाडि अनौपचारिक रुपमा जे गरेपनि त्यो त आफ्नो छलफलहरु, कुराकानीहरु भई नै रहन्छन् । तर औपचारिक रुपमा अहिले कुनैपनि क्रियाकलापहरु गर्नु उचित हुँदैन भन्ने मेरो पनि बुझाई हो ।

    ५. पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ ः नेविसंघ सभापति

    लामो समयदेखि तदर्थवादमा अल्झिएको नेपाल विद्यार्थी संघले आगामी वैशाख २० र २१ गते आफ्नो १२ औं महाधिवेशन गर्ने मिति तय गरेको छ । नेविसंघ सभापति दुजाङ शेर्पाले पार्टी नेतृत्वले समयमै विधान उपलब्ध नगराउँदा महाधिवेशनमा ढिलाइ भएको खुलासा गर्नुभएको हो । शेर्पाकाअनुसार ३२ वर्षे उमेर हदबन्दी लागू भएपछि महाधिवेशनको म्याण्डेट पाएको वर्तमान कमिटीले विधान परिमार्जन गरी पार्टीलाई बुझाएको एक वर्ष हुन लाग्दा पनि पार्टीले त्यो विधान फिर्ता दिएको छैन । यदि विधान समयमै पाएको भए सेप्टेम्बर ८ भन्दा अगाडि नै महाधिवेशन भइसक्ने उहाँको भनाइ छ । 
    सभापति शेर्पाले आफूले कार्यकालको बीचमा पाँच पटकसम्म पार्टी नेतृत्वलाई राजीनामा बुझाएको तर नेतृत्वले ‘अधिवेशन गराएर मात्र छोड्नु’ भन्दै रोकेको बताउनु भयो । उहाँले महाधिवेशन खर्चिलो हुने भ्रमलाई चिर्दै अत्यन्त कम खर्चमा भव्य अधिवेशन गर्ने योजना सुनाउनु भयो । यसका लागि विश्वभर छरिएका नेविसंघका पूर्व सदस्यहरूबाट पारदर्शी ढंगले कोष संकलन गरिने र पार्टीबाट आर्थिक सहयोग नलिइने उनले स्पष्ट पार्नुभयो । अब विद्यार्थीले आफ्नो नेता र नीति आफैं छान्ने बाटो खुलेको उहाँको दाबी छ ।

    ६. नेविसंघ काँग्रेसको सन्तान हो, यसको भुमिका अझ सशक्त हुनुपर्छः महामन्त्री घिमिरे

    नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताउनुभएको छ । आईतवार नेपाल विद्यार्थी संघले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै पार्टी कार्यालय सानेपामा महामन्त्री घिमिरेले नेपालको इतिहासबाटै नेपाल विद्यार्थी संघलाई अलग राखिदिने हो भने नेपालको इतिहास नै अधुरो र अपुरो हुने बताउनुभएको हो । यसको ऐतिहासिक योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न नसक्ने उल्लेख गर्नुभयो । वि.सं. २०२७ सालमा पञ्चायती कालरात्रि विरुद्ध विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलनलाई सुदृढ बनाउन र प्रजातन्त्रको पुनःस्थापना गर्न नेविसंघको स्थापना भएको स्मरण गर्दै उहाँले कतिपय सन्दर्भमा पार्टी भन्दा पनि बढी यसले कुर्बानी र बलिदान गरेको उल्लेख गर्नुभयो । 

    ७. नेविसंघ अब काँग्रेसको ‘शुभेच्छुक’ संगठन बन्ने, विधान र नेतृत्व आफैँ छान्ने

    नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने निर्णय गरेको छ । नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली काँग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्र भएर नबस्ने बरु ‘शुभेच्छुक संगठन’ को रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गर्नुभएको हो । सभापति शेर्पाकाअनुसार नेविसंघले अब आफ्नो विधान आफैँ बनाउने, आफ्नो नेतृत्व आफैँ चयन गर्ने र आफ्ना कार्यक्रमहरू स्वतन्त्र रूपमा तय गर्नेछ । उहाँले एउटा सामान्य विज्ञप्ति निकाल्न वा आन्दोलनका कार्यक्रम तय गर्न पनि पार्टीका पदाधिकारीहरूसँग अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाले विद्यार्थी आन्दोलन कमजोर भएको तर्क गर्नुभयो । 

    ८. नेपाली काँग्रेसमा समानान्तर गतिविधिका कारण विभाजनको खतरा

    नेपाली काँग्रेसभित्रको शक्ति संघर्षले पार्टीलाई विभाजनको संघारमा पु¥याएको छ । एकातिर गगन थापा नेतृत्वको वर्तमान कार्यसमिति निर्वाचन समीक्षाका लागि बैठकहरू गरिरहेको छ भने अर्कोतिर देउवा र कोईराला समूहले समानान्तर रूपमा आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका छन् । यो अवस्थाले कांग्रेसको भविष्यलाई झनै अन्योलपूर्ण र जोखिमपूर्ण बनाएको छ । नेता श्याम घिमिरेले पार्टीभित्रको यो ‘इगो’ को लडाईंले आगामी निर्वाचनमा काँग्रेसलाई झनै खुम्च्याउने चेतावनी दिनुभयो । घिमिरेकाअनुसार अहिलेको मुख्य आवश्यकता भनेको पार्टीलाई एकजुट बनाएर लैजानु हो । तर अहिलेको अवस्थामा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा कार्यकर्ताहरूमा निराशा छाएको छ । देउवा–कोईराला समूहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्यहरूको छुट्टै बैठक बोलाउने तयारी गर्नुले पार्टीभित्र दुईवटा समानान्तर केन्द्रहरू बनेको प्रस्ट हुन्छ । यो शक्ति संघर्षले नेपाली काँग्रेसको सांगठनिक ढाँचालाई नै कमजोर बनाउँदै लगेको छ । घिमिरेले चेतावनी दिँदै यदि समयमै यो विवाद समाधान भएन भने काँग्रेसले आफ्नो ऐतिहासिक विरासत गुमाउन सक्ने बताउनु भया ।

    ९.अष्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशत पुग्यो

    आधिकारिक तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूको स्थिर रहने अपेक्षा विपरित फेब्रुअरी महिनामा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.३ प्रतिशत पुगेको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सलेसार्वजनिक गरेको विवरणअनुसार जनवरीमा ४.१ प्रतिशत रहेको आधिकारिक बेरोजगारी दर फेब्रुअरीमा बढेर ४.३ प्रतिशत पुगेको हो । जनवरी र फेब्रुअरीको बीचमा रोजगार प्राप्त अष्ट्रेलियालीहरूको संख्या ४८ हजार ९ सयले बढेको छ । यद्यपि, सोही अवधिमा बेरोजगार अष्ट्रेलियालीहरूको संख्यामा ३५ हजार (अर्थात ५.६ प्रतिशत) ले वृद्धि भएका कारण रोजगारीको त्यो वृद्धिलाई यसले सन्तुलित गरिदिएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन र अष्ट्रेलियन एसोसिएटेड प्रेसले जानकारी दिएअनुसार अर्थशास्त्रीहरूले फेब्रुअरीमा बेरोजगारी दर ४.१ प्रतिशत मै स्थिर रहने अपेक्षा गरेका थिए । रोजगारीमा देखिएको यो वृद्धि मुख्यतया आंशिक समय (पार्ट–टाइम) को रोजगारीका कारण भएको हो । 

    १०. इजरायलले तेहरानस्थित इरानी ब्यालिस्टिक मिसाइल उत्पादन केन्द्रहरूमा हमला ग¥योः आईडिएफ

    इजरायली रक्षा बल (आईडिएफ) ले शनिवार एक विज्ञप्ति जारी गर्दै रातभर तेहरानमा व्यापक स्तरको आक्रमण गरेको बताएको छ । यस क्रममा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) को ब्यालिस्टिक मिसाइलका लागि महत्वपूर्ण पुर्जाहरू उत्पादन गर्ने केन्द्रहरूलाई लक्षित गरिएको थियो । उक्त हमलाहरूले ब्यालिस्टिक मिसाइलका लागि आवश्यक पुर्जाहरू उत्पादन गर्ने इरानको क्षमतामा गम्भीर क्षति पु¥याएको आईडिएफले जनाएको छ ।

    ११. इण्डोनेसियाको बालीमा परम्परागत हिलो स्नान महोत्सव सम्पन्न

    बालीका मानिसहरूले इण्डोनेसियाको बादुङ रिजेन्सीको केडोङ्गनन गाउँमा मेबुग–बुगन नामको परम्परागत हिलो स्नान उत्सव मनाएका छन् । इण्डोनेसियाको पर्यटकीय टापु बालीमा हिन्दु धर्मावलम्वीहरूले आफ्नो नयाँ वर्षको अवसरमा विशेष परम्पराहरू पालना गर्ने गर्दछन् । यसै क्रममा न्येपी अर्थात मौन दिवसको भोलिपल्ट मेबुग–बुगन पर्व मनाइन्छ । मेबुग–बुगनको मुख्य उद्देश्य मानिसभित्र रहेका खराब गुण र नकारात्मकतालाई हटाएर शुद्धीकरण गर्नु हो । स्थानीय बासिन्दाहरू शरीरभरि हिलो दलेर एक–अर्कासँग रमाइलो गर्छन् । जसले गर्दा उनीहरूको मन र शरीर दुवै शुद्ध हुने विश्वास गरिन्छ । बालीको क्यालेण्डरअनुसार न्येपी दिवस एक पवित्र दिन हो जसले हिन्दु नयाँ वर्षको शुरुवात गर्दछ । 

    १२. टोकियोमा १० हजारभन्दा बढी जापानीद्वारा प्रधानमन्त्रीका नीति विरुद्ध प्रदर्शन

    जापानी प्रधानमन्त्री सानाए ताकाइचीको नीतिविरुद्ध टोकियोमा १० हजारभन्दा बढी मानिसहरूले भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले देशको शान्तिवादी संविधान संशोधन गर्ने प्रयास र लामो दूरीका क्षेप्यास्त्र परिचालन गर्ने सरकारको योजनाको कडा विरोध गरेका हुन् । प्रतिनिधि सभाको सेकेन्ड मेम्बर्स अफिस बिल्डिङ बाहिर भेला भएका प्रदर्शनकारीहरूले युद्ध नगरौँ र संविधान संशोधनको विरोध गरौँ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । उनीहरूले जापानको शान्तिवादी संविधानको रक्षा गर्न र शान्ति कायम राख्न माग गरेका छन् । सन् १९४७ देखि लागू भएको जापानको संविधानलाई शान्तिवादी संविधानका रूपमा चिनिन्छ । यसको धारा ९ मा जापानी जनताले राष्ट्रको सार्वभौम अधिकारका रूपमा युद्ध, र अन्तर्राष्ट्रिय विवादहरू सुल्झाउन बल प्रयोग वा धम्की दिने कार्यलाई सदाका लागि त्याग गरेको उल्लेख छ ।

    १३. ताजिकहरूले बोनफायर पार्टीमा नौरोज पर्व मनाए

    ताजिकिस्तानको राजधानी दुशान्बेको भिक्ट्री पार्कमा शनिवार नौरोजको परम्परागत पर्व मनाउन बोनफायर पार्टीको आयोजना गरिएको छ । वसन्त ऋतुको आगमनलाई स्वागत गर्न स्थानीय बासिन्दा र पर्यटकहरूले मनोरञ्जन गरेका थिए । नौरोज मध्य एशियाली देशहरूमा सबैभन्दा महत्वपूर्ण परम्परागत बिदाहरू मध्ये एक हो । जसले वसन्तको आगमन र नयाँ वर्षको शुरुवातको प्रतीक हो । उत्सवको क्रममा ताजिकिस्तानभरि कलात्मक प्रदर्शन, लोक रीतिरिवाज प्रदर्शनी, र दर्शनीय स्थलहरू जस्ता विभिन्न सांस्कृतिक गतिविधिहरू आयोजना गरिन्छ ।

    १४. बङ्गलादेशी मुस्लिमहरूले उत्साहका साथ इद–उल–फित्र मनाए

    बङ्गलादेशी मुस्लिमहरूले शनिवार धार्मिक उत्साह र हर्षोल्लासका साथ इद–उल–फित्र मनाएका छन् । यस अवसरमा नमाजपछि श्रद्धालुहरूले एक–अर्कासँग हात मिलाउँदै र परम्परागत रूपमा अङ्गालो हालेर (मुसाफा गरेर) खुशी साटासाट गरेका थिए । शनिवार बिहानैदेखि राजधानी ढाका लगायत देशका विभिन्न भागमा मुस्लिम धर्मावलम्वीहरू इदको विशेष नमाज पढ्न खुला मैदान र मस्जिदहरूमा भेला भएका थिए । यो पर्वले पवित्र रमदान महिनाको महिनाभरिको व्रत (रोजा) को विधिवत् समापन भएको सङ्केत गर्दछ । ढाकाको मुख्य इदको जमात राष्ट्रिय इदगाह (नमाज पढ्नका लागि प्रयोग गरिने खुला मैदान) मा आयोजना गरिएको थियो । 

    १५. भारतीय राजधानीमा उत्साहका साथ ईद–उल–फित्र मनाइयो

    पवित्र रमजान महिनाको समापनको अवसरमा शनिवार भारतीय राजधानीभरि हजारौँ मानिसहरू मस्जिदहरूमा विशेष नमाज अदा गर्न भेला भई ईद–उल–फित्र मनाएका छन् । शनिवार बिहानैदेखि नयाँ दिल्लीका प्रमुख मस्जिदहरूमा प्रार्थना गर्नेहरूको ठूलो उपस्थिति देखिएको थियो ।  परम्परागत पोशाकमा सजिएका श्रद्धालुहरूमा एकता र कृतज्ञताको भाव झल्कन्थ्यो । नमाज सकिएपछि मानिसहरूले एक–अर्कालाई अगाँलो हालेर शुभकामना साटासाट गरे र परिवारका सदस्य, साथीभाइ तथा छिमेकीहरूसँग मिठाई र उपहार आदानप्रदान गरे । भीड नियन्त्रण गर्न र उत्सवलाई सहज रूपमा सम्पन्न गराउन प्रशासनले प्रमुख स्थानहरूमा थप सुरक्षाकर्मी परिचालन गर्दै सुरक्षा व्यवस्था कडा पारेको थियो । चाड मनाउन सपरिवार बाहिर निस्किएका कारण सहरका बजार र सडकहरूमा दिनभरि नै निकै चहलपहल देखिएको थियो । 

    १६. मध्यपूर्वको तनावका कारण भारतमा इन्धनको मूल्य वृद्धि

    मध्यपूर्वमा जारी द्वन्द्वका कारण भारतमा प्रिमियम पेट्रोल र औद्योगिक डिजेलको मूल्यमा वृद्धि भएको छ । तेल मार्केटिङ कम्पनीहरूकाअनुसार शुक्रवारदेखि लागू हुनेगरी प्रिमियम गुणस्तरको पेट्रोलमा प्रतिलिटर करिव २.३० भारतीय रुपैयाँ र औद्योगिक डिजेलमा प्रतिलिटर २२ भारतीय रुपैयाँ वृद्धि गरिएको हो । मध्यपूर्वमा बढ्दो तनावलाई इन्धनको मूल्य बढ्नुको मुख्य कारण मानिएको छ । यो नयाँ मूल्य तत्कालै लागू हुने कम्पनीहरूले पुष्टि गरेका छन् । औद्योगिक डिजेलको मूल्यमा भएको भारी वृद्धिले उत्पादन (म्यानुफ्याक्चरिङ), ढुवानी (लजिस्टिक) र विद्युत उत्पादन जस्ता विभिन्न क्षेत्रहरूमा प्रतिकूल असर पार्ने देखिएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसले उत्पादन र यातायात लागत बढाउने हुँदा दैनिक उपभोग्य वस्तुहरू समेत महँगो हुनसक्ने सम्भावना छ । यद्यपि भारतको संघीय सरकारले प्रिमियम पेट्रोलको मूल्य वृद्धिलाई खासै ठूलो समस्याका रूपमा लिएको छैन । 

    १७. २१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातले पराजयः काँग्रेस

    नेपाली काँग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । काँग्रेसको जारी केन्द्रिय समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक कारण जिम्मेवार रहेको देखिएको जानकारी दिनुभयो । ३ हजारदेखि ५ हजारसम्मको मतान्तरले हार भएका क्षेत्रहरुमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी भएको उहाँले बताउनु भयो । ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा भने अन्तर्घात, कमजोर चुनावी क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको उहाँले बताउनु भयो । त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसकिएको कारण पराजय व्यहोर्नुपरेको उहाँले जानकारी दिनुभयो । 

    १८. शतप्रतिशत केन्द्रिय सदस्य सभापतिको राजिनामा फिर्ता गर्नुपर्ने पक्षमा हुनुहुन्छः प्रवक्ता चालिसे

    नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजिनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रिय सदस्यहरु एकमत रहेको बताउनुभएको छ । काँग्रेसको जारी केन्द्रिय समितिको बैठकमा हालसम्म ४६ जना केन्द्रिय सदस्यले धाराणा राख्नुभएको र सबैले राजिनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रश्ताव पनि प्रश्तुत गरिएको छ । यसमा आधारित भएर अधिकांश केन्द्रिय सदस्यहरूले आफ्नो धारणा राख्नुभएको छ । 

    १९. राष्ट्रिय परिचय र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने

    सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता गरी सेवा प्रवाह शुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आईतवार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो जानकारी दिनुभएको हो । यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ । गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हट्ना गई सेवाग्राहीको समय र आर्थिक लागत समेत बचत हुने बताउनु भयो । 

    २०. भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल

    भक्तपुरको दुवाकोटमा पनि काठमाडौ मेडिकल कलेज (केएमसी) अस्पतालको उपचार सेवा शुरु भएको छ । आईतवार एक समारोहका बीच अस्पतालका सञ्चालक डा. सुनिल शर्माले सो अस्पतालको उपचार सेवाको शुभारम्भ गर्नुभएको हो । हृदयघात, मस्तिष्क घातजस्ता जटिल रोगका विरामीहरुलाई बचाउने मूल ध्येयका साथ सो अस्पतालको शाखा विस्तार गर्नु परेको प्रतिनिधि सभाका निःवर्तमान सांसद समेत रहनुभएका डा. शर्माले बताउनु भयो । उहाँले सो अस्पतालको सेवा २० वर्षपछि पनि सम्भव नहुने खालको भएको जिकिर समेत गर्नुभयो । 

    २१. ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि आन्तरिक ऋणको सीमा निर्धारण गर्दै तीनै तहका सरकारलाई उत्पादनशिल योजनामा मात्रै आन्तरीक ऋण लिएर परिचालन गर्न निर्देशन दिएको छ । आयोगले ऋणको सीमा निर्धारण गर्दै त्यस्तो ऋण जथाभावी रुपमा परिचालन नगर्न तीनै तहका सरकारलाई सचेत पारेको हो । आयोगकाअनुसार आन्तरिक ऋणलाई रोजगारी सिर्जना, दीर्घकालीन लाभ, पूर्वाधार विकास तथा पुँजी निर्माण हुने आयोजनामा मात्र विनियोजन गर्नुपर्नेछ । तीनै तहका सरकारले चालु तथा प्रशासनिक खर्चमा कडाइका साथ त्यस्तो ऋण निषेध गर्नुपर्नेछ  । आयोजनाको लागत लाभ विश्लेषण, खुद वर्तमान मूल्य तथा वित्तीय÷आर्थिक आन्तरिक प्रतिफल दर उच्च भएका नाफामुलक आयोजना तथा सामाजिक आयोजनामा मात्र ऋण उपयोग गर्नुपर्नेछ । ऋणबाट प्राप्त प्रतिफलबाट नै सावाँ र ब्याज तिर्न सकिने सुनिश्चितता भएका पूर्वतयारी सम्पन्न आयोजनामा मात्र परिचालन गर्न तीनै तहका सरकारलाई आयोगले भनेको छ ।

    २२. पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितताः तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता भएको आरोपसहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ वटा कम्पनी सहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका तत्कालिन सचिव अधिकारी, नेपाल नगारिक उड्ययन प्राधिकरणका तत्कालिन महानिर्देशकहरु सञ्जीव गौतम, राजन पोखरेल र प्रदिीप अधिकारीसहित ठेकेदार कम्पनी चाईना सिएएमसी ईन्जिनियरिङ कम्पनी लिमिटेड र परामर्शदार्ता ईआरएमसी÷ए–नट÷स्लेट जेभी उपर सार्वजनिक सम्पतीको हानिनोक्शानी पुयाएको भन्दै  अख्तियारले आइतबार आरोपपत्र विशेष अदालतमा दायर गरेको हो । पोखरा विमानस्थल भ्रष्टाचारको यो दोस्रो मुद्दा हो । यसअघि पनि उनीहरुसहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।

    २३. लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ

    ५ औँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन राजधानीमा शुरु भएको छ । उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ भन्ने उद्देश्यका साथ आईतवारबाट राजधानीमा भएको ५ औँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शुरु भएको हो । सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले लघुवित्त संस्थाहरूले गरिबी निवारण, महिला सशक्तिकरण तथा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको बताउनु भयो । लघुवित्तमार्फत महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याएको उहाँको भनाइ छ । श्रेष्ठकाअनुसार पछिल्लो समय नेपालमा गरिबी दर घट्दै गएको छ । यसमा लघुवित्तको भुमिका ठूलो रहेको छ ।

    २४. निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश

    निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आईतवार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको टोलीले निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको जानकारी दिनुभयो । उहाँले यो निर्वाचन विगतका निर्वाचनको तुलनामा सुशासनको सन्दर्भमा समेत राम्रो भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको प्रमुख आयुक्तज्यु र माननीय आयुक्तज्युसहित आयोगको समग्र टिम यहाँ आउनुभएको थियो । उहाँहरुले निर्वाचन सम्पन्न गरेको प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्युलाई उपलब्ध गराउनुभएको छ । यो निर्वाचन पहलिाको भन्दा धेरै राम्रो ढंगले सम्पन्न भयो । यो निर्वाचन सुशासनको हिसावले अहिलेसम्मकै सबैभन्दा राम्रो निर्वाचन भएको कुरा हामीले महसुश गर्यौं ।

    २५. आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन

    घरेलु प्रतियोगितामा दबदबा बनाउँदै आएको बन्दी सहायता नियोग (पाम) र बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा टिम च्याम्पियन भएका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा आइतबार सम्पन्न च्याम्पियनसिपमा पाम जुनियरमा र एमएमएसी क्याडेटमा च्याम्पियन भएका हुन् । पाम लगातार आठौं संस्करणमा च्याम्पियन भएको हो । यसअघि क्याडेट र जुनियर विधामा छुट्टाछुट्टै टिम च्याम्पियन राखिएको थिएन । सातौं संस्करणसम्म समग्रमा पाम च्याम्पियन हुँदै आएको थियो । यसपल्ट जुनियर विधामा मात्र पाम च्याम्पियन भयो । पाम सर्वाधिक चार स्वर्ण र एक रजत जित्दै टिम च्याम्पियन भएको हो । क्याडेटतर्पm भने पाम दोस्रो स्थानमा नै खुम्चियो । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगितामा जुनियरमा बंगलादेश क्रिरा शिखा प्रोतिष्ठान दोस्रो र दाङ जुडो डोजो तेस्रो भए ।

    २६. पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्वपालाई जनताले पाँच वर्षभन्दा बढी टिक्न नदिने टिप्पणी गर्नुभएको छ । आईतवार पार्टीको ओखलढुङ्गा शाखाले काठमाडौंमा आयोजना गरेको निर्वाचन समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले पार्टीभित्र एकता, संगठन सुदृढीकरण र सुशासनका लागि सामूहिक प्रयास अपरिहार्य रहेको पनि बताउनु भयो । उहाँले मुलुक निर्माण, भौतिक विकास तथा बेथिति र विकृतिविरुद्धको लडाईं सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई संगठनात्मक रूपमा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।  उहाँले रास्वपाका समर्थक, मतदाता र शुभेच्छुकलाई संगठन निर्माणमा सक्रिय भुमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको अब बन्ने सरकारप्रति नागरिकको उच्च अपेक्षा र चासो रहेको पनि बताउनु भयो ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १९:३६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij