Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

खक्रौला सीमा सुरक्षा गुल्ममा तस्करीको ताण्डव: डीएसपी पौडेलसहितको टोली हेडक्वार्टर तानिए

खक्रौला सीमा सुरक्षा गुल्ममा तस्करीको ताण्डव: डीएसपी पौडेलसहितको टोली हेडक्वार्टर तानिए


  • 624
    Shares

    • images
    खक्रौला सीमा सुरक्षा गुल्ममा तस्करीको ताण्डव: डीएसपी पौडेलसहितको टोली हेडक्वार्टर तानिए

    काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा तस्करी नियन्त्रणका क्रममा भएको विवाद र आक्रमणपछि सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितको टोलीलाई प्रधान कार्यालय तानिएको छ।

    गत चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइएको सामान बरामद गरेपछि आक्रोशित समूहले गुल्मभित्रै पसेर डीएसपी पौडेलमाथि हातपात र दुर्व्यवहार गरेका थिए। 

    कार्यालयभित्रै हुलहुज्जत गरी कमाण्डरमाथि नै आक्रमण हुँदा समेत सुरक्षा व्यवस्था कायम राख्न नसकेको र स्थितिलाई नियन्त्रणमा लिन नसकेको भन्दै सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय, हलचोकले पौडेलसहितको टोलीलाई फिर्ता बोलाएको हो।

    सशस्त्र प्रहरी स्रोतका अनुसार, डीएसपी पौडेलले तस्करी नियन्त्रणमा सक्रियता देखाए पनि युनिटको सुरक्षामा गम्भीर लापरवाही देखिएकाले उनलाई छानबिनका लागि तानिएको हो। अहिले सो गुल्ममा ३४ नम्बर गण, कैलालीबाट नयाँ टोली परिचालन गरिएको छ भने नयाँ कमाण्डरका रूपमा डीएसपी विष्टलाई पठाइएको छ।

    घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बलको ७ नम्बर वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। सीमा क्षेत्रमा हुने तस्करी र सुरक्षा चुनौतीका बीच कमाण्डरमाथि नै भएको यो आक्रमणले सुरक्षा निकायभित्रै तरंग पैदा गरेको छ।

    हाल खक्रौला र आसपासको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ र नयाँ टोलीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिइएको छ।

     

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १३:३९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij