Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण शुरुः २ सय ५० घरधुरी जोखिममुक्त हुँदै

४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण शुरुः २ सय ५० घरधुरी जोखिममुक्त हुँदै


  • 589
    Shares

    ४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण शुरुः २ सय ५० घरधुरी जोखिममुक्त हुँदै

    काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत चीनसँगको सीमावर्ती क्षेत्र कोदारीमा विगत एक दशकदेखि आतङ्क मच्चाइरहेको ‘इको पहिरो’ नियन्त्रणको काम औपचारिक रूपमा सुरु भएको छ। सडक डिभिजन कार्यालय चरिकोटले करिब ४७ करोड रुपैयाँको लागतमा नेपालकै सबैभन्दा ठुलो स्लोप स्टेबिलाइजेसन परियोजना अघि बढाएको हो। 

    राजमार्गको ११३ किलोमिटर क्षेत्रमा पर्ने यो पहिरो विगत ८-१० वर्षदेखि बग्न सुरु गरेको थियो, जसका कारण सडक पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै माथिल्लो भेगका २५० भन्दा बढी घरहरू उच्च जोखिममा परेका थिए। गत वर्षायाममा पहिरोले उग्र रूप लिएपछि स्थानीय बासिन्दाले दीर्घकालीन समाधानको माग गर्दै राजमार्ग नै अवरुद्ध गरेका थिए। 

    त्यसपछि सडक विभागका महानिर्देशकसहितको टोलीले स्थानीयसँग सम्झौता गरी अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर यो महत्त्वाकाङ्क्षी योजना अघि बढाएको हो। सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो नेपालकै प्राविधिक रूपमा जटिल र ठुलो पहिरो नियन्त्रण प्रोजेक्ट हो। पहिरोलाई थाम्नैका लागि जमिनमुनि ३० मिटर गहिरोसम्म सोइल र रक एंकर रड बिछ्याएर ग्राउटिङ गर्ने तयारी छ।

    भोटेकोशी नदीको कटानका कारण यो पहिरो विशाल बनेको प्राविधिकहरूको निष्कर्ष छ। यसलाई रोक्न नदी किनारमा चट्टान नभेटिएसम्म जग खनेर ३२ एमएमको रडसहित आरसीसी पर्खाल लगाइनेछ। 

    पहिरोभित्र जमेको पानीले भित्रभित्रै माटो बगाइरहेकाले त्यसलाई बाहिर निकाल्न होरिजन्टल ड्रिलिङ गरी पाइप राखिनेछ। साथै ४ मिटर व्यासका तीनवटा ठुला कुवा खनेर भित्री पानीलाई सुरक्षित रूपमा खोलामा पठाइनेछ। यो परियोजनाको डिजाइन नेपालका वरिष्ठ जिओटेक्निकल इन्जिनियर र विज्ञहरूको विशेष परामर्शमा तयार पारिएको हो।

    निर्माणको जिम्मा पाएको टीएसएन कन्स्ट्रक्सनले आवश्यक उपकरण र स्रोतसाधन कार्यस्थलमा पुर्‍याइसकेको छ। निर्माण कम्पनीका सञ्चालक ओमप्रकाश लम्सालले यसलाई सामान्य सडक निर्माणभन्दा भिन्न र चुनौतीपूर्ण इन्जिनियरिङ प्रोजेक्टका रूपमा लिएका छन्। उनले १५ भन्दा बढी हेभी इक्विपमेन्ट परिचालन गरी दिनरात काम गर्ने योजना बनाएको बताए। 

    यद्यपि, सम्झौता भएको एक महिना बितिसक्दा पनि मन्त्रालय र विभागको केही प्रक्रियागत ढिलाइले कामले सोचेजस्तो गति लिन नसकेको उनको गुनासो छ। आगामी असार मसान्तसम्म मुख्य काम सकेर वर्षायाममा हुने थप क्षति रोक्ने लक्ष्यका साथ सबै संयन्त्र परिचालन गरिएको छ।   

    images
    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - ११:४३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij