२०८२ फाल्गुण २५ गते सोमवार
काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ ग्रहण गरेका छन् ।
अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहहरूलाई शपथ गराएका छन् ।
माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल भएको थियो । सोही तालमेलअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका छन् ।
बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका थिए ।
मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए ।
यसैगरी कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij