२०८२ फाल्गुण १९ गते मंगलवार
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंक बढेको छ । आगामी बिहीबारको प्रतिनिधिसभा निर्वाचनअघि अन्तिम दिनको सेयर कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको हो ।
सोमबार होलीका कारण सार्वजनिक बिदा छ । त्यसपछि सरकारले बिहीबारको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिएको छ । त्यसले गर्दा यो साता सेयर बजारमा कारोबार हुँदैन । निर्वाचन अघिको सेयर कारोबारमा लगानीकर्ताले सेयर मूल्य बढेर खरिद–बिक्री गरेका हुन् ।
आइतबार कारोबार सुरु हुँदा २६ अंकसम्मघटेको नेप्से मध्यसमय पछि सुधार आएको थियो । आइतबार कारोबार सुरु हुँदा २६५४.९३ अंक रहेको नेप्से १९.२७ अंक बढेर २६७४.२० बिन्दु पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंक बढेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका मध्ये १ सय ८७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी ६४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन हुन सकेन । नेप्सेमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका सबै समूहगत परिसूचक बढेका छन् । यस दिन बैंकिङ १०.८०, विकास बैंक ४३.८०, वित्त ५४.५०, होटल २९.६८, जलविद्युत् १६.४०, लगानी ०.६१, जीवन बीमा ७६.७७, उत्पादनमूलक ७०.७०, लघुवित्त १९.६२, निर्जीवन बीमा ४५.९१, अन्य २७.४४ र व्यापार समूह ४०.९१ अंक बढेको छ ।
आइतबार नेप्सेमा ३ सय ४१ कम्पनीको ५५ हजार २ सय ६ कारोबारबाट ५ अर्ब ६४ करोड बराबरको १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । यो कारोबार रकम गत साता बिहीबारको तुलनामा धेरै हो । बिहीबार नेप्सेमा ४ अर्बभन्दा धेरैको कारोबार भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij