२०८२ फाल्गुण १३ गते बुधवार
काठमाडौं । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ ।
सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानी मारेका हुन् ।
नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमले परिवारका सदस्यहरूको हत्यामा संलग्न नेपाली छत्रबहादुर थापा रहेको उल्लेख गरेको छ । थापाका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापा, थापाकी श्रीमती ५१ वर्षीय बिन्दा थापा र छोरी ३१ वर्षीय ममता थापा रहेको उल्लेख गरेको छ ।
प्रहरीका अनुसार, अन्दाजी ५० वर्षका ती व्यक्तिले सोमबार बिहान करिब ५ बजे पर्सिमोन ड्राइभको ३९०० ब्लकमा रहेको आफ्नो अपार्टमेन्टमा आफ्नी छोरी र श्रीमतीलाई खुँडा प्रहार गरेका थिए। उनीहरूको अस्पतालमा मृत्यु भएको छ ।
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार, प्रहरी घटनास्थलमा पुग्दा ती संदिग्ध व्यक्ति आफ्ना ज्वाइँलाई खुँडा प्रहार गर्दै थिए। हतियार भुइँमा फाल्न पटक-पटक दिइएको आदेश नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए।
अपार्टमेन्टभित्र एक वर्षको बच्चा पनि रहेको तर उसलाई कुनै चोटपटक नलागेको डेभिसले बताए।
फेयरफ्याक्स काउन्टीमा भएको घातक खुँडा प्रहारमा प्रहरीले १० इन्च लामो मासु काट्ने हतियारजस्तो देखिने घुमाउरो खुँडा प्रयोग भएको बताएको छ।
घरभित्र रहेको बच्चालाई बाल संरक्षण सेवाको जिम्मा लगाइएको छ। प्रहरीले उक्त घरमा यसअघि घरेलु हिंसा वा प्रहरीलाई बोलाइएको कुनै रेकर्ड नभएको तर त्यसबारे अनुसन्धान गरिने बताएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij