२०८२ फाल्गुण २७ गते बुधवार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि व्यक्तिगत पहल सुरु गरेका छन्।
साम्बाको उपचारमा एन्फाले बेवास्ता गरेको भन्दै थापाले आफ्नो तर्फबाट तत्कालका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा समेत गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले एन्फा पन्छिए पनि साम्बाको उपचार हुने र उनलाई पुनस् खेलमैदानमा फर्काएरै छाड्ने दाबी गरेका छन्। करिब एक हप्ताअघि साम्बाले आफूलाई फोन गरेर एन्फाले आफ्नो उपचार गर्न नसक्ने जानकारी दिएको थापाले खुलाएका छन्।
साम्बाको त्यस्तो गुनासो र सामाजिक सञ्जालको स्टाटसले आफूलाई निकै भावुक बनाएको उल्लेख गर्दै उनले सारा नेपाली साम्बाको साथमा रहेको भन्दै चिन्ता नलिन ढाडस दिएका छन्।
साम्बाको फोनपछि आफूले व्यक्तिगत रूपमा परराष्ट्र, अर्थ र गृहमन्त्रीलाई साम्बाको पत्रसहित उपचारका लागि पहल गर्न अनुरोध गरेको थापाले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij