२०८२ फाल्गुण ९ गते शनिवार
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्म कर्मचारीको तलबभत्तामा ३० अर्ब रुपैयाँ बढी खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले पुससम्म कुल ३० अर्ब १५ करोड ४६ लाख रुपैयाँ खर्च गरेका हुन्। अघिल्लो वर्ष २०८१\८२ को यही अवधिसम्मको तुलनामा बैंकहरुको खर्च ५.९० प्रतिशतले बढेको छ।
सबैभन्दा बढी खर्च गर्नेमा राष्ट्रिय वाणिज्य बैंकहरु रहेको छ भने खर्च वृद्धिका हिसाबले सिटिजन बैंक अगाडि रहेको छ।
चालु आर्थिक वर्षको पुससम्म राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको तलबभत्ता सर्वाधिक २ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको यस्तो खर्च ११.५९ प्रतिशतले बढेको छ।
कर्मचारीको तलबभत्तामा दोस्रो धेरै खर्च गर्नेमा नबिल बैंक रहेको छ। पुससम्म यो बैंकले कुल २ अर्ब १४ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको खर्च १४.७३ प्रतिशतले बढेको छ।
ग्लोबल आइएमई बैंकले कर्मचारीको तलबभत्तामा १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा ११.३२ प्रतिशतले बढेर २ अर्ब ५ करोड ३३ लाख रुपैयाँ पुगेको छ। कुमारी बैंकले ४.८१ प्रतिशतले खर्च बढाएर २ अर्ब १ करोड ८० लाख २० हजार रुपैयाँ पुर्याएको छ।
कर्मचारीको तलबभत्तामा खर्च वृद्धि दरका हिसाबले सिटिजन बैंकको सर्वाधिक २२.९७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो बैंकले ८३ करोड ८९ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ३ करोड १६ लाख रुपैयाँ पुगेको छ।
लक्ष्मी सनराइज बैंकले ७.२७ प्रतिशतले खर्च बढाउँदै २ अर्ब १ करोड २१ लाख ३० हजार रुपैयाँ पुर्याएको छ। कृषि विकास बैंकले गत वर्षको १ अर्ब ८१ करोड ४१ लाख ७० हजार रुपैयाँबाट २.८१ प्रतिशतले वृद्धि गरी यस वर्ष १ अर्ब ८६ करोड ५१ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ।
हिमालयन बैंकले ५.२५ प्रतिशतको वृद्धिसहित १ अर्ब ६५ करोड ९४ लाख ८० हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.६१ प्रतिशतको वृद्धिसहित १ अर्ब ५९ करोड ५ लाख ६० हजार रुपैयाँ कर्मचारीमा खर्च गरेका छन्।
छापुच्छ्रे बैंकले ६.०१ प्रतिशतले खर्च बढाउँदै १ अर्ब २० करोड ४९ लाख १० हजार रुपैयाँ पुर्याएको छ भने एभरेष्ट बैंकले १५.३३ प्रतिशतको उल्लेख्य वृद्धिसहित १ अर्ब ६ करोड १ लाख ५० हजार रुपैयाँ कर्मचारीका लागि खर्च गरेको छ।
तुलनात्मक रूपमा कम खर्च गर्ने बैंकहरूमा प्राइम कमर्सियल बैंकले १.३२ प्रतिशतको वृद्धिसहित ८७ करोड ४ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ।
नेपाल एसबिआई बैंकले १३.३९ प्रतिशतले खर्च बढाएर ८३ करोड ६४ लाख २० हजार रुपैयाँ पुर्याएको छ । भने सानिमा बैंकको खर्चमा ०.१० प्रतिशतको सामान्य वृद्धिसहित ८२ करोड ८ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ।
समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सर्वाधिक कम खर्च स्ट्यान्टर्ट चार्टर्ड बैंक रहेको छ। यो बैंकले ५२ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको खर्च ३.८३ प्रतिशतले घटेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै एनआईसी एसिया बैंक र प्रभु बैंकको कर्मचारीको तलबभत्तामा जाने खर्च घटेको छ भने बाँकी १७ वटाको बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij