Logo

२०८२ फाल्गुण ८ गते शुक्रवार

२०८२ फाल्गुण ८ गते शुक्रवार

आज दिनभरको ३३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 505
    Shares

    आज दिनभरको ३३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउने कार्यमा सञ्चारजगतको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता जस्ता संवैधानिक मूल्य मान्यताहरूको संरक्षणमा प्रतिवद्ध रहन पनि राससलाई निर्देशन दिनुभयो । उहाँले आग्रह र पूर्वाग्रहबाट मुक्त भई रूपान्तरित सोचका साथ राष्ट्रिय हितमा कार्य गर्न सञ्चारकर्मीहरूलाई आह्वान गर्नुभयो । आधुनिक प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा ल्याएको चुनौतीलाई अवसरका रूपमा बदल्न राससले आफ्नो व्यावसायिक आचरणलाई परिष्कृत र परिमार्जित गर्नुपर्नेमा उहाँको जोड छ । 

    २. युवाको ऊर्जा र अनुभवीको दृष्टि मिलेर देश बन्छः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन पछि बन्ने एमाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ वटा प्राथमिकताका कामहरू समय सीमा तोकेर अगाडि बढाउने घोषणा गर्नुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य हासिल गर्न सुशासन, विकास र समृद्धिका लागि २५ स्तम्भहरू नीतिगत प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभएको हो । पुस्तान्तरण र अन्तरपुस्ता द्वन्द्वको चर्चालाई भ्रमको संज्ञा दिँदै ओलीले यो देश पुस्ताहरू बीचको द्वन्द्वले नबनेको बताउनु भयो । युवा भनेको आगो भएको उल्लेख गर्नुहुँदै अनुभव भनेको उज्यालो भएको बताउनु भयो । आगोलाई दिशा चाहिने र उज्यालोलाई ऊर्जा चाहिने भन्दै उहाँले दुवै मिलेर मात्र देशको भविष्य उज्ज्वल हुने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले यो निर्वाचनलाई केवल पुस्तान्तरको विषय नभई ‘देश बनाउने र भत्काउने बीचको जनमत सङ्ग्रह’ भएको दाबी गर्नुभयो । 

    ३. भव्यताका साथ मनाइयो प्रजातन्त्र दिवस

    नेपालमा २००७ सालको ऐतिहासिक क्रान्तिले राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस यस वर्ष पनि उत्साहपूर्ण रूपमा मनाइएको छ । यो दिवसले नेपाली जनताको लामो संघर्ष र बलिदानको स्मरण गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको सन्देश प्रवाह गरेको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु र उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा नेपाली सेनाद्वारा मार्च पास, झाँकी, सांस्कृतिक नृत्य तथा सांगीतिक धुनहरू प्रश्तुत गरिएका थिए । राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास तथा समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ । 

    ४. प्रजातन्त्र दिवसमा प्रधानमन्त्री कार्कीको चेतावनीः ‘युवालाई अपमान र तिरस्कार गरिरहने हो भने फेरि पनि विद्रोह हुन्छ’

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूको असन्तोषलाई दमन गरेर नभई उनीहरूको आवाज सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्नसक्ने बताउनुभएको छ । ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहलाई बिहीवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको शासकीय संयन्त्र र राजनीतिक नेतृत्वको आलोचना गर्नुभयो । उहाँले मुलुकमा बारम्बार किन आन्दोलन भइरहन्छन् भन्ने विषयमा निर्मम आत्मसमीक्षा गर्न आह्वान गर्नुभयो । प्रधानमन्त्रीले २००७ सालको क्रान्तिलाई आधुनिक नेपालको जग मान्दै त्यस यताका राजनीतिक परिवर्तनहरूले जनताको जीवनस्तरमा तात्विक भिन्नता ल्याउन नसकेको तीतो यथार्थ रहेको बताउनु भयो । उहाँले बजेट वितरण, समानुपातिक प्रणालीको दुरुपयोग र छात्रवृत्ति तथा रोजगारीमा हुने गरेको ‘काखापाखा’ संस्कृतिको अन्त्य नभएसम्म लोकतन्त्रको औचित्य पुष्टि नहुने जिकिर गर्नुभयो ।

    ५. जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता र दलहरूबीचको सहकार्य अनिवार्य रहेको उल्लेख गर्नुभएको छ । भदौ २४ को घटनालाई राष्ट्रिय अस्तित्वमाथिको प्रहार भन्दै उहाँले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र शान्ति सुव्यवस्था कायम गर्न एमाले नेतृत्वको आवश्यकता औंल्याउनुभएको हो । अध्यक्ष ओलीले पछिल्लो समय राजनीतिक दलहरूबीच देखिएको सहकार्यलाई अस्थिरता अन्त्य गर्ने प्रयासको रूपमा व्याख्या गर्नुभएको छ । ठूला दलहरू मिल्नु संकटको कारण नभई बरु अस्थिरताको चक्र रोक्न गरिएको कदम भएको उहाँको दाबी छ । विगतका घटनाक्रमहरूको विश्लेषण गर्दै ओलीले भदौ २४ गतेको घटनालाई नेपालको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनावद्ध आक्रमणको संज्ञा दिनुभयो । 

    ६. काठमाडौंमा पहिलो अन्तरक्षेत्रीय थकाली युवा ताराखेल प्रतियोगिताः मौलिक संस्कृति जोगाउन युवाको सक्रियता

    थकाली युवा परिवारको आयोजनामा पहिलो पटक युवाहरूलाई लक्षित गर्दै अन्तरक्षेत्रीय तारा प्रतियोगिता सम्पन्न भएको छ । थकाली समुदायको परम्परागत खेल ‘तारा’ लाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा ८ वटा क्षेत्रका १२ टोलीबाट कुल ६० जना खेलाडीहरूले जनाएका हुन् । प्रतियोगिताको मुख्य आकर्षणको रूपमा तीन जना महिला खेलाडीहरूको सहभागिता रहेको छ । परम्परागत रूपमा पुरुषहरूको मात्र खेल मानिँदै आएको तारा खेलमा महिलाहरूको प्रवेशलाई थकाली समुदायले ’प्रोत्साहनजनक र सराहनीय’ कदमको रूपमा लिएको छ । थकाली युवा परिवारकी उपाध्यक्ष प्रज्ञा शेरचनकाअनुसार समुदायका अग्रजहरूले खेल लोप हुन लागेकोमा व्यक्त गरेको चिन्तालाई सम्बोधन गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । 

    ७. काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सबै पालिकाको वित्तीय साझेदारी हुने

    शिवपुरीदेखि गोदावरीसम्म साइकल लेनको मास्टर प्लान बनाइने
    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्पूर्ण आर्थिक र व्यवस्थापकीय भार अब सबै पालिकाले बोक्ने भएका छन् । काठमाडौं उपत्यका मेयर्स फोरमको १३ औँ बैठकले फोहोर व्यवस्थापनमा आर्थिक तथा ब्यबस्थापकीय साझेदारीकोको लागि सबै नगरपालिकाले मिले काम गर्ने निर्णय गरेका हुन् । बैठकको निर्णयअनुसार उपत्यकाको फोहोर व्यवस्थापनमा एकल रुपमा भार बोक्दै आएको काठमाडौं महानगरलाई उपत्यकाका बाँकी १७ वटै नगरपालिकाले वित्तीय र व्यवस्थापकीय साझेदारी गर्नेछन् । अहिलेसम्म बञ्चरेडाँडा ल्याण्डफिल साइटमा भइरहेको फोहोर व्यवस्थापनको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले गर्दै आएको थियो । यो परिपाटी अन्त्य गर्दै बैठकले अब उत्पादन हुने फोहोरको मात्राका आधारमा सम्बन्धित पालिकाले नै खर्च ब्यहोर्ने निर्णय गरेको हो । 

    ८. एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा

    एमाले नेता एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एमालेको चुनावी घोषणापत्र विगतको भन्दा भिन्न र कार्यान्वयन योग्य रहेको दाबी गर्नुभएको छ । ठूला वाचा गर्ने तर पूरा नहुने स्थिति अन्त्य गर्न यसपटक लागत र स्रोतको समेत आँकलन गरिएको उहाँको भनाइ छ । डा. खतिवडाकाअनुसार यसपटकको घोषणापत्रमा ‘देश पहिला, राष्ट्र पहिलो’ भन्ने मूल मन्त्र राखिएको छ । उहाँले लोकतन्त्र कालमा भएका उपलब्धि र कमी–कमजोरीलाई वस्तुनिष्ठ ढंगले प्रश्तुत गरिएको बताउनु भयो । घोषणा गरिएका ११ बुँदे कार्यक्रमहरूका लागि राज्यलाई राजश्वको करिव २ प्रतिशत मात्र दायित्व पर्ने डा. खतिवडाको दाबी छ । उहाँले यसले देशको ऋणभार नबढाउने बरु न्यायिक पुनर्वितरण गर्ने स्पष्ट पार्नुभयो । सरकारले आफैँ उद्योग नचलाउने तर रणनीतिक क्षेत्रमा मात्र हात हाल्ने उहाँको धारणा छ ।

    ९.‘विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउन निर्वाचन सफल पारौँ’– कार्यवाहक प्रमुख आयुक्त भण्डारी

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा विथोलिएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई निर्धक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल गर्नुभएको हो । गत भदौ २३ र २४ गते भएको ‘जेन–जी विद्रोह’ पछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुन अब १४ दिन मात्र बाँकी छ । यो विशेष परिस्थितिलाई सङ्केत गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आयोगको मूल मन्त्र ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ लाई आत्मसात गर्न सबैलाई आग्रह गर्नुभएको छ  ।

    १०. ‘विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउन निर्वाचन सफल पारौँ’– कार्यवाहक प्रमुख आयुक्त भण्डारी

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा विथोलिएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई निर्धक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल गर्नुभएको हो । गत भदौ २३ र २४ गते भएको ‘जेन–जी विद्रोह’ पछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुन अब १४ दिन मात्र बाँकी छ ।

    ११. ‘भदौ २३ को घटना संविधान र व्यवस्थामाथिको धावा हो’ः केपी शर्मा ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, व्यवस्था र सार्वभौमसत्ता विरुद्धको योजनावद्ध आक्रमण भएको बताउनुभएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले देश हाल विवेक र आवेगको दोबाटोमा उभिएको चर्चा गर्दै भत्काउने र बनाउने दुई सोच बीच द्वन्द्व भइरहेको उल्लेख गर्नुभयो । उहाँले भदौ २३ को प्रदर्शनमा घुसपैठ भएको र शान्तिपूर्ण रूपमा घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलिएको आरोप लगाउनु भयो । राजनीतिक अस्थिरतालाई देश विकासको मुख्य बाधकका रूपमा चित्रण गर्दै ओलीले ठूला दलहरू मिल्नु संकटको कारण नभई अस्थिरता रोक्ने प्रयास भएको स्पष्ट पार्नुभयो ।

    १२. ‘फागुन २१ को निर्वाचनले नयाँ युगको ढोका उघार्नेछ’ः प्रधानमन्त्री कार्की

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ । प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ साल फागुन ७ गतेदेखि शुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्नुभयो । निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण शक्ति लगाएको जिकिर गर्नुभयो । प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको दाबी गर्नुभयो । 

    १३. ‘एमालेको घोषणापत्र एउटा इकोसिस्टम हो, जसले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ’ः प्रा.डा. शिवराज अधिकारी

    योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेकपा एमालेको घोषणापत्र एउटा ‘आर्थिक इकोसिस्टम’ को रूपमा डिजाइन गरिएको दाबी गर्नुभएको छ । उहाँकाअनुसार यो घोषणापत्रमा समेटिएका २५ बुँदाहरू एक–अर्काका पूरक हुन् र यसले देशको आर्थिक विकासलाई एउटा एकीकृत चेनको रूपमा अगाडि बढाउनेछ । कतिपयले एमालेको आर्थिक एजेण्डालाई केवल ‘वितरणमुखी’ वा लागत मात्र भएको टिप्पणी गर्ने गरे पनि डा. अधिकारीले यसलाई अस्वीकार गर्नुभयो । डिजिटल कार्ड र डलर कार्ड जस्ता सुविधाहरूले निर्यात प्रवद्र्धन र रोजगारी सिर्जनामा प्रत्यक्ष सहयोग पु¥याउने उहाँको तर्क छ । यसले गर्दा छोटो समयको लागतले दीर्घकालीन आर्थिक लाभ दिने उहाँले स्पष्ट पार्नुभयो । 

    १४. ‘एमाले गरिब र मजदुरको पक्षमा छ’ः केपी शर्मा ओली

    नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दाबी गर्नुभएको छ । झापाको दमकमा आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा भोकमरीको स्थिति लगभग अन्त्य भएको र अबको लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको मुख्य प्राथमिकतामा विपन्न, सुकुम्वासी र सानो व्यवसाय गर्ने मजदुरहरू रहेको उल्लेख गर्नुभयो । उहाँले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारी नीतिकै कारण देशमा भोकमरीको अन्त्य भएको दाबी गर्नुभयो । गरिबी अझै पनि चुनौतीको रूपमा रहेको स्वीकार गर्दै उहाँले विभिन्न उपाय र कार्यक्रमहरूमार्फत यसलाई जरैदेखि उखेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    १५. ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले कर्णालीको भूगोल, संस्कृति र प्रचुर सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्घोष गर्नुभएको छ । मुगुस्थित ‘स्वर्गकी अप्सरा’ उपनामले परिचित रारा तालको किनारबाट कर्णालीको समृद्धिको ढोका खोल्ने ‘वाचापत्र’ सार्वजनिक गर्दै नेता शाहले यस्तो बताउनुभएको हो । सम्बोधनका क्रममा शाहले कर्णालीको भौगोलिक विशिष्टताको चर्चा गर्दै देशको सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा लामो नदी कर्णाली र सबैभन्दा गहिरो ताल फोक्सुण्डो कर्णालीमै रहेको बताउनु भयो । तर यो गहिराइलाई अहिलेसम्मका कुनैपनि सरकार वा राजनीतिक दलले बुझ्न नसकेको बताउनु भयो । कर्णालीको गहिराइ बुझ्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भएको उहाँको भनाइ छ । 

    १६. इजरायली सेनाद्वारा गाजाको ‘यल्लो लाइन’ नजिकै लडाकूको हत्या, वेस्ट बैंकमा घरहरू भत्काउने कार्य जारी

    इजरायली सेनाले उत्तरी गाजा स्ट्रिपमा ‘यल्लो लाइन’ (पहेंलो रेखा) सीमांकन पार गरेपछि एक प्यालेस्टिनी लडाकूलाई मारिएको बताएको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै ती प्यालेस्टिनी व्यक्ति सेनाको नजिक पुगेको र उनीहरूको सुरक्षाका लागि ‘आसन्न खतरा’ पैदा गरेको उल्लेख गरेको छ । सेनाले सन् २०२५ अक्टोबरको युद्धविराम सम्झौताको हवाला दिँदै दक्षिणी कमाण्डका सेनाहरू गाजामा तैनाथ रहने बताएको छ । जसले इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरूलाई छुट्याउन ‘यल्लो लाइन’ स्थापना गरेको थियो। प्यालेस्टिनी स्रोतकाअनुसार इजरायली अधिकारीहरूले वेस्ट बैंकमा चार प्यालेस्टिनी घरहरू भत्काएका छन् र जेरुसेलममा एउटा सामुदायिक संस्था बन्द गरेका छन् । 

    १७. इरानद्वारा स्वास्थ्य पर्यटनको प्रवद्र्धन

    इरानको राजधानी तेहरानमा एक अन्तर्राष्ट्रिय स्वास्थ्य पर्यटन कार्यक्रम आयोजना गरिएको छ । सरकारी सञ्चारमाध्यमकाअनुसार यस कार्यक्रममा ३० भन्दा बढी देश र क्षेत्रका १२० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । पहिलो अन्तर्राष्ट्रिय स्वास्थ्य पर्यटन कार्यक्रम तेहरान ३६० नामक यस आयोजनाको मुख्य उद्देश्य स्वास्थ्य, चिकित्सा र पर्यटनका क्षेत्रमा तेहरानको क्षमता र उपलब्धिहरू प्रदर्शन गर्नु रहेको सरकारी समाचार संस्था आइआरआईबीले जनाएको छ । कार्यक्रमको पहिलो दिन व्यावसायिक बैठकहरू सञ्चालन गरिएका थिए भने दोस्रो दिन तेहरानका मेयर अलिरेजा जाकानीको उपस्थितिमा विशेष सम्मेलन आयोजना गरियो । यसमा स्वास्थ्य विशेषज्ञ, चिकित्सा विज्ञ र इरानी तथा अन्तर्राष्ट्रिय उपचार केन्द्रका प्रतिनिधिहरू सहभागी थिए । 

    १८. दक्षिण कोरियाबाट उत्तर कोरियामा चार पटक ड्रोन पठाएको खुलासा

    दक्षिण कोरियाका तीन नागरिकले वर्तमान सरकारको कार्यकाल शुरु भएदेखि उत्तर कोरियातर्फ चार पटक ड्रोन पठाएको र यसको पुष्टि सैन्य–प्रहरी अनुसन्धानले गरेको एकीकरण मन्त्रीले जानकारी दिनुभएको छ । दक्षिण कोरियाली एकीकरण मन्त्री चुङ डोङ–यंगले बुधवार आयोजित एक टेलिभिजन पत्रकार सम्मेलनमार्फत तीनजना दक्षिण कोरियाली नागरिकले उत्तर कोरियामा अनधिकृत रूपमा ड्रोन पठाएको जानकारी सार्वजनिक गर्नुभयो । संयुक्त सैन्य–प्रहरी अनुसन्धान टोलीले गरेको विस्तृत छानबिनकाअनुसार वर्तमान सरकार सत्तामा आएदेखि हालसम्म चार पटक ड्रोन घुसपैठका घटनाहरू भएका छन्। अनुसन्धान प्रतिवेदनले गत वर्षको सेप्टेम्बर २७, नोभेम्बर १६, र नोभेम्बर २२ का साथै यस वर्षको जनवरी ४ मा उत्तर कोरियाली सीमाभित्र ड्रोन प्रवेश गराइएको तथ्य उजागर गरेको छ ।

    १९. भारतमा एआई इम्प्याक्ट एक्सपो २०२६ शुरु

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको एउटा प्रदर्शनी केन्द्रमा पाँच दिने ‘भारत एआई इम्प्याक्ट एक्सपो २०२६’ को उद्घाटन गर्नुभएको छ । समारोहमा २० जना राष्ट्र प्रमुख, ६० जना मन्त्री र ५०० जना विश्वव्यापी एआई नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो । आधिकारिक यो सम्मेलन ‘जनता, ग्रह र प्रगति’ का तीन मुख्य स्तम्भहरूमा आधारित छ । यसलाई सातवटा विषयगत कार्य समूहहरूले अगाडि बढाएका छन् । जसमा आर्थिक वृद्धि, सामाजिक भलाइ, स्रोतहरूको लोकतान्त्रिकीकरण, र सुरक्षित एआई जस्ता महत्वपूर्ण विषयहरू समेटिएका छन् । यस एक्सपोमा अष्ट्रेलिया, जापान, रूस, बेलायत, फ्रान्स, जर्मनी र इटाली लगायत १३ देशका विशेष प्याभिलियनहरू राखिएका छन् । साथै, ६०० भन्दा बढी उच्च–क्षमता भएका स्टार्टअपहरूले एआई क्षेत्रमा भइरहेको अन्तर्राष्ट्रिय सहयोगलाई प्रदर्शन गरेका छन् ।

    २०. ह्वाइट हाउसले अमेरिका–इरान वार्ताको लागि समयसीमा तोक्न अस्वीकार ग¥यो

    ह्वाइट हाउसले अमेरिका–इरान आणविक वार्ताका लागि कुनैपनि समयसीमा तोक्न अस्वीकार गरेको छ । तेहरानले आगामी केही हप्ताभित्र आफ्नो वार्ताको अडानबारे थप विवरणहरू प्रश्तुत गर्ने अपेक्षा गरिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले दैनिक ब्रिफिङमा कुटनीति सधैं उहाँको (राष्ट्रपति डोनल्ड ट्रम्पको) पहिलो विकल्प भएको बताउनु भयो । तर उहाँले इरानमाथि सैन्य आक्रमणका लागि कयौं कारण र तर्कहरू दिन सकिने बताउनु भयो । लेभिटले वासिङ्टन र तेहरानबीचको वार्ताका लागि समयसीमा तोक्न इन्कार गर्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको तर्फबाट कुनै समयसीमा नतोक्ने बताउनु भयो । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताले केही सकारात्मक संकेत देखाएको तर अमेरिकाका प्रमुख ‘रेड लाइन्स’ (सीमा) अझै पूरा नभएको बताएका छन् । 

    २१. एमालेको घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पु¥याउने, दैलेखको ग्यास तथा धौवाडी फलाम खानी सञ्चालनमा ल्याउने

    नेकपा एमालेले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । एमालेले आसन्न निर्वाचलाई लक्षित गर्दै सार्वजानिक गरेको घोषणापत्रमा समतामूलक द्रुत आर्थिक विकासमार्फत चरम गरिबीको अन्त्यगरी प्रतिव्यक्ति आय करिव ३ हजार अमेरिकी डलर पु¥याउने उल्लेख छ । आगामी आधा दशकमा अर्थतन्त्रको आकार एक खर्बले वृद्धि गर्ने र एक दशकमा दुई खर्बले वृद्धि गर्ने लक्ष्य राखिएको छ । कृषि उत्पादन, विद्युत उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ७ प्रतिशतदेखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्ने एमाललेले जनाएको छ । पाँच वर्षमा अर्थतन्त्रको आकार एक सय खर्ब रुपैयाँ र दश वर्षमा दुई सय खर्ब रुपैयाँ पु¥याउने एमालेको लक्ष्य छ ।

    २२. डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको महलमा दोजर चल्ने बताउनुभएको छ । कर्णालीमा बिहीवार आयोजित वाचापत्र सार्वजानिक कार्यक्रमा उहाँले रास्वपा सरकार आएमा गरिब बस्तीको उठीवास लगाउने र डोजर चलाउने भन्दै जनतालाई तर्साउने प्रयास भइरहेको आरोप लगाउनु भयो । उहाँले डोजर चलेमा सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्ने भन्दै गरिबको बस्तीले चिन्ता गर्न नपर्ने बताउनु भयो । सभापति लामिछानेले रास्वपाले कसैलाई बेघरबार बनाउने काम नगर्ने दाबी गर्नुभयो । विस्थापित नगरी व्यवस्थापन गर्ने नीति लिने उहाँको भनाई छ । भूमिहीन समस्याको समाधान गर्न शक्तिशाली र स्वतन्त्र आयोग गठन गर्ने उहाँले बताउनु भयो ।

    २३. निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैनः प्रमुख निर्वाचन आयुक्त भण्डारी

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट पार्नुभएको छ । १० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिताले मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध गरेको बताउनु भयो । उहाँले कुनैपनि प्रेससँग सम्बन्धित व्यक्ति वा संस्थाले मत सर्वेक्षण गरेर ‘फलानो उम्मेदवार जित्यो’ वा ‘फलानो हा¥यो’ भनेर अग्रिम घोषणा गर्न नपाइने उल्लेख गर्नुभयो । उहाँकाअनुसार हाल निर्वाचनको लागी सामाजिक सञ्जाल र प्रेस जगत सबैभन्दा पेचिलो विषय बनेको छ । केही अनलाइन माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले संविधानको धारा १९ अनुसार अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गरिएको गुनासो गर्दै आयोगसमक्ष विषय उठाएको भएपनि पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी परिणाम घोषणा गर्दा अन्य प्रतिष्पर्धीको मनोबल घट्ने र मतदातामा भ्रम तथा प्रभाव पर्नसक्ने भएकाले यस्तो कार्य कारबाहीको विषय बन्ने उहाँले स्पष्ट पार्नुभयो ।

    २४. मतदाता फागुन २१ को व्यग्र प्रतीक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताहरु मतदान गर्ने दिनको व्यग्र प्रतिक्षामा रहेको बताउनुभएको छ । १० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी मतदान हुने बताउनुभएको हो । उहाँले आसन्न निर्वाचनमा सबैभन्दा बढी मतदान हुने र मत बदरको संख्या पनि सबैभन्दा कम हुने दाबी गर्नुभयो । खसेको मतमध्ये लगभग सबै सदर हुने आयोगको अपेक्षा रहेपनि केही प्रतिशत बदर हुनसक्ने उहाँको भनाई छ । अघिल्ला निर्वाचनको तुलनामा निकै कम मत बदर हुने उहाँले बताउनु भयो । आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रमले पनि मत बदर नहुने गरी मतदान गर्ने तरिका सिकाइएको उहाँको भनाइ छ ।

    २५. लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मा जनताको भएको बताउनुभएको छ । बिहीवार कर्णालीमा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रको ठेक्का कुनै नेता वा दलले लिन नपर्ने बताउनुभएको हो । उहाँले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै लोकतन्त्र खतरा हेलिकप्टरबाट भागेसंगै टरेर गएको बताउनु भयो । उहाँले भागेको हेलीकप्टर फेरि सिंहदरबारमा ल्याण्ड नभएसम्म लोकतन्त्र सुरक्षित हुने उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रको धेरै चिन्ता लागेमा सबै एकजुट भएर रास्वपासंग प्रतिष्पर्धामा उत्रिन पनि आग्रह गर्नुभयो । उहाँले रास्वपा लोकतन्त्रप्रति प्रतिवद्ध रहेको उल्लेख गर्नुहुँदे शान्तिपूर्ण निर्वाचनको प्रत्याभुति दिन सरकारसँग माग गर्नुभयो । निर्वाचनबाटै देशको भाग्य बदल्ने काममा आफूहरु लागेको उहाँको भनाई छ । 

    २६. ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२६ सार्वजनिक गरेको छ । बिहीवार प्रजातन्त्र दिवसको अवसर पारी इन्सेकले सातै प्रदेशबाट एकैसाथ वर्ष पुस्तक सार्वजनिक गरेको हो । वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले समग्रमा मानवअधिकार उल्लङ्घन र अन्य हिंसाका घटनामा वृद्धि भएको बताउनुभयो । सन् २०२५ मा पारिवारिक विवादका कारण देशभर १०३ जनाको हत्या गरिएको सार्वजनिक पुस्तकममा उल्लेख छ । त्यस्तै, दाइजको कारण १४४ जनामाथि हिंसा भएको, बाल अधिकार उल्लङ्घन तथा जादतीबाट पीडित भएकाहरुको संख्या १ हजार ३ सय ४९ जना, पेसागत आधारमा पीडित हुनेहरु ११ हजार ५ सय ३८ जना रहेको समेत पुस्तकमा अभिलेखिकरण गरिएको छ । अध्यक्ष गौतमकाअनुसार सन् २०२६ को हालसम्म ११ हजार ५ सय ३८ वटा मानव अधिकार उल्लङ्घानका घटनाहरु भएका छन् । 
    उहाँले भन्नुभयो, ‘२०२६ मा हामी ११ हजार ५ सय ३८ मानव अधिकार उल्लङ्घनका घट्नाहरु अभिलेखिकरण गरेका छौँ । 

    २७. १० लाख वार्षिक आम्दानीसम्म कर छुट दिने काँग्रेसको प्रतिज्ञा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २१ पmागुनको निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा प्रतिज्ञा गर्नुभयो । अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उहाँले प्रतिज्ञानन गर्नुभयो । करका सबै प्रकारका दरहरुलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको उहाँले सुनाउनु भयो । 

    २८. काँग्रेस सभापति थापाको प्रतिज्ञाः संघमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्रै

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय संख्या कटौती गर्ने घोषणा गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गर्नुभयो । गठबन्धनको नाममा भागबण्डा गर्न कुनैपनि दलले मन्त्रालय संख्या बढाउन नपाउने उहाँको भनाइ छ । सभापति थापाले २०४६ पछि काँग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू काँग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गर्नुभयो । त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसंग उल्लेख गर्दै उहाँले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आगामी पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गर्नुभयो । 

    २९. भदौ २३ को घटनामा सरकारको कमजोरी स्वीकार गर्दै काँग्रेस सभापति थापाले गरे क्षमा याचना

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेन–जी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको हो । जेन–जी विद्रोहको समयमा आफूहरू सरकारको सहयात्री रहेको भन्दै कमजोरीको जिम्मा लिन काँग्रेस तयार रहेको उहाँको भनाइ छ । उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएका आफन्तहरुसँग क्षमा पनि माग्नुभयो । सभापति थापाले २००७, २०४६ र २०६३÷६४ सालका जनआन्दोलनको स्मरण गर्दै ती आन्दोलनप्रति पार्टीले गौरव गर्दै आएको बताउनुभयो । उहाँले भदौ २३ र २४ गते युवाहरूले उठाएका मागहरू सम्बोधन गर्न सकेमात्र त्यसप्रति गौरव गर्न सकिने भन्दै उहाँले जेनजी युवाको भावनाअनुसार पार्टी अगाडि बढ्ने प्रतिज्ञा गर्नुभयो । 

    ३०. रास्वपाको वाचाः सांसद मन्त्री बन्न नपाउने, सातै प्रदेशमा डिजिटल पार्क, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि

    राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचाको लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीवार कर्णाली प्रदेशको सुर्खेतमा एक सभाका बीच वाचा पत्र सार्वजनिक गरेको हो । पार्टीले सार्वजनिक गरेको वाचा पत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कुटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरेको छ । पार्टीले रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरु समेत सार्वजनिक वाचा पत्रमा उल्लेख गरेको छ । पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै दलित तथा पछाडि पारिएका समुदायसँग औपचारिक रुपमा क्षमा याचना गर्दै भविष्यमा त्यस्तो हुन नदिने प्रण गर्ने वाचा गरेको छ । २०८२ भदौ २३, २४ मा भएको जेन–जी आन्दोलनका घटनाको छानबिन प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता समेत पार्टीले गरेको छ ।

    ३१. एमालेको घोषणापत्रः १० जीबी निःशुल्क डाटादेखि २५ हजारसम्मको ऋण मिनाहा गर्ने

    नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा युवा स्वरोजगार, महिला सशक्तीकरण, श्रमिक कल्याण, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । पार्टीले युवा पुस्तालाई डिजिटल तथा उद्यमशीलतामा जोड्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीको सम्मान गर्ने, किशोरी तथा महिलाको स्वास्थ्य र आर्थिक सशक्तिकरण गर्ने जस्ता महत्वाकांक्षी प्रतिवद्धता अघि सारेको छ । एमालेले  १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । सूचना प्रविधि क्षेत्रमा स्टार्टअप तथा अनलाइन कारोबार प्रवद्र्धन गर्न युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने एमालेको एजेण्डा छ । यसले एआई, कन्टेन्ट क्रिएसन, ििडजटल मार्केटिङ, एप विकास जस्ता क्षेत्रमा तालिम तथा सेवा उपयोग सहज बनाई १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य एमालेको छ ।

    ३२. क्षतिग्रस्त संरचना निर्माण गर्न विकास साझेदारबाट सहयोग लिइने

    सरकारले जेन–जी आन्दोलनबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दातृ निकायबाट सहयोग लिने तयारी गरेको छ । अर्थ मन्त्रालयकाअनुसार स्रोतको चाप परेका कारण विकास साझेदारहरुसँग पुनर्निमाण गर्न स्रोत लिने तयारी गरिएको हो । विकास साझेदार तथा गैर–आवासीय नेपाली समुदायबाट पुनर्निमाणमा योगदान जुटाउन कुटनीतिक पहल गर्ने योजना अर्थमन्त्रालयले बनाएको हो । जेन–जी आन्दोलनबाट क्षति पुगेका संरचना बनाउन संघीय सरकारले मात्रै चालु आर्थिक वर्षमा ४ अर्ब ३४ करोड खर्च गर्दैछ । आगामी दुई वर्षमा वार्षिक १० अर्ब १८ करोड खर्च गर्नुपर्ने स्थीति रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, प्रदेश सरकारबाट चालु आ.व.मा ८१ करोड २५ लाख, आगामी दुई वर्षमा वार्षिक १ अर्ब ४६ करोड ५२ लाख खर्च गरिँदैछ ।

    ३३. विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गरिँदै

    सरकारले विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गर्ने भएको छ । पछिल्लो समय फस्टाइरहेको विद्युतीय व्यापारलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमन गर्नका लागि सो सम्बन्धि निर्देशिका जारी गरेको हो । उद्योग मन्त्रालयले ल्याएको नयाँ निर्देशिकामा दर्ता नभई चलाइएको ई–कमर्स प्लाटफर्म खारेज गर्नेसम्मको व्यवस्था गरिएको छ  । निर्देशिकाअनुसार अब विद्युतीय माध्यममार्फत वस्तु तथा सेवाको व्यापारिक कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा सरकारी पोर्टलमा दर्ता हुनुपर्ने भएको छ । कुनै फर्मले सूचिकरण नगरी विद्युतीय व्यापार गरिरहेको सूचना वा जानकारी पाएमा सरकारी निरीक्षण अधिकृतले उक्त फर्मलाई सात दिनभित्र सूचिकरण गर्न आदेश दिने व्यवस्था गरिएको छ । सो म्यादभित्र समेत सूचीकरण नगरेमा विभागले त्यस्तो प्लाटफर्म खारेज गर्ने कारबाही चलाउने व्यवस्था निर्देशिकामा गरिएको हो । निर्देशिकाले सूचीकरण खारेजीको व्यवस्थासमेत गरेको छ । सम्बन्धित फर्म खारेज भएमा, सूचीकरण वा अद्यावधिक गर्दा विभागलाई जानाजान गलत वा भ्रामक विवरण दिएको पुष्टी भएमा, सम्बन्धित फर्मले सूचीकरणबाट हटाउन निवेदन दिएमा सूचीकरण खारेज हुने छ । –न्युज एजेन्सी नेपाल 

    प्रकाशित मिति :फाल्गुण ७ २०८२ बिहिवार - २०:३३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij