Logo

२०८२ फाल्गुण ८ गते शुक्रवार

२०८२ फाल्गुण ८ गते शुक्रवार

कर्णालीको गहिराइ नाप्ने पार्टी रास्वपा हो : बालेन शाह

कर्णालीको गहिराइ नाप्ने पार्टी रास्वपा हो : बालेन शाह


  • 155
    Shares

    कर्णालीको गहिराइ नाप्ने पार्टी रास्वपा हो : बालेन शाह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको अपार सम्भावनालाई उजागर गर्दै यस क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। 

    सुर्खेतमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधतालाई देशकै सम्पत्तिको रूपमा अर्थ्याए।

    हजारौँ जनसमूहको माझमा उभिएर नेता शाहले कर्णालीलाई देशकै सबैभन्दा ठुलो राराताल, सबैभन्दा गहिरो ताल, सबैभन्दा लामो नदी, ठुलो जिल्ला र ठुलो गाउँपालिका भएको क्षेत्रका रूपमा चिनाए।

    ‘कर्णाली राजा महेन्द्रले भनेझैँ स्वर्गकी अप्सरा भएको ठाउँ हो,’ उनले भने, ‘यहाँको गहिराइलाई आजसम्म कुनै सरकार र पार्टीले बुझ्न सकेनन्, त्यो गहिराइलाई बुझ्न चाहने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी।’

    कर्णालीलाई नेपाली भाषा र खस सभ्यताको उद्गमस्थल मान्दै शाहले सिंजा उपत्यकाको ऐतिहासिक महत्वबारे चर्चा गरे। ‘यहाँ आफ्नै भाषा, लिपि, चित्रकला, नाचगान र जात्रा छ,’ उनले भने, ‘काठमाडौँको नेवाः सभ्यताजस्तै कर्णालीको सिंजा सभ्यता जोगाउने पार्टी रास्वपा नै हो।’

    नेता शाहले डोल्पाको सुन मानिने यार्सागुम्बा विश्वभर पुग्ने तर कर्णालीको उत्पादन आफ्नै देशका अन्य भागमा नपुग्ने विडम्बना औँल्याए। उनले भने, ‘यहाँको स्याउ र मार्सी चामल चितवन र झापा पुग्दैन, यहाँको उत्पादनलाई कम्तीमा पनि देशभर पुर्‍याउने पार्टी बन्न चाहन्छ रास्वपा।’

    कर्णालीमा अझै पनि भोकमरी, बाल मृत्युदर र मातृ मृत्युदर उच्च रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यहाँको गरिबी र दुःख बेच्ने धेरै नेता आए पनि बुझ्ने नेता नआएको गुनासो गरे। उनले भने, ‘कर्णालीको पीडा र गरिबीलाई बुझ्ने नेता रास्वपाका नेताहरू बन्न चाहन्छन्।’

    कृषि, पर्यटन र जलविद्युतको प्रचुर सम्भावना बोकेको कर्णालीको विकासमा रास्वपाले विशेष ध्यान दिने प्रतिबद्धता जनाउँदै नेता शाहले भने, ‘तपाईँहरूको आशीर्वाद लिएर कर्णालीका सपना बोकेर अगाडि बढ्न चाहन्छौँ। अब कर्णालीका सपना हाम्रा सपना हुनेछन्।’

    उनले कर्णालीवासीलाई आफ्नो अमूल्य मत दिएर रास्वपालाई विजयी गराउन आह्वान गर्दै भने, ‘तपाईँहरूको साथ र समर्थनले नै हामी कर्णालीको मुहार फेर्न सक्नेछौँ।’ 

    प्रकाशित मिति :फाल्गुण ७ २०८२ बिहिवार - १५:३९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij