२०८२ फाल्गुण ७ गते बिहिवार
१. ‘आफूलाई बदलौँ, अनि देश बदलिन्छ’ः उपसभापति शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको विद्यमान राजनीतिक र सामाजिक परिस्थितिलाई सम्बोधन गर्न नेपाली काँग्रेस ‘नयाँ अवतार’ मा मधेस आएको उद्घोष गर्नुभएको छ । मधेसको ऐतिहासिक र उर्वर भूमिबाट देशवासीलाई सम्बोधन गर्दै शर्माले आगामी निर्वाचन केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई संकटमा परेको देशलाई सम्हाल्ने र नागरिकको घाउमा मलम लगाउने महायज्ञ भएको बताउनु भयो । स्वर्गीय नेताहरूको योगदानलाई स्मरण गर्दै उपसभापति शर्माले मधेस र देश रूपान्तरणको अधुरो यात्रा पूरा गर्ने प्रतिज्ञा गर्नुभयो । उहाँले मधेसलाई नेपालको ‘अन्न भण्डार’ र ‘पेट भर्ने भूमि’ को रूपमा सम्मान गर्दै किसानको पसिना र अन्नको एक–एक दानाप्रति पार्टीको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो ।
२. ‘सुदूरपश्चिम’लाई ‘सुनजिक–पश्चिम’ बनाउने संकल्प, विकासमा राजनीति नगर्ने बलेनको प्रतिवद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई आफ्नो मुख्य राजनीतिक एजेण्डा बनाउने घोषणा गरेको छ । बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक दायित्व रास्वपाले लिने बताउनुभएको हो । पार्टीले विपन्न र गरिब नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई प्रमुख एजेण्डाका रूपमा अघि सारेको बताउनु भयो । खल्तीमा पैसा नभएका कारण कोही पनि नागरिक आधारभुत सेवाबाट वञ्चित हुन नहुने धारणा राख्दै उहाँले विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती र राजनीतिक पूर्वाग्रहको आलोचना गर्नुभयो । सडक पूर्वाधारको प्रसंगमा पार्टीले २० वर्षसम्म पनि नबन्ने सडकहरूलाई डेढ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको छ । विकासमा दलगत भेदभाव नगरी काँग्रेस, एमाले र माओवादी लगायत सबै दलका समर्थक र आम नेपाली जनता हिँड्ने बाटो निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । सुदूरपश्चिमको पर्यटन र प्राकृतिक सम्पदाको प्रवद्र्धनमा जोड दिँदै उहाँले बडिमालिका, रामारोशन र खप्तड जस्ता क्षेत्रहरूको महत्वमा ध्यान दिनुपर्ने बताउनु भयो ।
३. गगन थापाको ‘मधेस प्रतिज्ञा’ः जनकपुरको माटोबाट राजनीतिको नयाँ भाष्य, अब ‘घोषणापत्र’ होइन ‘अक्षर–अक्षरको पालना’ को ग्यारेन्टी
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले देशको राजनीतिक र विकासको शैली बदल्ने ‘प्रतिज्ञा’ गर्नुभएको छ । मधेसलाई ‘अन्नको भण्डार र ज्ञानको पाठशाला’ को रूपमा पुनःस्थापित गर्ने संकल्पसहित थापाले अब काँग्रेसले केवल घोषणापत्र मात्रै नछाप्ने, बरु प्रत्येक शब्दको अक्षरशः पालना गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले मधेससँगको सम्बन्धलाई राजनीतिक लाभ–हानीभन्दा माथि उठेर ‘बेटा र माटो’ को सम्बन्धका रूपमा व्याख्या गर्नुभयो ।
‘मधेसको बेटा हुन आएको हुँ’ थापाले मधेसी पहिचान र सम्मानको मुद्दालाई गम्भीरताका साथ उठाउनु भयो ।
‘म यहाँ मधेसको नेता हुन होइन, बेटा हुन आएको हुँ,’ भन्दै उहाँले थप्नुभयो, ‘मेरो नसामा मधेसी आमाको रगत नहोला, तर मेरो छातीमा दुर्गानन्द झाको शाहस र आँखामा महेन्द्र नारायण निधिको सपना छ ।’
उहाँले अब सिंहदरबार छिर्दा मधेसीले आफ्नो धोती–कुर्ता लुकाउनु नपर्ने र गर्वका साथ ‘हम मधेसी छी’ भन्नसक्ने वातावरण काँग्रेसले निर्माण गर्ने उद्घोष गर्नुभयो ।
४. देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगन थापाले मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि उत्तेजना नभई सुझबुझपूर्ण सहकार्य र बलियो संस्थागत संरचना आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी रूपमा बढ्दै गएको पपुलिजमको लहरबाट नेपालको लोकतन्त्रलाई जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सभापति थापाले विश्वका परिपक्व लोकतान्त्रिक मुलुकहरू समेत अहिले ‘पपुलिजम’ (लोकप्रियतावाद) को सिकार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हेर्दाहेर्दै पपुलिजमको एउटा ठूलो लहर आएको छ । यसको आक्रमणबाट नेपालको लोकतन्त्रलाई हामीले जोगाउनसक्छौँ कि सक्दैनौँ भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’ उहाँले क्षणिक लोकप्रियताका लागि गरिने राजनीतिले लोकतन्त्रको मर्मलाई कमजोर बनाउनसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
५. देशभर हर्षोल्लासका साथ ग्याल्पो ल्होसार मनाइँदै
हिमाली समुदायमा विशेष गरी शेर्पा जातिले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष २१५१ औं ग्याल्पो ल्होसार (काठ ड्रागन वर्ष) मनाइएको हो । काठमाडौंको बौद्ध, स्वयम्भू र देशका विभिन्न हिमाली जिल्लाहरूमा रहेका गुम्बाहरूमा बिहानैदेखि पूजापाठ र विशेष कार्यक्रमहरू आयोजना गरिएका थिए । शेर्पा समुदायले नयाँ लुगा लगाउने, खाप्से र ग्याथुक जस्ता परम्परागत परिकारहरू खाने र एकापसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाएका छन् । यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीले समेत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना सन्देश जारी गरेका छन् ।
६. निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले विद्युत अनुमतिपत्रमा भएको झन्डै २ खर्ब रुपैयाँको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले पीपीएमा देखिएको अन्योल र नीतिगत सुधारको अभावले ऊर्जा क्षेत्र धराशायी हुन सक्ने चेतावनी दिनुभएको हो । अध्यक्ष कार्कीले सरकारले विद्युत उत्पादनका लागि अनुमतिपत्र (लाइसेन्स) दिए पनि उत्पादित बिजुली खरिद गर्ने सुनिश्चितता नगर्दा निजी क्षेत्रको ठूलो लगानी संकटमा परेको बताउनु भयो । हालसम्म झन्डै ३६ हजार मेगावाट बराबरका आयोजनाहरूले लाइसेन्स लिइसकेको र ती परियोजनाहरूको प्रारम्भिक प्रक्रियामा मात्रै करिब २ खर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले लाइसेन्स र पीपीए (विद्युत खरिद सम्झौता) बीचको ठूलो खाडललाई औंल्याउँदै ३६ हजार मेगावाटको लाइसेन्स जारी हुँदा जम्मा १२ हजार ५ सय मेगावाटको मात्र पीपीए हुनु दुःखद् रहेको बताउनु भयो ।
७. पपुलिजमले राष्ट्र निर्माण गर्दैन, हामी भिजन र योजनासहित आएका छौँः सचिन तिमल्सिना
नेपाली काँग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश नबन्ने दाबी गर्नुभएको छ । काठमाडौंमा बुधवार आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूहरु स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको बताउनुभएको हो । तिमल्सिनाले नेपाली काँग्रेसले युवाहरुलाई अवसर दिएको र आफू केवल ‘शक्ति’ प्राप्तिका लागि मात्र नभई ‘सेयर्ड एस्पायरड फ्युचर’ (साझा भविष्यको सपना) निर्माणका लागि आएको स्पष्ट पार्नुभयो । तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरुको विचार र काँग्रेसको लेगेसीले आफूलाई यो आँट दिएको बताउनु भयो । बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै उहाँले अहिले सोसल मिडियामा गाली आउँछ भनेर नेतृत्वहरु डराउनु नहुने बताउनु भयो ।
८. महिला इमर्जिङ टिम्स एशिया कप खेलेर फर्कियो नेपाली टोलीः प्रदर्शनमा सुधार भएको उपकप्तान महतोको भनाइ
महिला इमर्जिङ टिम्स एशिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । प्रतियोगितामा अपेक्षाकृत नतिजा नआए पनि नेपाली टोलीको प्रदर्शनमा उल्लेख्य सुधार देखिएको र यसले आगामी दिनका लागि ठूलो पाठ सिकाएको टोलीकी उपकप्तान पूजा महतोले बताउनु भयो । महतोकाअनुसार ठूला टोलीका प्रशिक्षकहरूले समेत नेपालको खेलमा आएको सुधारको प्रशंसा गरेका थिए । प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’ सँग ३० रनको र युएईसँग १८ रनको चुनौतीपूर्ण हार व्यहोरेको थियो भने भारत ‘ए’ सँग ७ विकेटको पराजय सामना गरेको थियो । हारका बाबजुद पनि टोलीको मनोबल उच्च रहेको र सबै खेलाडीले आफ्नोतर्फबाट उत्कृष्ट योगदान दिने प्रयास गरेको महतोले उल्लेख गर्नुभयो ।
९.सुदूरपश्चिममा रविको गर्जनः ‘कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैँका लागि बन्द हुने उद्घोष गर्नुभएको छ । धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई, नेतासँग ‘कन्ट्राक्ट’ गर्ने युगको शुरुवात भएको बताउनुभएको हो । लामिछानेले वर्षौंदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्र बनाएर अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभाये । जनतासँग पाँच वर्षको ‘कन्ट्रयाक्ट’ नेपालको इतिहासमा पहिलोपटक रास्वपाले जनतासँग लिखित कन्ट्रयाक्ट गरेको दाबी गर्दै उनले ५ वर्षको स्थायी सरकारको अपेक्षा गर्नुभयो । वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैँ पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उहाँको भनाइ छ ।
१०. नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा
नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरु उभिएको बताउनुभएको छ । बुधवार राजधानीमा आयोजिक कार्यक्रममा उहाँले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरु आएको बताउनुभएको हो । उहाँले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताउनु भयो । त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको उहाँको भनाई छ । उहाँकाअनुसार विगत १०–१२ वर्षमा जति विकास हुनुपथ्र्यो, त्यो हुन सकेन । तर अबका पाँच वर्ष खेर जान नदिने उहाँले प्रतिवद्धता जनाउनु भयो । सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने बताउनु भयो । देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उहाँको भनाई छ । उहाँकाअनुसार राजनीतिक दलहरुसंग विमति हुन्छन्, प्रतिष्पर्धा हुन्छ तर देश बनाउन सबै दल चाहिन्छन् ।
११. सवैको समान अस्तित्व र सहभागिताका लागि मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक ग¥यौँः प्रवक्ता चालिसे
नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सबैको समान अस्तित्व र सहभागिताका लागि काँग्रेसले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गरेको बताउनुभएको छ । पार्टी मुख्यालय सानेपामा बुधवार आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्नु आफैँमा सन्देश भएको बताउनुभएको हो । नेपाल सबैको साझा देश भएकाले हरेक प्रदेश र भूगोललाई समान रूपमा जोड्न आवश्यक रहेको उहाँले बताउनु भयो । सबै समुदायको समान अस्तित्व र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । जनकपुरबाट प्रतिज्ञापत्र सार्वजानिक गर्नुले अपनत्व र समावेशिताको सन्देश प्रवाह गरेको उहाँको भनाई छ । काठमाडौंबाट प्रतिज्ञापत्र सार्वजानिक गर्ने चलनलाई परिवर्तन गर्दै मधेसबाटै घोषणा गर्नु राजनीतिक सन्देशसहितको निर्णय भएको उहाँले बताउनु भयो । उहाँले पार्टी केवल संरचनागत रूपमा नभई सोच र व्यवहारमा समेत परिवर्तनको दिशामा अघि बढेको दाबी गर्नुभयो ।
१२. अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त र क्यारिबियनमा ३ वटा जहाजमाथि आक्रमण, ११ जनाको मृत्यु
अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीनवटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्डले जानकारी दिएको छ । कमाण्डले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीअनुसार पूर्वी प्रशान्त क्षेत्रको पहिलो जहाजमा चार जना, दोस्रो जहाजमा चार जना र क्यारिबियन क्षेत्रको तेस्रो जहाजमा तीन जनाको मृत्यु भएको हो । गुप्तचर निकायले ती जहाजहरू लागुऔषध तस्करीका लागि परिचित मार्गहरूबाट गइरहेको र तस्करी कार्यमा संलग्न रहेको पुष्टि गरेको कमाण्डले दाबी गर्नुभयो । यस आक्रमणमा अमेरिकी सेनालाई कुनै क्षति नभएको बताइएको छ । यद्यपि अमेरिकी प्रशासनले ती डुङ्गाहरू, कार्गो वा मारिएका व्यक्तिहरूका बारेमा आफ्ना आरोपहरू पुष्टि गर्ने कुनै प्रमाण भने उपलब्ध गराएको छैन ।
१३. उत्तर–पश्चिम पाकिस्तानमा सुरक्षा जाँच चौकीमा आक्रमणः ७ सुरक्षाकर्मी र ८ आतंककारीको मृत्यु
पाकिस्तानको उत्तर–पश्चिम प्रान्त खैबर पख्तुनख्वामा सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा सात सुरक्षाकर्मी र आठ आतंककारी मारिएको प्रहरीले बताएको छ । आतंककारीहरूले सो प्रान्तको बाजौर जिल्लामा रहेको सुरक्षा बलको जाँच चौकीलाई निशाना बनाएको स्थानीय प्रहरी अधिकारीहरूले सञ्चारमाध्यमलाई बताएका छन् । प्रहरी अधिकारीहरूकाअनुसार आतंककारीहरूको एक समूहले जाँच चौकीमा प्रवेश गर्ने प्रयास गरेका थिए । विस्फोटक पदार्थले भरिएको गाडी चौकीको पर्खालमा ठोक्काएका थिए । आक्रमणपछि सुरक्षा बलले आतंककारीहरू विरुद्ध पूर्ण रूपमा अपरेसन शुरु ग¥यो । जसमा आठ आतंककारी मारिएका र अन्य थुप्रै घाइते भएका प्रहरीले जनाएको छ । अन्य आतंककारीहरूको उपस्थिति समाप्त गर्न छिमेकी क्षेत्रहरूमा पनि अपरेसन विस्तार गरिँदैछ ।
१४. पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु
भारतको पश्चिमी राज्य राजस्थानको एक रासायनिक कारखानामा सोमबार आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्तिहरू जलेर घाइते भएका छन् । यो घटना राजस्थानको भिवाडी औद्योगिक क्षेत्रमा भएको थियो । मृत्यु हुने सबैजना उक्त कारखानाका कामदारहरू हुन् र हाल घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
१५. रुसको लेनिनग्राद क्षेत्रमा सैन्य प्रहरी भवन भत्किँदा तीन जनाको मृत्यु
रुसको लेनिनग्राद क्षेत्रको सेर्तोलोभो सहरमा एउटा सैन्य प्रहरी भवन भत्किँदा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । लेनिनग्रादका गभर्नर अलेक्जेन्डर ड्रोज्देन्कोले टेलिग्राममार्फत भवन भत्किएपछि जारी भग्नावशेष पन्छाउने कार्यका क्रममा मृतकहरू फेला परेको बताउनु भयो । घटनास्थलमा हाल विशेष मेसिनरीहरू प्रयोग गरी खोजी तथा उद्धार कार्य जारी राखिएको उहाँले जानकारी दिनुभयो ।
१६. विश्वकै पुरानो र राष्ट्रिय नश्ल मानिने कराबाख घोडाको संरक्षणमा अजरबैजान
अघजाबदी शहर नजिकै अवस्थित ‘काराबाग इक्वेस्ट्रियन कम्प्लेक्स’ कराबाख घोडाहरूको प्रजनन र प्रशिक्षणको लागि एक प्रमुख आधारको रूपमा सेवा गर्दै आएको छ । यस कम्प्लेक्सका निर्देशक एलमान कादिरोभकाअनुसार २०१८ मा सञ्चालनमा आएको यस केन्द्रमा हाल करिव ३३० शुद्ध जातका कराबाख घोडाहरू रहेका छन् । सन् २०२५ मा मात्रै यहाँ ५० वटा नयाँ बछेडाहरू जन्मिएका छन् ।
१७. स्पेनको एक अपार्टमेण्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु
उत्तर–पूर्वी स्पेनमा एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् ।क्याटालान क्षेत्रीय वारुण यन्त्र सेवाले जारी गरेको विज्ञप्तिअनुसार बार्सिलोना प्रान्तको मान्लेउ शहरस्थित एक पाँच तले आवासीय भवनमा अचानक आगलागी भएको थियो । अग्निनियन्त्रक टोलीले करिव आधा घण्टामा आगो निभाए पनि भवनको छतमा पाँच जना मृत अवस्थामा फेला परेका थिए । अन्य चार जनालाई सामान्य चोट लागेको छ । स्थानीय गस्ती टोलीको सहयोगमा प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ । अधिकारीहरूका अनुसार हाल मृतकहरूको पहिचान गर्ने कार्य भइरहेको छ ।
१८. अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २४ भदौको जसरी अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दाबी गर्नुभएको छ । बुधवार पार्टीले धनुषामा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो दाबी गर्नुभएको हो । उहाँले २३ भदौको जस्तो सुशासनको नारा लगाउँदैमा कुनैपनि नागरिकले राज्यको गोलीबाट पर्नुनपर्ने प्रतिज्ञा समेत गर्नुभयो । उहाँले जेन—जी विद्रोहको भावनालाई पार्टीले आत्मसाथ गरेको पनि बताउनु भयो । उहाँले संघीयतालाइए जोगाउँदै यसको थप प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले मधेस प्रदेशलाई केन्द्रमा राखेर संघीयतासम्बन्धी देखिएका सबै समस्याहरुको हल गर्ने प्रतिज्ञा समेत गर्नुभयो । उहाँले मधेशकै छोराले पढाएका व्यक्तिहरु विगतमा शक्ति केन्द्रमा पुगेको भएपनि पछिल्लो समय शिक्षाको गुणस्तर कमजोर हुँदै गएको उल्लेख गर्दै त्यसको सुधारका लागि आफू मधेस झरेको जिकिर गर्नुभयो । उहाँले मधेशको शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार्न पार्टीलाई बहुमतका साथ विजयी गराउन अपिल पनि गर्नुभयो ।
१९. देश र मधेस दुवै पीडामा छन्, वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गरौँः काँग्रेस उपसभापति शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभएको छ । बुधवार धनुषामा पार्टीले आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै किन हुन लागेको हो ? भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको विषम परिस्थितिमा कसलाई जिताउने भन्दापनि मुलुकलाई कसले सम्हाल्न सक्छ ? भन्ने मूल प्रश्न भएको उल्लेख गर्नुभयो । उहाँले मधेसलाई देशको अन्नको भण्डारका रूपमा व्याख्या गर्दै यहाँका किसानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले देश र मधेश दुवै पीडामा रहेको उल्लेख गर्दै समाधान खोज्न राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । काँग्रेसले विशेष महाधिवेशनमार्फत रुपान्तरण भएर आएको दाबी गर्दै उहाँले देशका पहाड, तराई र हिमाल क्षेत्रमा देखिएका समस्याको समाधानको प्रतिज्ञा गर्न मधेस आएको दाबी पनि गर्नुभयो ।
२०. रास्वपा परित्याग गरेकी मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेस प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । बुधवार पार्टीले धनुषामा आयोजित प्रतिज्ञा सभामार्फत उहाँ काँग्रेसमा प्रवेश गर्नुभएको हो । शर्मालाई पार्टी सभापति गगनकुमार थापाले खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले रास्वपा पुरानो काँग्रेस भइसकेको टिप्पणी गर्नुभयो । उहाँले विशेष महाधिवेशनबाट आएको नेतृत्व र नीतिको आधारमा काँग्रेस नयाँ र थप सुदृढ भएर आएको जिकिर गर्नुभयो ।
२१. संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसका ८ वटै जिल्लामा काँग्रेसलाई जिताउन निधीको अपिल
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै जिल्लामा पार्टीलाई जिताउन अपिल गर्नुभएको छ । बुधवार धनुषामा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता निधीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अवस्थामा मुलुकमा जननिर्वाचित सरकार र संसद नरहेको तथा सरकार जनताप्रति पूर्ण रूपमा जवाफदेही नभएको आरोप लगाउनु भयो । उहाँले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो । निधिले नागरिक अधिकारका लागि पार्टीले विगतदेखि संघर्ष गर्दै आएको स्मरण गराउँदै संविधानमार्फत सबै वर्ग, जातजाति र समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली काँग्रेस भएको दाबी गर्नुभयो ।
२२. आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छाँैः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफनो पार्टीले आसन्न निर्वाचनमा पाँच वर्ष स्थायी सरकार चलाउने म्याण्डेटको अपेक्षा गरेको बताउनुभएको छ । बुधवार सुदूरपश्चिमको धनगढीका आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सभापति लामिछानेले जनताको अधिकारलाई माग बनाएर चुनावी घोषणा पत्रमा बल्ढयाङ्ग्रे अक्षरले लेख्ने तर पूरा नगर्नेहरुको युगलाई आफूहरुले अन्त्य गर्न चाहेको समेत बताउनु भयो । सभापति लामिछानेले आम मतदाताले अब चुनावका बेला गरिएका वाचा पूरा नगर्नेहरुलाई आसन्न निर्वाचनमा सजाय दिनुपर्ने समेत बताउनु भयो । चुनावका बेला जनतासँग गरिएका वाचा पूरा नगर्ने विकृति अव नचल्ने सभापति लामिछानेको भनाई थियो ।
२३. सुुदूरपश्चिमका मतदातामाझ बालेनले भनेः भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताउनुभएको छ । बुधवार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । वरिष्ठ नेता साहले आफूहरु भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको जिकिर समेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीलार्य भोट नदिएपनि कामको लिष्ट दिए हुने वरिष्ठ नेता साहको भनाई थियो । सो पार्टीका प्रधानमन्त्रीका उम्मेदवार समेत रहनुभएका साहले आँखाबाट चश्मा खोल्दै आफ्नो आँखा नभई काम हेर्न पनि सबैलाई आग्रह गर्नुभयो ।
२४. विदेशी लगानी भित्राउन स्वचालित मार्ग विस्तार
सरकारले उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाएको छ । नेपाल सरकारले विदेशी लगानीलाई थप सहज र डिजिटल बनाउने क्रममा स्वचालित मार्गमार्फत विदेशी लगानी अनलाइन स्वीकृति दिने प्रक्रियालाई सहजीकरण गरेको हो । यसअघि स्वचालित मार्गबाट ५० करोड रुपैयाँसम्म मात्र विदेशी लगानी स्वीकृतहुन्थ्यो । तर हालैको मन्त्रिपरिषद् बैठकले यो सीमालाई हटाएको छ । अब जुनसुकै रकमको विदेशी लगानी पनि तोकिएका क्षेत्रमा स्वचालित मार्गबाट स्वीकृत हुनसक्छ । नयाँ व्यवस्थाले मुख्य सात वटा औद्योगिक क्षेत्रका कुल १ सय २ वटा व्यावसायिकक्षेत्रमा कुनैपनि सीमा बिना लगानी भित्राउने बाटो खोलेको छ । यसअघि २०८० असोज १५ गते प्रकाशित राजपत्रको सूचनाअनुसार स्वचालित मार्गबाट हुने विदेशी लगानीमा ५०करोड रुपैयाँको अधिकतम सीमा तोकिएको थियो ।
२५. आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित
देशभर ३२ हजार सहकारी, ९ खर्ब २३ अर्ब ७४ करोडबराबरको ऋण लगानी
मुलुकमा पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित भइरहेको सरकारले निष्कर्श निकालेको छ । अर्थमन्त्रालयले तयार पारेर कार्यान्वयनमा ल्याएको ५ वर्षे वित्तीय क्षेत्र विकास रणनीतिमा बैकिंङ प्रणालीमा तरलता अभाव र आर्थिक मन्दीका कारण सहकारीको ऋण असुली प्रभावित भएको निष्कर्ष निकालिएको हो । मन्दीले गर्दा बचतकर्तालाई समयमै रकम फिर्ता गर्न कठिनाइ भएको सरकारी ठम्याइ छ । वित्तीय क्षेत्र विकास रणनीतिमा सहकारीका सिद्धान्तहरू परिपालन नहुनु र व्यवस्थापनमा सीमित स्वार्थ समूहको प्रभावले गर्दा सुशासनको गम्भीर समस्या देखिएको उल्लेख छ । वचत तथा ऋण सहकारीहरूले खराब कर्जाको यथार्थ विवरण नदेखाउने र कर्जा नोक्शानीका लागि पर्याप्त कोष व्यवस्था नगर्दा वित्तीय जोखिम बढेको छ । संघीय प्रणालीमा नियामक निकायहरू तीन तहमा विभाजित हुँदा एकीकृत तथ्यांक प्राप्त गर्न र प्रभावकारी नियमन गर्न कठिनाइ भएको सरकारी निष्कर्ष छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij