२०८२ फाल्गुण ५ गते मंगलवार
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा बढ्दो खर्च र यसको व्यापारीकरणप्रति चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचन खर्चको व्यवस्थापन र निर्वाचनमा महिला सहभागिता सम्बन्धी निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्ठापूर्वक सम्पन्न गर्न सबै सरोकारवालाहरू इमान्दार हुनुपर्नेमा जोड दिएका हुन् ।
भण्डारीले नेपालको निर्वाचनमा धनको प्रभाव आजको मात्र समस्या नभई यसको जरा इतिहाससम्म पुगेको बताएका छन् । उनले नवराज सुवेदीको आत्मवृत्तान्तलाई उद्धृत गर्दै २०३६ सालको जनमत सङ्ग्रहदेखि नै नेपालको राजनीतिमा व्यापारीकरणको प्रवेश भएको स्मरण गराएका छन् ।
निर्वाचन खर्चलाई पारदर्शी बनाउन आयोगले बैंकिङ च्यानल अनिवार्य गरेको प्रष्ट पार्दै भण्डारीले ‘सेतो पैसा’ मात्र खर्च गर्न आग्रह गरेका छन् । कतिपयले बैंकमा खाता खोल्ने पैसा समेत नभएका उम्मेदवारका बारेमा प्रश्न उठाए पनि ‘कालो धन’ को प्रयोग रोक्न यो कदम चालिएको उनको भनाइ छ ।
आयोगले हालै जारी गरेको ६३ बुँदे निर्देशन र आचारसंहिता दलहरूको स्मरणका लागि मात्र भएको ल्लेख गर्दै उनले भने, ‘हामीले दलहरूलाई चेप्न खोजेको होइन, उहाँहरूकै सल्लाहमा बनाएको आचारसंहिता कार्यान्वयन गर्न खोजेको मात्र हो । तर कहिलेकाहीँ नेताहरू बैठकमा कडाइ गर्नुपर्छ भन्ने र व्यवहारमा भने आयोगले पेलेको गुनासो गर्ने दोहोरो चरित्रको मारमा हामी पर्ने गरेका छौँ ।’
निर्वाचनमा हुने फजुल खर्च कम गरी निर्वाचनलाई मितव्ययी बनाउन आयोग प्रतिवद्ध रहेको भण्डारीले उल्लेख गरेका छन् । आयोगसँग सीमित कानून भएपनि त्यसको सकारात्मक व्याख्या गर्दै असीमित जिम्मेवारी पूरा गर्न तयार रहेको उनको भनाइ छ ।
उनले पर्यवेक्षकहरूलाई पनि निष्पक्ष भएर काम गर्न र कुनै खास मनशाय राखेर गरिने ‘मिठो स्वर’ वाला पर्यवेक्षणप्रति सजग रहन आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij