२०८२ फाल्गुण ४ गते सोमवार
काठमाडौं । माघ २६ गते जिल्ला प्रहरी परिसर ललितपुरमा मानिस हराएको एउटा निवेदन पर्यो । ललितपुरस्थित एक अस्पतालका सञ्चालकसमेत रहेका चिकित्सकले निवेदन दिएका थिए ।
निवेदनमा लेखिएको थियो, ‘मेरो ४० वर्षीय छोरा निरेन पेसाले सिभिल इन्जिनियर जावलाखेलबाट भैँसेपाटी घर जान्छु भनेर हिँडेको तर निजी गाडीसहित घर नपुगी सम्पर्कविहीन छन् । खोजीकार्य गरी पाऊँ ।’
निवेदनमा निरेनको फोटो समेत समावेश थियो । निवेदनपछि प्रहरीले उनको खोजी तीव्र पार्यो ।
परिसर ललितपुरका प्रमुख एवं एसएसपी होबिन्द्र बोगटीले निरेनको खोजीका निम्ति एउटा टिम खटाए । उनले चढ्दै आएको बीएसी ७०९९ नम्बरको फर्चुनर गाडी ललितपुरको कहाँकहाँ गुडेको छ भन्ने प्रहरीले खोजी थाल्यो ।
त्यसनिम्ति जावलाखेल–एकान्तकुनादेखि उनको घर भैँसेपाटीसम्मका सडकका सीसी क्यामेरा फुटेज संकलन गरियो । निरेन गाडीचालक नै राखेर हिँड्ने गर्थे । माघ २६ साँझ भने उनले चालकलाई एकान्तकुनामा ओर्लन लगाएर आफैँले कार हुँइकाएको सीसी क्यामेरामा देखियो ।
प्रहरीले चालकमाथि सोधपुछ गर्यो । निरेनले घर जाने भन्दै एकान्तकुनामै ओर्लन भनेको र आफू त्यहीँबाट फर्किएको चालकले प्रहरीसमक्ष बताए । एकान्तकुनाबाट उनी चढेको कार भैँसेपाटी घर नगई कान्ति लोकपथबाट ललितपुरको भट्टेडाँडा हुँदै मकवानपुरतिर हुँइकिएको सीसी क्यामेरामा देखियो ।
प्रहरीले मकवानपुर निस्कने सडकखण्डका विभिन्न स्थानमा रहेका चेकपोस्ट र ठाउँठाउँका सीसी क्यामेराका फुटेजमार्फत अनुसन्धान गर्यो । निरेनको कार भट्टेडाँडा सडकखण्डबाट ‘क्रस’ भएको देखियो । तर, मकवानपुर पुगेको देखिएन ।
प्रहरीले कान्ति लोकपथको भिरालो सडकखण्डका विभिन्न ठाउँमा उनको गाडी दुर्घटना भएको हुन सक्ने आशंका गर्दै खोजी थाल्यो । दुई दिनसम्म खोजी गर्दा पनि कार दुर्घटना भएको फेला परेन ।
शुक्रबार (फागुन १) भने प्रहरीले कान्ति लोकपथका विभिन्न भिरालो तथा खोचहरूमा ड्रोन क्यामेरा प्रयोग गर्यो । र, निरेन चढेको कार सोही साँझ टीकाभैरव र माल्टागाउँ जोडिने ठूलो खोचको भीरमा अड्किएको देखियो ।
त्यसपछि परिसर ललितपुरबाट डीएसपी द्वारिका घिमिरेको टोली दुर्घटनास्थल पुग्यो । शुक्रबार राति मात्र प्रहरी कार अड्किएको ठाउँमा पुगेको थियो । तर, कारभित्र निरेन भेटिएनन् ।
प्रहरीले कारबाट निरेन उछिट्टिएको हुन सक्ने अनुमान गर्दै राति खोजी जारी राख्यो । कार भेटिएको दुई घण्टापछि प्रहरीले उनको शव उक्त स्थानबाट करिब ३०० मिटरमाथि भीरमा फेला पर्यो ।
शुक्रबार राति नै प्रहरीले शव पाटन अस्पतालमा ल्यायो । निवेदकलाई निरेन दुर्घटनामा परेको जानकारी गराएपछि आफन्त राति नै पाटन अस्पताल पुगेका थिए । निरेनको पोस्टमार्टमपश्चात् शनिबार (फागुन २) परिवारले शव बुझेर अन्त्येष्टि गरिएको छ । तर, जावलाखेलबाट घर जानेर भनेर हिँडेका निरेन किन कान्ति लोकपथ पुगे भन्ने खुलेको छैन ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, “उनी आफैँले कार लिएर कान्ति लोकपथको सडक जानुपर्ने कारण देखिँदैन । अझ चालकलाई समेत एकान्तकुनामै छाडेको देखिन्छ ।”
प्रहरीका अनुुसार, केही समयअघि दुर्घटनामै परेर निरेनको बहिनीको मृत्यु भएको थियो । छोराछोरीको मृत्युसँगै परिवार गहिरो शोकमा डुबेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij