२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर पहुँच पुगेको तथ्य सार्वजनिक भएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१\८२ को पूर्ण प्रतिवेदनले देशको ऊर्जा पहुँचमा उल्लेख्य सुधार आएको देखाएको हो।
तथ्याङ्क अनुसार प्रदेशगत रूपमा गण्डकी प्रदेश विद्युतीकरणमा सबैभन्दा अगाडि देखिएको छ जहाँ ९९.५ प्रतिशत घरमा बिजुली पुगेको छ भने कर्णाली प्रदेश ८०.८ प्रतिशतका साथ सबैभन्दा पछाडि रहेको छ।
सरकारले युनिसेफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरेको यस सर्वेक्षणले सञ्चार र प्रविधिको क्षेत्रमा पनि नेपालले ठूलो फड्को मारेको पुष्टि गरेको छ। प्रतिवेदनका अनुसार ९५.५ प्रतिशत नेपाली घरपरिवारमा टेलिफोन वा मोबाइल फोनको सुविधा पुगिसकेको छ।
बागमती प्रदेश सञ्चार सुविधामा सबैभन्दा अगाडि रहेको छ भने सुदूरपश्चिम प्रदेशमा यसको पहुँच तुलनात्मक रूपमा कम देखिएको छ। हाल नेपालका ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधा सहितका उपकरणहरू प्रयोग गरिरहेका छन्।
विशेषगरी महिला र बालबालिकाको अवस्था बुझ्न गरिएको यस सर्वेक्षणले मोबाइल फोनको स्वामित्वमा लैङ्गिक खाडल अझै कायमै रहेको देखाएको छ। १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरूमध्ये ८१.६ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ भने सोही उमेर समूहका ९०.४ प्रतिशत पुरुषहरू मोबाइल फोनको मालिक रहेका छन्।
नेपालमा सञ्चालन गरिएको यो चौथो बहुसूचक सर्वेक्षण हो जसले दिगो विकास लक्ष्यको अनुगमन र बहुआयामिक गरिबी मापनमा महत्त्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij