२०८२ माघ २७ गते मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता बढ्ने गरेको बताएका छन् ।
क्लिकमाण्डुद्वारा आयोजित ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले फ्रान्स र चीन जस्ता देशहरूमा भएको क्रान्ति तथा विद्रोहको उदाहरण दिँदै आर्थिक वृद्धिको प्रारम्भिक चरणमा स्थायित्व बढ्ने भएपनि वृद्धि बढ्दै जाँदा अवसरहरूको असमान वितरणले मानिसहरूमा असन्तुष्टि जन्माउने गरेको बताएका छन्।
गभर्नर पौडेलकाअनुसार नेपालमा पनि उदारीकरण नीतिका कारण केही व्यक्ति धनी भइरहेका छन्, तर यसलाई राम्रोसँग व्याख्या गर्न नसक्दा समस्या देखिएको छ । विशेष गरी नेपाल जस्तो देशमा नवप्रवर्तन आधारित सम्पती कमाइभन्दा लाइसेन्स र आयातमा आधारित तरिकाले धनी बन्ने परिपाटीले अस्वाभाविक देखिने गरेको उनको भनाइ छ ।
गर्भनर पौडेलले भने, ‘जतिखेर आर्थिक वृद्धिदरहरु अलिअलि शुरु हुनथाल्छ, त्यतिखेर धेरै ठाउँमा अस्थिरताहरु हुन्छ । यो अध्ययनले पनि देखाएको हो । आर्थिक वृद्धि बढ्दै गर्दा मान्छेहरुमा असन्तुष्टीहरु बढ्छ । अवसरहरु मैले पाइन, अर्कोले पायो की भन्ने हुन्छ । त्यसले गर्दा मान्छेमा विद्रोह हुन्छ । फान्स होस् या चिनमा भएको क्रान्तिमा त्यो देखिएको थियो । मान्छेहरुले आर्थिक ग्रोथको पहिलो चरणमा स्थायित्व बढ्छ भन्ने गरिएको छ ।
नेपालको आर्थिक उदारीकरण प्रक्रिया र यसले निम्त्याउने सामाजिक प्रभावका बारेमा सचेत हुन जरुरी रहेको उनको भनाइ छ ।गभर्नर पौडेलले आर्थिक वृद्धिलाई समावेशी बनाउन र अवसरहरूको न्यायोचित वितरण सुनिश्चित गर्न आवश्यक रहेको संकेत गरेका छन् । जसले गर्दा समाजमा विद्रोह वा अस्थिरताको जोखिम कम गर्न सकिने उनको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij