२०८२ माघ २६ गते सोमवार
काठमाडौं । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा खोटाङका एक कामदार बेपत्ता भएका छन् ।
माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राई हराएका हुन् ।
रत्न खानीभित्र पसेको समयमा विस्फोट भएको खबर आएको दुर्छिमका युवा नेता नेत्रविक्रम राउतले बताएका छन् । खानीमा भेटिएका शवहरू आगोले डढेर चिनिने अवस्था नभएको सँगै बस्दै आएका आफन्तले परिवारलाई जानकारी गराएका छन् । उनका अनुसार, रत्नको नागरिकता, डायरी र मोबाइल भने कोठामै छ ।
विस्फोटमा हालसम्म खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको पुष्टि भइसकेको छ । दर्जनौं कामदार कोईलाखानीको प्वालभित्रै फसेको अनुमान छ । फसेका कामदारको उद्धार कार्य जारी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij