२०८२ माघ २१ गते बुधवार
काठमाडौं । ईश्वरी कर्माचार्यको चौथो कृति 'जुनेली' कथासङ्ग्रहको उनकै चौरासी पूजाको पुनीत अवसर पारेर लोकार्पण गरिएको छ । लोमश वाङ्मय प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि थिए- स्रष्टा पदयात्राका महासचिव तथा आख्यानकार- गङ्गाप्रसाद भेटवाल ।
हरेक महिनाको चौँथो शनिबार आयोजना हुने उक्त कार्यक्रम चौरासी पूजाको अवसर पार्नुपर्ने हुनाले फरक बार र समयमा आयोजना गरिएको थियो ।
प्रमुख अतिथि भेटवालले 'जुनेली' कथासङ्ग्रहअत्यन्त समसामयिक कथाहरूको सँगालो रहेको बताउँदै साङ्गोपाङ्ग शल्यक्रिया गरे । उनले हरेक कथाले एउटा भूगोलको एउटा ज्वलन्त एवम् मार्मिक समस्याको उठान गरेको बताउँदै तिनलाई त्यही भूगोलको सापेक्षतामा पस्केको जिकिर गरे । उनले पात्रहरूको छनोट र नामसमेत निकै समसामयिक भएको दाबी गरे । परिष्कारको कसीमा पनि कर्माचार्य उत्कृष्टता हासिल गरेका सर्जक रहेको उनको कथन थियो । केही कथाको आद्योपान्त चिरफार गरेका भेटवालले तिनका एकाध परिवेश अलिक अमिल्दा पो भए कि भन्ने प्रश्न तेर्स्याए ।
लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे 'अटल'ले कर्माचार्यको 'जीवनको सेरोफेरो', 'गङ्गाजल', 'प्रत्यागत'देखि 'जुनेली' कथासङ्ग्रहसम्मका कृतिहरू आधा दर्जन वर्षमै तयार गरेको बताउँदै प्रकाशोन्मुख संस्मरणसङ्ग्रह थप परिष्कृत हुने अपेक्षा गरे । साढे सात दशकबाट लेखन थालनी गरेक गरेका कर्माचार्यको अजस्र ऊर्जा रहेको उत्तम कुमार कर्माचार्यले उक्त कार्यक्रममा सहभागी अभ्यागतहरूलाई स्वागत गरेका थिए ।
मासिक शृङ्खलाबद्ध कार्यक्रममध्ये अठारौँ कार्यक्रममा सञ्चारकर्मी तथा मुक्तककार जयराम बिडारीले धन्यवाद ज्ञापन गरेका थिए । माइन्ड प्लसका प्रबन्ध निर्देशक लोमश वाङ्मय प्रतिष्ठानका सचिव एवम् सो कार्यक्रमका सहजकर्ता नवीन पल्लवले कार्यक्रमको समापन गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij