२०८२ माघ १९ गते सोमवार
काठमाडौं । यातायात व्यवस्था विभागले २ लाख थान सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाईका लागि सुरक्षण मुद्रण केन्द्रलाई तथ्यांक पठाएको छ ।
जेन–जी आन्दोलन क्रममा आगलागीबाट ध्वस्त विभागले कार्तिक १२ मा ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाई गर्नेगरी केन्द्रसँग सम्झौता गरेको थियो । सम्झौताको तीन महिनासम्म अत्यावश्यकका लाइसेन्स मात्रै छपाई गर्दै आएको छ ।
‘अहिलेसम्म हामीले विदेश जाने वा अन्य अत्यावश्यकका करिब १७ हजार थान लाइसेन्स केन्द्रबाट छपाई गरेर वितरण गरिसकेका छौँ, सम्झौता गरेको १२ लाख थानमध्ये २ लाख १८ हजार सेवाग्राहीको तथ्यांक भने गत बिहीबार केन्द्रलाई पठाएका छौँ, केन्द्रसँग आवश्यक सबै सामाग्री छन् भन्ने सूचना छ ।सायद केही हप्तामै त्यो छापेर पठाउनुहुनेछ,’ यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले भने ।
सम्झौताको तीन महिना अझै बाँकी रहेकाले ९ लाख ८२ हजार थान लाइसेन्स पनि समयमै छपाई हुने खतिवडाको दाबी छ । जेन–जी आन्दोलन हुनु पूर्व विभागले प्रयोगात्मक परीक्षा पास गरिसकेका करिब २५ लाख चालकको लाइसेन्स छपाई गर्न सकेको थिएन । आन्दोलनको क्रममा प्रिन्टर मेसिन लगायत आगलागीका कारण क्षतिग्रस्त बनेपछि २ महिनासम्म काम हुन सकेको थिएन ।
क्षतिग्रस्त विभागले कार्तिक १२ मा पहिलो चरणमा १२ लाख थान लाइसेन्स ६ महिनाभित्र छपाई गर्नेगरी केन्द्रसँग सम्झौता गरेको विभागको भनाइ छ । तोकेको समयमा आर्थिक स्रोत जुटाउन नसकेका कारण करिब १३ लाखका लागि भने सम्झौता गर्न नसकेको बताइन्छ ।
देशभरको यातायात व्यवस्थापनको जिम्मा पाएको विभागले हालसम्म पनि अस्थायी रूपमै सेवा दिइरहेको उनी सुनाउँछन् ।
‘यातायात सेवाग्राहीको बाक्लो उपस्थिति हुने कार्यालय हो, तर आन्दोलनबाट ध्वस्त भएको सर्भर हालसम्म पनि अस्थायी रुपमा चलिरहेको छ, प्रतीक्षालयबाट सेवा दिइरहेका थियौँ गत महिना मात्रै भवन रेट्रोफिट गरेर सरकारी, गैरसरकारी संस्थाको सहयोगमा कम्प्यूटर लगायत सामाग्री जुटाएर सेवा दिइरहेका छौँ,’ उनले भने ।
उनका अनुसार स्थायी सर्भर स्थापित गर्न भौतिक मन्त्रालयमा फाइल पठाइसके पनि काम अघि बढेको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij