२०८२ माघ १९ गते सोमवार
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज बिहान बेदकोट नगरपालिका-८ मा रहेको पुर्खौली घर पुगेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उहाँको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिए ।
लेखकको काठमाडौंको नैकापमा रहेको घर, बेदकोट-८ मा रहेको पुर्खौली घर पूर्णरुपमा जलेर नष्ट भएको छ । महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मत गरी उनले आश्रय लिइरहेका छन् ।
पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीयसित साक्षात्कार गरेका छन् । स्थानीयवासीले गाउँमा भइरहेको सडक पूर्वाधारलगायत विकासका बारेमा जानकारी गराएका थिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन् । नेपाली कांग्रेसले डडेल्धुरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट दिएन ।
पार्टीले यहाँ पूर्वजिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तीव्रता दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij