Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

पाकिस्तानी सुरक्षा बल र बिएलए लडाकूबीच ४० घन्टा भिडन्त, कम्तिमा २०० जनाको मृत्यु

पाकिस्तानी सुरक्षा बल र बिएलए लडाकूबीच ४० घन्टा भिडन्त, कम्तिमा २०० जनाको मृत्यु


  • 372
    Shares

    पाकिस्तानी सुरक्षा बल र बिएलए लडाकूबीच ४० घन्टा भिडन्त, कम्तिमा २०० जनाको मृत्यु

    इरान र अफगानिस्तानसँग सीमाना जोडिएको पाकिस्तानको बलुचिस्तानमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकू समूहबीच ४० घन्टा भिडन्त भएको खुलेको छ।

    शुक्रबार र शनिबार दुई दिनसम्म सुरक्षा बल र लडाकूबीच ४० घन्टा भिडन्त भएको बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्तीले बताएका छन्। उनका अनुसार भिडन्तमा  १४५ जना लडाकू मारिएका छन्। सरकारी सुरक्षा बल र सर्वसाधारण गरी कम्तिमा ५० जना मारिएको पनि उनले बताएका छन्।

    पाकिस्तानी सुरक्षा बलले छोटो अबधिमा यति ठूलो संख्यामा लडाकू मारिएको यो पछिल्लो केही वर्षयताकै घातक कारबाही रहेको जनाएको छ।

    पाकिस्तानका  गृह राज्यमन्त्री तलाल चौधरीले आक्रमणकारीहरू सर्वसाधारणको भेषमा अस्पताल, विद्यालय, बैंक र बजारभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेको बताएका छन्। उनका अनुसार लडाकुहरूले सर्वसाधारणलाई मानव ढालका रूपमा प्रयोगसमेत गरेका थिए।

    प्रतिबन्धित पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले घटनाको जिम्मा लिएको छ। उसले यसलाई ‘हेरोफ’ वा ‘ब्ल्याक स्टर्म’ नाम दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    क्वेटा, ग्वादर, मस्तुङ र नोश्की जिल्लामा एकैसाथ आक्रमण हुँदा फ्रन्टियर कोरको मुख्यालयलगायत सुरक्षा प्रतिष्ठान निशानामा परेका थिए।

    कतिपय स्थानमा आत्मघाती आक्रमणको प्रयास र सडक अवरोधसमेत गरिएको थियो, जसपछि सेना, प्रहरी र लडाकू इकाइले ठूलो स्तरको प्रत्याक्रमण चलाएका थिए।

    क्वेटा शहरमा आक्रमणपछिको अवस्था झल्काउने गरी जलेका सवारीसाधन, गोलीले छेडिएका ढोका र पहेँलो टेपले बन्द गरिएका सडक देखिएका छन्। सुरक्षा व्यवस्था कडा पारिँदा आवागमनसमेत सीमित गरिएको छ।

    बीएलएले ८४ जना सुरक्षाकर्मी मारिएको र १८ जनालाई नियन्त्रणमा लिएको दाबी गरेको छ। सेनाले कुनै शहर वा रणनीतिक प्रतिष्ठान नियन्त्रणमा लिन खोजिएका प्रयास असफल पारिएको जनाएको छ।

    रक्षामन्त्री ख्वाजा आसिफले दुई आक्रमणमा महिला संलग्न रहेको र पछिल्ला दिनमा लडाकुहरूले श्रमिक तथा न्यून आय भएका समुदायलाई बढी निशाना बनाइरहेको बताए।

    बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो र गरिब प्रान्त हो। यो दशकौँदेखि स्वायत्तता र प्राकृतिक स्रोतमा बढी हिस्सा माग्दै आएको जातीय बलुच पृथकतावादी विद्रोहको केन्द्र रहँदै आएको छ। यसबीच पाकिस्तानी सेनाले आक्रमण भारत प्रायोजित भएको आरोप लगाएको छ।

    भारतले उक्त आरोप अस्वीकार गर्दै इस्लामाबादले आन्तरिक समस्याबाट ध्यान मोड्न खोजेको प्रतिक्रिया दिएको छ। अमेरिकाले आक्रमणको निन्दा गर्दै पाकिस्तानसँग ऐक्यबद्धता जनाएको छ। बीएलएलाई अमेरिकाले विदेशी आतंकवादी संगठनको सूचीमा राखेको छ।

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १०:५०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij