२०८२ फाल्गुण २९ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले सबै दल मिलेर एउटै आर्थिक दृष्टिकोण ल्याउन नसकिने बताएका छन् । आईतवार नेनाफिजले आयोजना गरेको कार्यक्रममा उनले वामपन्थी र लोकतान्त्रिक दलहरूको एउटै आर्थिक एजेण्डा नहुने बताएका हुन् ।
निजी क्षेत्रले लामो समयदेखि राजनितिक दलहरुलाई आर्थिक एजेण्डामा समान धाराणा बनाउन आग्रह गर्दै आएका छन् । तर रास्वपाका नेता खनालले विचार र वाद नै राजनीतिक दलहरूको मूल स्रोत भएकाले वामपन्थी र लोकतान्त्रिक दलहरूबीच एउटै आर्थिक एजेण्डामा सहमति हुन गाह्रो रहेको बताएका छन् ।
उनका अनुसार वामपन्थी दलहरूले आफ्नै दृष्टिकोणलाई न्याय हुनेगरी कार्यक्रम ल्याउनुपर्छ भने लोकतान्त्रिक दलहरूले पनि आफ्नो विचारअनुसार स्पष्ट एजेण्डा अघि सारेका छन्। मतदाताले दलको विचार र दृष्टिकोणकै आधारमा विश्वास गर्ने भएकाले विचारभन्दा बाहिर गएर बनाइने एजेण्डा कार्यान्वयनको चरणमा नजाने खनालको दाबी छ । उनका अनुसार सबै मिलेर एउटै दृष्टिकोण ल्याउन दबाब दिनु भनेको विचारप्रति न्याय नगर्नु हो ।
सामाजिक न्यायलाई पनि उत्तिकै महत्व दिने उनको भनाई छ । रास्वपा बहुलवादमा विश्वास गर्ने लोकतान्त्रिक शक्ति भएकोले यही आधारमा पार्टीका आर्थिक एजेण्डा तय हुने उनले स्पष्ट पारेका छन् । उनकाअनुसार पार्टीले घोषणापत्रमा रोजगारीलाई पहिलो प्राथमिकतामा राखेको छ । निजी क्षेत्रले करिव दुई दर्जन कानून खारेज वा संशोधन गर्नुपर्ने सुझाव दिएको उल्लेख गर्दै उनले रास्वपा त्यसप्रति प्रतिवद्ध रहेको बताएका छन्।
उनले भने, ‘सर्वदलिय अथवा सवैको सहमतिको कुरा ग¥यौँ, मलाई त्यो व्यवहारिक हैन की जस्तो लाग्यो । पार्टीहरुको स्रोत नै विचार हुन्, वाद हुन्, त्यसले गर्दा वामपन्थी दल र लोकतान्त्रिक दल मिलेर एउटै आर्थिक एजेण्डामा एकै खालको विचार ल्याउन गाह्रो हुन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij