२०८२ माघ १५ गते बिहिवार
१. मेरो प्राथमिकता मानसिक स्वास्थ्य र वैदेशिक रोजगारीमा गएका नागरिकको स्वास्थ्य होः मन्त्री गौतम
अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित ६४ औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएर आफू अघि बढिरहेको बताउनु भयो । वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्य, मातृशिशु मृत्युदरका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले प्रणालीको सुधार पनि आफ्नो मुख्य प्राथमिकता रहने जिकिर गर्नुभयो । मन्त्री गौतमले बीमा कार्यक्रम, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ बनाउने आफ्ने लक्ष्य रहेको बताउनु भयो ।
२. महिनाकै दुई अर्ब बढी रकम खर्च हुने स्थिति आएकाले बीमाको भुक्तानी गर्नसक्ने अवस्था देखिएनः मन्त्री गौतम
अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले बीमा कार्यक्रमका लागि महिनाको दुई अर्ब बढी रकम खर्च हुने स्थिति आएकाले रकम भुक्तानी गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ । गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चालु आ.व.मा बीमाका लागि छुट्याइएको रकम गत वर्षको ऋण तिरेर सकिएकाले चालु वर्षलाई बीमाका लागि बज्ेट नै नभएको बताउनु भयो । उहाँले बीमाका लागि विनियोजित बजेट भन्दा बढी रकम बीमामा दाबी हुन थालेको बताउनु भयो । असिमित खर्च हुँदै गएकाले बीमाको रिफर्म जरुरी रहेको उल्लेख गर्नुभयो । बीमालाई सुधार गर्न जरुरी रहेको बताउँदै मन्त्री गौतमले त्यसका लागि मन्त्रालयको काम गरिरहेको बताउनु भयो । उहाँले आफूले बीमाको रकम तत्काल भुक्तानी गराउन निर्देशन दिइसकेको पनि उल्लेख गर्नुभयो ।
३. भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकताः राष्ट्रिय सभा सदस्यहरु
राष्ट्रिय सभाका सांसदहरुले भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकता हुनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले गत भदौ २३ र २४ गतेको युवा पुस्ताको आन्दोलनले पनि भ्रष्टाचार निर्मूल गर्नुपर्ने र सुशासन कायम हुनुपर्ने माग राखेको र सबैको चाहना भ्रष्टाचार मुक्त देश रहेको बताए । उनीहरुले भ्रष्टाचार के हो ? घुस के हो भन्नेबारे सबैलाई जानकारी दिन र त्यसको परिभाषा गर्न जरुरी रहेको बताए । राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले सदाचार के हो ? भन्नेबारेमा परिभाषा गर्न जरुरी रहेको बताउनु भयो । उहाँले इमान्दारिताको बारेमा पनि सबैलाई बुझाउन पनि जरुरी रहेको बताउनु भयो । उहाँले पेशागत इमान्दारिता, सांस्कृतिक सदाचारबारे सबैलाई स्पष्ट रुपमा बुझाउन जरुरी रहेको बताउनु भयो । नीति बनाएर मात्रै नहुने भन्दै कार्यान्वयन मुख्य रहेको उहाँको भनाइ छ ।
४. निर्वाचनका लागि भारतद्वारा सुरक्षा सामग्री हस्तान्तरणः अर्थमन्त्री खनालद्वारा आभार व्यक्त
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बिहीवार अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो । कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । मन्त्री खनालले भारतलाई नेपालको ‘फस्र्ट रेस्पोन्डर’ का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको स्मरण गर्नुभयो ।
५. काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधिः विश्वप्रका शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरु कोही भदौ २३ र कोही भदौ २४ का रहेको भन्दै काँग्रेसको उम्मेदवार माघ १ को रहेको जिकिर गर्नुभयो । उहाँले सबै कुराको आत्मालोचना गरेर काँग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताउनु भयो । उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुत अहिलेको मुख्य मुद्दा भएको बताउनु भयो । उहाँले अहिले नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव भएको बताउनु भयो । उहाँले निर्वाचनमा हारजित कुनै नौलो कुरा भएको बताउनु भयो ।
६. ‘नेपाल–केन्द्रित यथार्थवाद’ः गगन थापाको नयाँ डक्ट्रिन
प्रसिद्ध समाजशास्त्री म्याक्स वेबर ९ःबह ध्भदभच० ले आफ्नो कालजयी निवन्ध ‘पोलिटिक्स एज अ भ्याकेसन’ (१९१९) मा राजनीतिक नेतृत्वको सूक्ष्म परिभाषा दिँदै भनेका छन् ‘राजनीति भनेको कडा फल्याकहरूमा प्वाल पार्ने ढिलो र कठिन प्रक्रिया हो, जसका लागि जोशको आगो र विवेकको शीतलता दुवैको सन्तुलन चाहिन्छ।’ यो भनाइ आज नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्रीको रुपमा अगाडी सारिएका गगन थापाको सन्दर्भमा अझ बढी सान्दर्भिक छ । गगनले विद्यार्थी राजनीतिबाट शुरु गरेर लोकतन्त्र आन्दोलन, सडक प्रदर्शन र संसदीय रोस्ट्रमसम्म आफ्नो जोशको जीवन्त प्रदर्शन गरेका छन् । २०८२ को नवौं महिनामा उनी नेपाली काँग्रेसको सभापति भए दशौँ महिनामा प्रधानमन्त्रीका रूपमा पार्टीले अगाडी सारेको छ । एघारौं महिनाको अन्तिम सातामा हुने प्रतिनिधि सभाको निर्वाचनबाट सिंहदरबारको कार्यकारी प्रमुख बन्ने दौडमा छन् ।
७. मन्त्रिपरिषद् बैठकको निर्णय ः राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत, प्रहरीको रासन स्केल बढ्यो
राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापान भ्रमणमा जानुहुने भएको छ । बिहीवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणन स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । अर्यालकाअनुसार राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी माघ १८–२१ गतेसम्म तीन दिने भ्रमणमा जान लाग्नु्भएको हो । बैठकले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
८. निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको निर्देशन
राष्ट्रिय सूचना आयोगले २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार बन्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ । आयोगले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाहलाई सत्य, तथ्य र यथार्थमा आधारित बनाउन सरोकारवाला सबै पक्षलाई दिर्नेशन दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता एवं सूचना आयुक्त गगन विष्टले सरोकारवालाले सार्वजनिक गर्ने निर्वाचनसम्बन्धी सूचना समयमै, सबैले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिनुभयो । उहाँले गलत र भ्रामक सूचनामाथि निगरानी तथा नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय बनाइराख्न समेत सरकारलाई सचेत गराउनु भयो ।
९.‘दलहरूले संविधानअनुसारको समावेशिता व्यवहारमा कार्यान्वयन गर्न सकेनन्’
राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र र समावेशिता अझै कमजोर रहेको सरोकारवालाहरूले औँल्याएका छन् । बुधवार काठमाडौंमा आयोजित ‘राजनीतिक दलमा आन्तरिक लोकतन्त्र र समावेशिताको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । संविधानमा व्यवस्था भएअनुसारको समावेशिता राजनीतिक दलहरु ले व्यवहारमा कार्यान्वयन गर्न नसकेको उनीहरुको भनाइ छ । कार्यक्रममा बोल्दै नेकपा (एमाले)का नेता विशाल भट्टराईले आफ्नो पार्टीले केन्द्रिय कमिटीमा ३६ प्रतिशत महिला सहभागिता सुनिश्चित दाबी गर्नुभयो । विधानले तोकेको ३३ प्रतिशतको सीमाभन्दा माथि महिलाको प्रतिनिधित्व गराइएको उहाँको जिकिर छ । यद्यपि नेपाली राजनीतिक दलहरूमा अपेक्षित स्तरको समावेशिता कायम हुन नसकेको उहाँको स्वीकारोक्ति छ ।
१०. ‘दयाराम खड्कालाई राज्यले आधिकारिक पहिचान दिनुपर्छ’
नालापानी किल्लामा लडेका कम्पनी कमाण्डर वीर योद्धा सुवेदार दयाराम खड्का लगायत युद्धका सबै वीर सपूतहरूलाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सरोकारवालाहरुले यस्तो बताउनुभएको हो । बैठकमा इतिहासविद् डा. श्रीरामप्रसाद उपाध्यायले खड्काको राष्ट्रिय योगदानको विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने बताउनु भयो । उहाँले नालापानीको लडाइँ नेपालको ऐतिहासिक गौरव भएको उल्लेख गर्दै युद्धमा प्रयोग भएका हतियारहरुलाई समेत संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गर्न समेत माग गर्नुभयो ।
११. काठमाडौंमा लुटपाट र आतङ्क मच्चाउने १० जना पक्राउ
प्रहरीले काठमाडौंमा रातीको समयमा लुटपाट र आतङ्क मच्चाउने १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । प्रहरीले बुधवारदेखि सर्च अपरेसन चलाएर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिनुभयो । उनीहरूले जेन–जी आन्दोलनपछि राति १२ बजेपछि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरुलाई लक्षित गरेर लुटपाट गर्ने गरेको थापाले बताउनु भयो । लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ रहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार तामाङ जेन–जी आन्दोलन अगाडी पनि बुढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा थिए ।
१२. अफ्रिकी पेन्गुइनहरू बर्ड फ्लुको जोखिममा
दक्षिण अफ्रिकाको तटीय क्षेत्रमा बसोवास गर्ने अति संकटग्रस्त अफ्रिकी पेन्गुइनहरूको अस्तित्वमा हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जाको प्रकोपले खतरा पैदा गरेको छ । सदर्न अफ्रिकन फाउन्डेसन फर द कन्जर्भेसन अफ कोस्टल बड्र्स’का अनुसार सेप्टेम्बर २०२५ देखि २३ वटा अफ्रिकी पेन्गुइनहरूमा यो रोगको संक्रमण देखिएको छ । जसमा कम्तीमा नौ वटा जंगली पेन्गुइनहरूको मृत्यु पुष्टि भएको छ । अत्यधिक दबाबमा रहेको जनसंख्याका लागि केही संख्यामा हुने क्षति पनि निकै महत्वपूर्ण हुन्छ । प्रजनन बस्तीमा ठूलो मात्रामा संक्रमण फैलिनु तिब्र गतिमा घट्दै गएको अफ्रिकी पेन्गुइनको जनसंख्याका लागि विनाशकारी हुनेछ । सर्वसाधारणलाई बिरामी वा मृत पेन्गुइनलाई नछुन र त्यस्ता दृश्यहरू तुरुन्तै संस्था वा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।
१३. अमेरिकी फेडरल रिजर्भद्वारा ब्याजदर यथावत, ३.५ देखि ३.७५ प्रतिशतको सीमा कायम
अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले सन् २०२६ को आफ्नो पहिलो नीतिगत बैठकमा ब्याजदरलाई ३.५ प्रतिशतदेखि ३.७५ प्रतिशतको दायरामा यथावत राख्ने निर्णय गरेको छ । बुधवार सम्पन्न फेडरल ओपन मार्केट कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सन् २०२५ को दोस्रो छ महिनामा बैंकले लगातार तीन पटक ब्याजदर कटौती गरेको थियो । कमिटीले जारी गरेको विज्ञप्तिमा आर्थिक गतिविधिहरू ठोस गतिमा अगाडि बढिरहेको र बेरोजगारी दरमा स्थिरताका संकेतहरू देखिएको उल्लेख छ ।
१४. अष्ट्रेलियाको मुद्रास्फीति ३.८ प्रतिशत पुग्यो
बुधवार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार अष्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा बढेर ३.८ प्रतिशत पुगेको छ । जसले अर्थशास्त्रीहरूको अपेक्षालाई उछिनेको छ । अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्कले उपभोक्ता मूल्य सूचकाङ्क नोभेम्बरसम्मको १२ महिनामा ३.४ प्रतिशत रहेकोमा डिसेम्बरमा बढेर ३.८ प्रतिशत पुगेको देखाएको छ । त्रैमासिक आधारमा सन् २०२५ को अन्तिम तीन महिनामा ऋएक्ष् ०.६ प्रतिशतले बढेको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले यसअघि अर्थशास्त्रीहरूले डिसेम्बर त्रैमासिकका लागि ०.७ प्रतिशत र वार्षिक ३.५ प्रतिशतको वृद्धिको अपेक्षा गरेको रिपोर्ट गरेको थियो ।
१५. कंगोका नागरिकहरू अझै पनि मारमा
गोमा पतन भएको एक वर्षपछि कंगोको यस प्रमुख शहरमा द्वन्द्वको असर अझै गहिरो देखिन्छ । यहाँका बासिन्दाहरू भन्छन्, सुरक्षा त केही हदसम्म फर्किएको छ तर आर्थिक अवस्था भने धराशायी भएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रको प्रमुख शहर गोमा मार्च २३ विद्रोही समूहको कब्जामा परेको एक वर्षपछि पनि द्वन्द्वले त्यहाँको दैनिक जनजीवनलाई प्रभाव पारिरहेको छ । सन् २०२५ जनवरी २७ को बिहान सबेरै, सरकारी सेनासँगको भीषण लडाइँपछि २० लाख जनसंख्या भएको उत्तर किवु प्रान्तको राजधानी गोमाका ठूला भागहरू एम २३ विद्रोहीहरूले आफ्नो नियन्त्रणमा लिएका थिए । विमानस्थल र बैंकहरूको लामो समयसम्मको बन्दले सहरलाई आर्थिक रूपमा एक्लो बनाएको छ । दैनिक लेनदेन र जीविकोपार्जन अहिले कठिन अवस्थामा छ ।
१६. चिनियाँ राजदुतद्वारा इरान विरुद्धको सैन्य दुःशाहसबारे चेतावनी
बुधवार एक चिनियाँ राजदुतले इरान विरुद्धको सैन्य दुःशाहसबारे चेतावनी दिँदै सबै पक्षलाई संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको पालना गर्न र अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन् । इरानको वर्तमान अवस्थाले व्यापक ध्यान आकर्षित गरेको छ । युद्धको छायाँ मडारिरहँदा मध्यपूर्वमा तनाव बढिरहेको संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि फु कोङले बताए । इरान एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउँदै यसका मामिलाहरू इरानी जनताले आफैंले स्वतन्त्र रूपमा निर्णय गर्नुपर्ने बताउनु भयो । चीनले इरानमा स्थिरता हेर्न चाहन्छ र समर्थन गर्ने उहाँको भनाइ छ । यसको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षाको समर्थन गर्ने बताउनु भयो ।
१७. ट्रम्पको चेतावनीः इरानतर्फ विशाल युद्धपोत जाँदैछ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रुथ सोसलमा एक पोस्ट गर्दै विमान वाहक पोत अब्राहम लिंकनको नेतृत्वमा रहेको र भेनेजुएला पठाइएको भन्दा ठूलो एउटा विशाल युद्धपोत इरानतर्फ जाँदै गरेको बताउनुभएको छ । इरान चाँडै वार्ताको टेबुलमा आउने विश्वास समेत व्यक्त गर्नुभयो । एउटा निष्पक्ष र न्यायोचित सम्झौता गर्ने उहाँको विश्वास छ । अमेरिकी युद्धपोत आवश्यक परेमा गति र हिंसाका साथ आफ्नो मिशन पूरा गर्न सक्षम रहेको चेतावनी दिनुभयो । ट्रम्पले जुन २०२५ मा इरानी आणविक केन्द्रहरूलाई निशाना बनाएको अपरेशन मिडनाइट ह्यामरको पनि सन्दर्भ उल्लेख गर्दै सम्झौता नभएमा अर्को आक्रमण धेरै खराब हुने चेतावनी दिनुभयो ।
१८. दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय
दक्षिण कोरियाका महाभियोग लागेका पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम कन–हीलाई घुस लिएको अभियोगमा २० महिनाको जेल सजाय सुनाइएको छ । बुधवार प्रत्यक्ष प्रशारण गरिएको अदालती कारबाहीका क्रममा उनलाई सो सजाय सुनाइएको हो । सोल केन्द्रिय जिल्ला अदालतले किमले प्रथम महिलाको रूपमा आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको ठहर गर्दै १२.८१ मिलियन वन (करिव ९,०१० अमेरिकी डलर) जफत गर्ने आदेशसहित कारागार चलान गर्ने फैसला गरेको छ । यद्यपि अदालतले उनलाई पुँजी बजार ऐन र राजनीतिक कोष ऐन उल्लंघन गरेको आरोपमा भने निर्दोष ठहर गरेको छ । सन् २०२२ मा युनिफिकेसन चर्चका अधिकारीहरूलाई विशेष सुविधा मिलाइदिने प्रलोभन देखाई उनीहरूबाट बहुमूल्य वस्तुहरू लिएको आरोप किममाथि पुष्टि भएको हो । शेयर बजारमा चलखेल (स्टक रिगिङ) मा किमको संलग्नता रहेको विशेष काउन्सिलको दाबीलाई भने अदालतले अस्वीकार गरेको छ । किमलाई सेयर मूल्यमा भएको हेरफेरबारे जानकारी भएपनि उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्न कठिन रहेको अदालतको टिप्पणी छ ।
१९. भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न
भारत र युरोपेली संघले नयाँ दिल्लीमा युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनको तीन दिने भ्रमणका क्रममा विभिन्न सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यस भ्रमणको मुख्य आकर्षण भारत–इयस मुक्त व्यापार सम्झौताको वार्ता सम्पन्न भएको संयुक्त घोषणा थियो । जसलाई सबै व्यापार सम्झौताहरूको जननी भनी वर्णन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा यी सम्झौताहरू र घोषणा गरिएका थिए । जसले यस व्यापार सम्झौतालाई दुई अर्थतन्त्रहरू बीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको बताउनु भयो । भारतको परराष्ट्र मन्त्रालयका अनुसार हस्ताक्षरित सम्झौताहरूमा सन् २०३० तर्फः एक संयुक्त भारत–युरोपेली संघ व्यापक रणनीतिक एजेन्डा र ग्रीन हाइड्रोजन टास्क फोर्सको स्थापना समावेश छन् ।
२०. रुसको बैकल तालमा कार पल्टिँदा एक चिनियाँ पर्यटकको मृत्यु
रुसको बैकल तालको जमेको सतहमा बुधवार पर्यटक बोकेको एउटा कार पल्टिँदा एक चिनियाँ पर्यटकको मृत्यु भएको छ । तास न्युज एजेन्सीकाअनुसार यो दुर्घटना रुसको इर्कुत्स्क ओब्लास्टस्थित बैकल तालको ओल्खोन टापु नजिकैको बरफमा भएको हो । इर्कुत्स्कस्थित चिनियाँ महावाणिज्य दुतावासले मृत्युको पुष्टि गर्दै अन्य चार चिनियाँ पर्यटक सामान्य घाइते भएको जनाएको छ । घटनाको जानकारी पाउने बित्तिकै महावाणिज्य दुतावासले तुरुन्तै आपतकालीन प्रतिक्रिया योजना सक्रिय गरी टुर गाइड, चिनियाँ पर्यटक र स्थानीय उद्धारकर्मीहरूसँग सम्पर्क गरेको थियो । यसका साथै दूतावासले स्वयंसेवकहरूलाई घटनास्थलमा खटाउन समन्वय गर्नुका साथै उद्धारकर्मीहरूलाई घाइतेहरूलाई उपचारका लागि खुझिर शहरको मेडिकल स्टेशनमा लैजान अनुरोध गरेको थियो ।
२१. रुसको शिवेलुच ज्वालामुखी एकै दिनमा दुई पटक विष्फोट
रुसको कामचटका प्रायद्वीपमा रहेको शिवेलुच ज्वालामुखी बुधवार दुई पटक विस्फोट भएको छ । जसका कारण शक्तिशाली खरानीको मुस्लो निस्किएको रूसी एकेडेमी अफ साइन्सेजको सुदूर पूर्वी शाखाको ज्वालामुखी र भूगर्भ विज्ञान संस्थानले जनाएको छ । पहिलो विस्फोट बिहानको समयमा भएको थियो । जसले समुन्द्री सतहबाट करिव ७ किलोमिटर उचाईसम्म खरानीको मुस्लो उडाएको थियो । दोस्रो विस्फोट मध्यान्ह भएको थियो । जसमा खरानीको बादल समुन्द्री सतहबाट ८ किलोमिटर उचाइसम्म पुगेको थियो । खरानीको मुस्लो ११० किलोमिटर पश्चिमतिर फैलिएको छ र प्रायद्वीपको भित्री भागसम्म पुगेको छ । जसले नजिकैका धेरै बस्तीहरूलाई खतरामा पारेको छ । स्थानीय बासिन्दा र पर्यटकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।
२२. विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु
भारतको पश्चिमी राज्य महाराष्ट्रका उपमुख्यमन्त्री ६६ वर्षीय अजित पवार सवार एक निजी विमान बुधवार पुणे जिल्लाको बारामती विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । मुम्बईबाट करिव २४९ किलोमिटर दक्षिण–पूर्वमा रहेको बारामती विमानस्थलमा अवतरण गर्ने प्रयास गर्दा विमान दुर्घटनामा परेको थियो । भारतको नागरिक उड्डयन नियामक निकाय, नागरिक उड्डयन महानिर्देशनालयकाअनुसार विमानमा सवार सबैको निधन भएको छ । मृत्यु हुनेमा उपमुख्यमन्त्री पवारका साथै दुई पाइलट, एक व्यक्तिगत सुरक्षा अधिकारी र एक सहयोगी रहेका छन् । विमान अवतरणका क्रममा नियन्त्रण बाहिर गई भुइँमा बज्रिएपछि तत्कालै आगो लागेको थियो । उपमुख्यमन्त्री पवार जारी ग्रामीण निकायको चुनावका लागि चुनावी ¥यालीलाई सम्बोधन गर्न मुम्बईबाट पुणे जाँदै हुनुहुन्थ्यो । दुर्घटनाग्रस्त विमान नयाँ दिल्लीमा आधारित भीएसआर भेन्चर्स प्राइभेट लिमिटेडको थियो । -न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij