२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई आफ्नो नेपाली र अङ्ग्रेजी नामको हिज्जेमा एकरूपता कायम गर्न निर्देशन दिएको छ ।
स्थानीय तहको नाम र हिज्जे फरक-फरक हुँदा सरकारी कागजात बनाउने क्रममा सेवाग्राहीले ठुलो सास्ती भोग्नुपरेको गुनासो आएपछि मन्त्रालयले यो कदम चालेको हो ।
मन्त्रालयको सङ्घीय मामिला शाखाले हालै एक परिपत्र जारी गर्दै स्थानीय तहहरूलाई १५ दिनभित्र आफ्नो नामको आधिकारिक हिज्जे पठाउन भनेको छ । विशेष गरी अङ्ग्रेजी नाम लेख्दा फरक-फरक निकायले फरक-फरक हिज्जे प्रयोग गर्दा सेवाग्राहीको विवरण बाझिने र त्यसले कानुनी तथा प्रशासनिक झन्झट निम्त्याएको मन्त्रालयको निष्कर्ष छ ।
मन्त्रालयले यो विवरण सङ्कलन गरिसकेपछि सबै सरकारी प्रणाली, डिजिटल पोर्टल र वेबसाइटहरूमा एउटै नाम र हिज्जे कायम गर्ने योजना बनाएको छ । स्थानीय तहहरूले तयार पारेको उक्त विवरण मन्त्रालयको सूचना प्रविधि शाखा, स्थानीय तहको ईमेल र आधिकारिक पोर्टल मार्फत बुझाउनुपर्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij