२०८२ पौष ८ गते मंगलवार
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बोम्जनको आगलागीमा परेर मृत्यु भयो। गत आइतबार दिउँसो ४ बजेतिर घरको भान्सामा भएको आगलागीमा परेर उनको घटनास्थलमै ज्यान गयो। बुहारीको शरीरमा आगो लागेको देखेपछि निभाउने कोसिस गर्दा सुशीलाका ससुरा दुर्गामान बोम्जन पनि घाइते भए।
मृतक सुशीलाको माइती पक्ष सरिता स्याङतानका अनुसार सुशीलाले सोही दिन दिउँसो माइतमा फोन गरेकी थिइन्। केही वर्षदेखि घर परिवारबाट पीडा खेप्दै आएकी उनले बिहान ९ बजेतिर आमा बुद्धिमाया घिसिङसँग रुँदै फोनमा कुरा गरेकी थिइन्।
‘आमा मलाई लिन आउनु। आज तँलाई मार्ने नै हो भनिरहेका छन्। मलाई डर लागिरहेको छ,’ सुशीलाको भनाइ उदृत गर्दै सरिताले भनिन्। उताबाट सुशीलालाई सम्झाउँदै बुद्धिमायाले भनिन्, ‘त्यस्तो केही हुँदैन। आज एकदिन बस। भोलि बुवालाई लिन पठाउँछु। त्यही पनि मामाले त्यस्तो गर्दैन। नडराउन।’ छोरीसँग कुरा भएपछि त्यसको भोलिपल्ट सुशीलालाई लिन जाने माइती पक्षको तयारी थियो।
यता, घरपरिवारको व्यवहारले अत्तालिएकी सुशीलाले सोही कुरा आफ्नी बहिनी सन्दी घिसिङसँग पनि सेयर गरेकी थिइन्। माइतमा दाइ भाइजूलाई पनि आफूलाई मार्छु भन्ने धम्की आइरहेको भन्दै फोनमा कुराकानी भएको सुशीलाकी भाउजू निर्मला स्याङतान बताउँछिन्। तर सबैजनाले सल्लाह गरेर भोलिपल्ट बिहानै लिन जाने तयारीमा थिए।
‘भाञ्जा भाञ्जीहरू स्कुल गएका थिए। बच्चाहरू छोडेर ल्याउने कुरा पनि भएन,’ निर्मलाकी बहिनी सरिताले भनिन्, ‘त्यही भनेर दिदी भिजानुहरू लिन आउनु भएन। दिउँसो त यस्तो घटना भएछ।’
सोही दिन दिउँसो विद्यालय गएका छोराछोरीलाई घर ल्याएर सुशीलाले खाजा खुवाइन्। खाजा खुवाइसकेपछि बच्चाहरूलाई ट्युसन पुर्याएर उनी घर फर्किन्। घरको भान्सामा पसेकी सुशीलाको शरीरमा एक्कासी आगो लाग्यो। सुशीलाकी नन्द मीना भान्सा कोठामै सुत्थिन्। आफू सुत्ने खाटमा बसिरहेकी मीनाले भाउजू पस्ने बित्तिकै उनको शरीरमा पेट्रोल खन्याइन्। हत्तपत्त लाइटर बालिन् र आफू बाहिर निस्किएर कोठाको बाहिरबाट चुकुल लगाइन्।
सुशीलाकी सासु मायारानीले माथिल्लो तलाको च्यानल गेटमा ताला लगाइन्। साढे दुईतल्ले घरमा बस्ने उनीहरूले पहिलो तला भाडामा दिएर दोस्रो तलामा बस्दै आएका थिए। छिमेकीहरूका अनुसार सुशीलाले हार गुहार गरेको सुनेपछि उक्त घरमा पुग्दा मेनगेटमा पनि ताला लगाइएको थियो।
सासु, नन्द र ससुरा घरको गल्लीमा थिए। छिमेकी पुग्ने बित्तिकै सुशीलाका ससुरा दुर्गामानले हत्तपत्त बुहारी भएको कोठाको ढोका खोले। सोही क्रममा सुशीलाको शरीरमा लागेको आगोको लप्काले दुर्गामानको हातमा पोलेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij