Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 596
    Shares

    आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गर्नुभएको छ । सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अन्तरिम सरकारमाथि अहिले जेन–जी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको बताउनु भयो । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरुले सहीरहेको बताउनु भयो । मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरु खेप्न आफूहरु तयार रहेको बताउनु भयो । उहाँले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभइ सबैभन्दा पहिला जनता हुने बताउनु भयो । राजनीतिक दलहरु जनताको सेवा गर्न बसेको उहाँको भनाइ छ । जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु पनि सच्चिन जरुरी रहेको बताउनु भयो । 

    २. विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत बनाउन सरकार प्रतिवद्धः गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । सोमवार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो । नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको गृहमन्त्री अर्यालको भनाइ छ । उहाँकाअनुसार पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हुनुपर्छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना र पहिला नै व्यवस्थित गरिएको श्रोत साधन अनिवार्य रहेको उल्लेख गर्नुभयो । 

    ३. मिराज ढुंगाना नेतृत्वको जेन–जी टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन

    जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले विरोध प्रदर्शन गरेको छ । सोमवार बिहान काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन–जी आन्दोलनको मर्म र युवा पुस्ताको भावनालाई आत्मसात गर्न नसकेको भन्दै उनीहरूले १० बुँदे मागसहित सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनसँगै माईतीघर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजबुत पारिए पनि प्रदर्शनरत केही जेन–जीहरुलाई प्रहरीले पक्राउ गरेको छ । ढुंगानाले सरकारले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने र सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायत माग अघि सार्दै आईतवार आन्दोलनको घोषणा गर्नुभएको थियो । 

    ४. मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे

    नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताउनुभएको छ । सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्रीहरुले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्ने भएको बताउनु भयो । अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिइएको उल्लेख गर्नुहुँदै निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने बताउनु भयो । उहाँले निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनुपर्ने बताउनु भयो । उहाँले निर्वाचनको वातावरण बनाउने काम सरकारको भएको बताउनु भयो । 

    ५. भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा

    नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भदौ २३ को घटना अकल्पनीय भएको र नेपालको इतिहासमा दुःखद् भएको बताउनु भयो । सडकमा आक्रोश व्यक्त हुनु स्वभाविक भएको पनि बताउनु भयो । उक्त घटनाबारे तत्कालीन सरकार र प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताउनु भयो । सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा भएको जिकिर गर्नुभयो । नैतिक जिम्मेवारी लिँदैमा कोही सानो नभइने उहाँको भनाइ छ । आफू पदमा भएको भए त्यसको जिम्मेवारी आफूले लिने उहाँको भनाइ छ । 

    ६. फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजतन्त्रले केही फरक पर्दैनः गगन थापा

    नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले समयमै निर्वाचन हुन्छ की हुँदैन भन्ने अनिश्चय पैदा भएको भन्दै निर्वाचन समयमै हुनुपर्ने बताउनु भयो । उहाँले परिणाम खोज्ने भन्दा पनि निर्वाचन गराएर नयाँ जनादेशसहित सरकार बनाउने कुरा प्रमुख रहेको बताउनु भयो । अहिले संविधान ट्रयाक भन्दा बाहिर गएको उल्लेख गर्नुहुँदै समयमै निर्वाचन गराएर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने अवस्था रहेको बताउनु भयो । हरेक पाँ वर्षमा निर्वाचन हुनुपर्ने कुरा २०१५ सालदेखि नै हुनुपर्ने भएपनि हुन नसकेको बताउनु भयो । संवैधानिक राजतन्त्रले कुनै फरक नपर्ने उहाँको भनाइ छ । 

    . निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताउनुभएको छ । सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको बताउनु भयो । भयरहित वातावरणमा सहभागिता, नेताहरुको, पार्टीहरुको, उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको बताउनु भयो । उहाँले अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव रहेको बताइएको र राजनीतिक दलहरुको प्रतिवद्धता मात्रै चाहिएको भए रास्वपा तयार रहेको बताउनु भयो । 

    ८. काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस

    राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा कुन्तीदेवी पोखरेलको नाम सिफारिस गरेको छ । पार्टीको सम्पन्न गत महाअधिवेशनमा सबैभन्दा बढी मतसहित केन्द्रिय सदस्यमा निर्वाचित पोखरेलको नाम प्रतिनिधि सभाका लागि औपचारिक रूपमा सिफारिस भएको हो । पार्टीभित्र बलियो जनआधार र आफ्नो क्षेत्रमा विश्वास प्राप्त नेतृका रूपमा स्थापित भएकी पोखरेललाई स्थानीय संगठन तथा कार्यकर्ताहरूको व्यापक समर्थनमा उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ । 

    ९.ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताउनुभएको छ । सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताउनु भयो । रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताउनु भयो । नेकपा एमाले अध्यक्ष एवं जेन–जी आन्दोलनको समयका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानून हुने बताउनुहुँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नेकुरा नभएको बताउनु भयो । आफूहरु कानूनका ज्ञाता भएकाले कानूनअनुसार अघि बढ्ने बताउनु भयो । आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी गर्नुभयो । 

    १०. १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा

    नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो घोषणा गर्नुभएको हो । आफू १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको र सभापति बन्ने दाबी गर्नुभयो । महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताउनु भयो । उहाँले अहिले क्रियाशिल सदस्यको कामहरु पठाउन ढिलाइ गरिरहेको बारे पनि आपत्ति जनाउनु भयो । उहाँले महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको बताउनु भयो । महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताउनु भयो । जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्ने उहाँको भनाइ छ । 

    ११. ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’

    प्रतिनिधि सभा सदस्य समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्दै नागरिक अगुवाहरुले यस्तो आशंक व्यक्त गरेका हुन् । फागुन २१ गतेका लागि अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको छ । तर समयमै निर्वाचन हुने कुरा जटिल रहेको उनीहरुले बताए । नागरिक अगुवा सूर्यप्रसाद श्रेष्ठले आन्दोलनले नयाँ सरकार बनाएको र सरकारको आफ्नो उत्तरदायित्व भएको बताउनु भयो । 

    १२. अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा

    अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै अर्को एक तेल ट्याङ्कर कब्जा गरेको बताउनुभएको छ । यो दोस्रो पटक हो जब अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर कब्जा गरेको छ । यसअघि डिसेम्बर १० मा पनि अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै एक तेल ट्याङ्कर कब्जा गरेको थियो । जसलाई भेनेजुएला सरकारले स्पष्ट चोरी र अन्तर्राष्ट्रिय समुन्द्री डकैतीको संज्ञा दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आउने–जाने सबै अमेरिकी प्रतिबन्धित तेल ट्याङ्करहरूको पूर्ण नाकाबन्दीको आदेश दिनुभएको थियो । 

    १४. रूस–अफ्रिका दोस्रो मन्त्रीस्तरीय सम्मेलन कायरोमा शुरु

    रूस–अफ्रिका साझेदारी फोरमको दोस्रो मन्त्रीस्तरीय सम्मेलन इजिप्टको राजधानी कायरोमा शुरु भएको छ । यस सम्मेलनमा रूस, ५० भन्दा बढी अफ्रिकी देशहरूका प्रतिनिधिहरू र विभिन्न क्षेत्रीय संगठनहरूको सहभागिता रहेको छ । इजिप्टका विदेशमन्त्री बाद्र अब्देलात्तीले राष्ट्रपति अब्देल फत्ताह अल–सिसीको तर्फबाट सम्मेलनको उद्घाटन गर्दै यो बैठकले रूस–अफ्रिका सम्बन्धको निरन्तर विकासलाई प्रतिबिम्बित गर्छ र साझा हितहरूको सेवा गर्दै अफ्रिकामा सुरक्षा, स्थिरता र विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य राख्छ । उहाँले अन्तर्राष्ट्रिय व्यवस्थाको सुधार न्याय र सन्तुलनका सिद्धान्तहरूमा आधारित हुनुपर्ने र वास्तविक बहुपक्षीयताको प्रतिबिम्ब हुनुपर्नेमा जोड दिनुभयो ।

    १५. लिबियाको राष्ट्रिय सङ्ग्रहालय १४ वर्षपछि पुनः खुला

    लिबियाको राष्ट्रिय सङ्ग्रहालय (रेड क्यासल सङ्ग्रहालय भनेर पनि चिनिने) डिसेम्बर १२, २०२५ मा भव्य समारोहका साथ पुनः खुला भएको छ । यो सङ्ग्रहालय २०११ मा मुअम्मर गद्दाफीको शासन ढलेपछि भएको जनविद्रोहका कारण १४ वर्षदेखि बन्द थियो । यो पुनःखुला लिबियाको लागि महत्वपूर्ण सांस्कृतिक क्षण हो । सङ्ग्रहालयमा प्रागैतिहासिक कालदेखि ओटोमन साम्राज्यसम्मका लिबियाली पुरातात्विक वस्तुहरूको विशाल सङ्ग्रह छ । यी वस्तुहरूले लिबियाको लामो इतिहास मात्र होइन, उपनिवेशवादविरुद्ध लिबियाली जनताको अटल संघर्षको भावनालाई पनि प्रतिबिम्बित गर्छन् । 

    १६. ‘विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य कार्यान्वयनमा अझै चुनौति’

    जल तथा मौसमजन्य विपद् न्युनिकरणका लागि पूर्वानुमानमा आधारित प्रतिकार्य कार्यान्वयनमा अझै चुनौति रहेको सरोकारवालाहरूले औँल्याएका छन् । विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यसम्बन्धी राष्ट्रिय कार्यढाँचा (मस्यौदा) माथि भएको छलफलमा उनीहरुले संघ, प्रदेश र स्थानीय तहबीचको भुमिकाको अस्पष्टता, स्रोतको अभाव लगायतका कारण पूर्वकार्य कार्यान्वयनमा चुनौतिपूर्ण रहेको बताएका हुन् । सरोकारवालाहरूले कार्यढाँचालाई व्यवहारिक र प्रभावकारी बनाउन संस्थागत समन्वय, स्रोत सुनिश्चितता र स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले विभागले बाढी, वर्षा र तापक्रमसम्बन्धी पूर्वानुमान प्रभावकारी रूपमा गरिरहेको बताउनु भयो । 

    १७. मिटरब्याज तथा लघुवित्त पीडितद्वारा राजधानीमा प्रदर्शन

    मिटरब्याज, लघुवित्त तथा वित्तीय संस्था पीडितहरुले राजधानीमा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका पिडितहरुले सोमवार काठमाडौंमा राजधानी मार्च गरेका हुन् । उनीहरुले लघुवित्त संस्था खारेज गर्नुपर्ने, मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, सबै नागरिकलाई भूमी उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् । आन्दोलनमा सहभागीहरुले सम्पूर्ण जनसमुदाय एक होओँ, फर्जि तमसुक खारेज गर, भूमी अधिकार सुनिश्चित गर, महिला हिंसा बन्द गर, आर्थिक शोषण अन्त्य गर, वित्तीय दलाल मुर्दावाद, पिडितको सम्पत्ति फिर्ता गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भूमि असमानता विरुद्ध पीडितहरुले संयुक्त रुपमा राजधानीमा मार्च तथा प्रदर्शन गरेका हुन् ।

    १८. जेन–जी प्रतिनिधि राउतले खोजिन् अन्तरजिल्ला मतदानबारे राजनीतिक दलहरुको धारणा

    जेन–जी प्रतिनिधि भावना राउतले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न तथा अन्तरजिल्ला मतदानको व्यवस्थाबारे राजनीतिक दलहरुको धारणा खोज्नुभएको छ । सोमवार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे गृहमन्त्रालयमा जारी सर्वपक्षीय छलफलमा बोल्दै उहाँले निर्वाचन आायोगले राजनीतिक सहमति नभएको जवाफ फर्काउने गरेको भन्दै अन्तरजिल्ला मतदानको विषयमा राजनीतिक दलहरुको धारणा खोज्नुभएको हो । अन्तरजिल्ला मतदान तथा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा निर्वाचन आयोगले राजनीतिक सहमति नभएको भन्दै पन्छिन थालेकोप्रति आपत्ति समेत जनाउनु भयो । 

    १९. देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने

    देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् । सोमवार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरुको संख्या ११४ पुगेको छ । गत २०७९ सालको निर्वाचनमा ८७ दलहरुले निर्वाचनमा भाग लिएका थिए । उहाँले दलहरुको संख्या बढेको कारण निर्वाचनमा प्रतिष्पर्धा बढ्ने अनुमान आयोगले गरेको जानकारी समेत दिनुभयो ।

    २०. निर्वाचन आयोगले दलहरुलाई भन्योः ‘शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्ने दायित्व दलहरूको पनि हो, सरकारमाथि शंका नगर्नुहोस्’ 

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनको लागि शान्ति सुरक्षाको सुनिश्चितता गरिसकेको भन्दै निर्वाचनबारे शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी सर्वपक्षीय छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढंगले सम्पन्न गर्ने दायित्व राजनीतिक दलहरुको समेत भएको बताउनु भयो । उहाँले निर्वाचन प्रयोजनका लागि विभिन्न प्रविधिको प्रयोगको नाममा समयमा निर्वाचन गर्न टालटुल गर्ने र उक्त कमजोरी निर्वाचन आयोगको टाउकोमा बोकाउने चेष्टा नगर्न समेत राजनीतिक दलहरुलाई चेतावनी दिनुभयो ।

    २१. निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता सह्रानीय रहेको भन्दै निर्वाचन सम्पन्न गर्न दलहरुलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताउनुभएको छ । सिंहदरबारस्थित सर्वपक्षीय छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राज्यलाई निकास र स्थायित्व दिन राजनीतिक दलहरूले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले संविधानविपरित सरकारले  पर निर्वाचन धकेल्ने प्रयास गरे आफूहरुलाई स्वीकार्य नहुने चेतावनी समेत दिनुभयो । उहाँले घोषित मितिमा निर्वाचन हुन नसके सरकारले निर्णय गर्ने वा पुरानै संसद पुनःस्थापना हुनेप्रति सचेत समेत गराउनु भयो ।

    २२. प्रतिनिधि सभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार

    प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल सिंहदरबारमा शुरु भएको छ । अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा छलफलमा निर्वाचन आयोगले प्रश्तुतिकरण दिनेछ । छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागि हुनुहुन्छ । प्रमुख दुई राजनीतिक दलहरु नेकपा (एमाले) र नेपाली काँग्रेसले संसद पुनःस्थापनाको माग गर्दै आएको छ । 

    २३. विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै

    सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन तथा अन्तरजिल्ला मतदानको व्यवस्थाका लागि विद्यमान चार वटा ऐन संशोधनको प्रक्रियामा रहेको जनाएको छ । सोमवार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे गृहमन्त्रालयमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले यस्तो जानकारी दिनुभएको हो । उहाँले सर्वोच्च अदालतको फैसलासहित विभिन्न पक्षबाट आएका मागका आधारमा निर्वाचनसम्बन्धी कानूनहरू संशोधन भइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन निर्वाचन ऐन, २०७३ र मतदाता नामावली ऐनमा आवश्यक संशोधन समेत गरिएको छ । 

    २४. प्रधानमन्त्रीलाई काँग्रेसले भन्योः निर्वाचनका लागि तत्काल शिर्ष नेताहरुसँग छलफल गर्नुस्

    नेपाली काँग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल प्रमुख दलका शिर्ष नेताहरुसँग संवाद गर्नुपर्ने बताएको छ । सोमवार सिंहदरवारमा प्रधानमन्त्री कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सो कुरा बताउनुभएको हो । उहाँले राजनीतिक  दल र त्यसका नेताहरुमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउनका लागि राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गर्न ढिलाई गर्न नहुने बताउनु भयो । 

    २५. राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ । सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा बोल्दै सो पार्टीका नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने बताउनुभएको  हो । उहाँले निषेधको राजनीतिले मुलुकलाई अघि बढाउनसक्ने अवस्था नभएकाले पनि आफ्नो पार्टीले मुख्य शक्तिहरुबीचको नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउनेगरी सो मार्गचित्र प्रश्तुत गरेको समेत बताउनु भयो । 

    २६. सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत

    नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ । सोमवार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले सो कुरा बताउनुभएको हो । उहाँले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताउनु भयो । सचिव बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाउनु भयो । 

    २७. सर्वोच्चलाई कानून व्यवसायीहरुको आग्रहः प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो निक्र्यौल गरियोस्

    कानून व्यवसायीहरुले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ । नेपाल बार एशोसिएशनको ७० औँ स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता हरिशंकर निरौलालगायतका कानून व्यवसायीहरुले उक्त मुद्दाको सुनुवाईलाई प्राथमिकतामा राखेर निक्र्यौलमा पु¥याउन सर्वोच्च अदालतलाई सुझाव दिनुभएको हो । नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहनुभएका घिमिरेले सर्वोच्च अदालतले उक्त  मुद्दालाई छिटो किनारा लगाउने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले मुलुकलाई संवैधानिक संकटबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने तर्क समेत गर्नुभयो ।

    २८. एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता

    मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल अन्तर्गत दुई महत्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन  तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ । साथै, सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा र नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरीवेक्षण सेवासम्बन्धी सम्झौता पनि गरिएको छ । सडक मर्मत आयोजनाअन्तर्गत सम्पन्न हुने यी परियोजनाले सडकको दिगो सुधार, यातायात सुरक्षामा वृद्धि तथा आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । 

    २९. ठूला आयोजनाले अझै गति लिन सकेनन्

    राष्ट्रिय गौरवका आयोजनाहरुका लागि सरकारले सबै खालका स्रोतसाधन उपलब्ध गराउँदै आएको छ । यस्ता आयोजनाहरुको कार्यान्वयन सुनिश्चित गर्न आवश्यक स्रोतसाधनको व्यवस्थापन गरिएको भएपनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने सन्तोषजनक छैन ।२४ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये उत्तरदक्षिण करिडोर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पाखरा अन्तर्राष्ट्रिय विमानस्थल बाहेक २० ओटा आयोजना समयमै सकिएका छैनन् । आज सोमबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय योजना आयोगका अधिकारीहरुले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१÷८२ मा आयोजनाको प्रगति सामान्य देखिएको छ । 

    ३०. सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन

    सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाललगायतका संरचना निर्माणाधीन छन् । समग्रमा २३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ ।
    पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालू रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ,३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाई भएको रक सेड निर्माण बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थालिने छ । –न्युज एजेन्सी नेपाल 

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - १९:०९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij