२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । कोरोना महामारीको सामना गर्न चीनले आकस्मिक सहयोगस्वरूप नेपाललाई थप ९ करोड रुपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।
कोरोना संक्रमितको उपचारका क्रममा अक्सिजनको हाहाकार भएपछि नेपालले तत्काल अक्सिजन प्लान्ट उपलब्ध गराउन गरेको आग्रहबमोजिम चीनले ५ मिलियन आरएमबी (करिब ९ करोड ८ लाख रुपैयाँ) आकस्मिक सहयोग दिने घोषणा गरेको हो ।
अर्थ मन्त्रालय र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) बीच गत शुक्रबार भएको भिडिओ कन्फरेन्समा नेपालले अक्सिजन प्लान्ट सहयोग गर्न आग्रह गरेको हो । त्यस क्रममा सिड्काका उपाध्यक्ष बोकिङले नेपाललाई थप ५ मिलियन आरएमबी सहयोग गर्ने घोषणा गरेका हुन् ।
यसअघि चीनले नेपाललाई ३ हजार ५ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर दिने घोषणा गरिसकेको छ भने यसअन्तर्गत पहिलो चरणमा ४ सय थान सिलिन्डर र १० थान भेन्टिलेटर ल्याइसकिएको छ । यस्तै यसअघि चीनले आफ्नो देशमा उत्पािदत ८ लाख डोज कोरोना खोप पनि सहयोग गरिसकेको छ ।
शुक्रबारको भिडिओ वार्तामा नेपालका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र चीनका तर्फबाट सिड्काका उपाध्यक्ष देङ बोकिङले नेतृत्व गरेका थिए । दुवै मुलुकका परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समेत प्रतिनिधित्व रहेको वार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी थिइन् ।
त्यस क्रममा राजदूत यान्छीले कोरोना महामारी नियन्त्रणका लागि चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij