Logo

२०८२ मंसिर २२ गते सोमवार

२०८२ मंसिर २२ गते सोमवार

नेपाली कांग्रेसलाई इतिहास जोगाउने सुनौलो अवसर

नेपाली कांग्रेसलाई इतिहास जोगाउने सुनौलो अवसर


  • 1.2K
    Shares

    नेपाली कांग्रेसलाई इतिहास जोगाउने सुनौलो अवसर
    images

    नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो पार्टी जेनजी आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ ।

    पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले यसको राजनीतिक भविष्यमाथि पनि प्रश्न उठिरहेको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेको पार्टी आज आफैं लोकतान्त्रिक अभ्याससंग कताकता तर्सिएको आभाष हुन्छ ।

    कांग्रेस यतिबेला संवेदनशील, निर्णायक र दिशानिर्धारण गर्नैपर्ने मोडमा उभिएको छ । यो मोड केवल नेतृत्व परिवर्तनको सतही बहसमा सीमित छैन यो पार्टीको संगठनात्मक अस्तित्व, वैचारिक निरन्तरता, राजनीतिक विश्वसनीयता र आगामी पुस्ताले खोजेको नयाँ शासन–संस्कृति अपनाउने वा नअपनाउने प्रश्नसँग पनि जोडिएको छ ।

    बितेका सात दशकको राजनीतिक यात्रामा अनेक आन्दोलन, उपलब्धि, उतार–चढाव र सत्ता व्यवस्थापनका जटिल मोड पार गर्दै आएको कांग्रेस आज आफ्नै संरचनात्मक कमजोरी, नेतृत्व हस्तान्तरणको असमर्थता, गुटगत दबाब र जनविश्वासमा आएको गिरावटका कारण आत्म–पुनरावलोकन गर्न बाध्य भए पनि मूल नेतृत्व यसप्रति अनुदार देखिन्छ ।

    ठूलै दवावकाबीचच पुसको अन्तिम साता महाधिवेशन गर्ने निर्णय भए पनि यो हुन्छ नै भन्ने ग्यारेन्टी अझै छैन । भावी नेतृत्वका आकांक्षा राख्नेहरुमध्ये पार्टी सभापति शेरबहादुर देउवाको आशीर्वाद र समर्थन पाउने भाग्यमानी को हो भन्ने अझै यक्किन छैन ।

    संस्थापत पक्ष र इतरपक्षबीचको वैचारिक विमतिकाबीच देउवाको उत्तराधिकारी देउवाकै सगोलका, उनकै खल्तीका नेता हुने हुन् वा नयाँ पुस्ता नै आउने हो गम्भरि चासो त छँदैछ यसका अतिरिक्त पार्टीभित्र वैचारिक दिशा, नेतृत्व चयन र संगठन पुनर्संयोजनको गहिरो प्रश्न पनि उठिरहेको छ ।

    कांग्रेसले इतिहासमा असंख्य राजनीतिक उपलब्धिहरू हासिल गरेको छ । तर विगतका गौरवमय अध्यायहरूले आजको राजनीतिक वास्तविकता ढाकछोप गर्न सक्दैनन् ।

    जनता विशेषतः युवा पुस्ताले कांग्रेसलाई आजको परिस्थितिमा केवल इतिहास बनाउने पार्टी होइन भविष्य निर्माण गर्ने पार्टीको रूपमा हेर्न चाहे पनि त्यसका आधारभूत पूर्वाधारहरू पार्टीभित्र पर्याप्तरूपमा देखिन सकेका छैनन् । यही अन्तरले कांग्रेसलाई पुनर्विचार, पुनर्गठन र पुनर्स्थापना गर्ने आवश्यकतामा ल्याइपुगेको हो ।

    नेतृत्व संरचनामा धेरै समयदेखि देखा परेको व्यक्तिवाद, निर्णय प्रक्रियाको केन्द्रिकरण, संगठनमा समान सहभागिताको अभाव र गुटगत प्रतिस्पर्धाबाट बढेको अविश्वास यी सबै समस्याहरूले कांग्रेसलाई थकित, अव्यवस्थित र वैचारिक रूपमा अस्पष्ट पार्टीका रूपमा प्रस्तुत गरिदिएको छ ।

    विशेषतः युवा पुस्ताले बारम्बार उठाउँदै आएको प्रश्न “कांग्रेसले किन नयाँ नेतृत्वलाई संस्थागत रूपमा उकास्न सकेन?” नेपालको राजनीतिक मनोविज्ञानकै एउटा जटिल समस्या हो । पार्टीभित्र नयाँ पुस्तालाई अवसर नदिने मात्र होइन उपलब्ध अवसरहरूलाई पनि गुटगत समीकरणले सीमित गरिदिएको आरोप लामो समयदेखि दोहोरिँदै आएको छ ।

    यही कारण कांग्रेसमा ‘नेतृत्वको पुनरावर्तन’ एक सामान्य परिघटना बन्न पुग्यो जसको प्रभाव निर्वाचन तयारी सरकारी व्यवस्थापन र जनसरोकारका विषयमा पार्टीको विश्वसनीयतामा प्रत्यक्ष पर्यो ।

    समकालीन राजनीति युवापुस्ताको चेतनाले निर्णायक रूपमा प्रभावित भइरहेको छ । सामाजिक संजाल शुरू भएको असन्तुष्टि आज सडक, क्याम्पस, कार्यस्थल र नीतिगत बहससम्म विस्तार भइसकेको छ । नयाँ पुस्ता विशेषतः जेनजी सजग, तथ्यकेन्द्रित, पारदर्शितामा आस्थावान र वैचारिक अस्पष्टता सहन नसक्ने प्रवृत्तिको रूपमा देखिन्छ । उनीहरू दलको ऐतिहासिक विरासत होइन आजको कार्यशैलीका आधारमा समर्थन वा विरोध तय गर्छन् ।

    यही कारण कांग्रेसभित्र पनि जेनजीको आह्वानले पार्टीको आन्तरिक संरचनालाई चुनौती दिइरहेको छ । यो पुस्ता पुराना अनुहारहरूको स्वतः पुनरावृत्ति होइन निष्पक्ष प्रतिस्पर्धाबाट उद्ने विषय आधारित राजनीति गर्ने आधुनिक प्रशासनिक र आर्थिक दृष्टिकोण राख्ने नेतृत्व चाहन्छ ।

    देउवा नेतृत्वको समग्र मूल्याङ्कन गर्दा उपलब्धि र कमजोरी एकैसाथ देखिन्छन् । उनको राजनीतिक यात्राले शान्ति प्रक्रिया, संविधान निर्माण, राजनीतिक संक्रमणको व्यवस्थापन र कठिन समयमा पार्टी तथा देशलाई सम्हाल्ने क्षमतामा गहिरो छाप बनाएको छ । तर, नेतृत्व संक्रमणको स्पष्टता नल्याएको, संगठनलाई समयअनुसार आधुनिकीकरण गर्न ढिलो गरेको र युवा पुस्तालाई निर्णायक तहमा ल्याउन नसकेको आरोप बराबर देखिन्छ । आज महाधिवेशनको संघारमा देउवा नेतृत्व परिवर्तनको चर्चा तीव्र हुनु केवल राजनीतिक बहस मात्र होइन यो पार्टीभित्र दह्रो संरचनात्मक रूपान्तरण चाहिएको संकेत पनि हो ।

    कांग्रेसका अन्य पदाधिकारीहरूको भूमिकाले पनि वर्तमान स्थिति निर्माणमा महत्वपूर्ण योगदान गरेको छ । उपसभापति, महामन्त्री, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिका सदस्यहरूको गतिविधि मूल्याङ्कन गर्दा स्पष्ट हुन्छ कि पार्टीभित्रको निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत भएको छ । धेरै संरचना औपचारिक रूपमा अस्तित्वमा भए पनि व्यवहारिक भूमिका कमजोर छ ।

    भातृ–संगठनहरू— नेविसंघ र तरुण दल आन्तरिक विवाद, नेतृत्वको पुनरावृत्ति र स्पष्ट कार्यदिशा अभावका कारण कमजोर बने यसले पार्टीलाई नयाँ ऊर्जा, नया विचार र निरन्तर राजनीतिक प्रशिक्षित जनशक्ति उत्पादन गर्ने क्षमताबाट वञ्चित गरिदियो । यही कारण कांग्रेसभित्र आएका धेरै नयाँ राजनीतिज्ञ समयमै उदाउन सकेनन् र उदाएका पनि प्रायः गुटगत समीकरणबाट आफ्नो अस्तित्व बचाइराख्न बाध्य भए ।

    यद्यपि कांग्रेसभित्र केही नेतृत्व समूहले हालका चुनौतीहरूलाई अवसरमा बदल्न सक्ने संकेत देखिएका छन् । तीमध्ये गगन थापा सबैभन्दा चर्चित नाम हो । उनको स्पष्ट, तथ्य आधारित राजनीतिक शैली, संसदमा प्रस्तुत हुने विश्लेषणात्मक क्षमता, सुशासन र सार्वजनिक जवाफदेहितामा आधारित धारणा र संस्थागत सुधारप्रतिको अडानले उनलाई केवल कांग्रेसभित्रका युवा नेताको रूपमा होइन राष्ट्रिय स्तरमा ‘भावी नेतृत्व’का रूपमा चिनाएको छ ।

    थापाभित्रको ऊर्जा, सामर्थ्य र नीतिगत समझले जेनजी पुस्तालाई नजिक बनाइदिएको छ र यही कारण धेरैले कांग्रेसको भविष्यको केन्द्र उनी हुनसक्ने ठान्छन् । तर गगन थापाको सम्भावित नेतृत्व मार्ग सजिलो छैन परम्परागत संरचना, गुटगत प्रभाव, नेतृत्व हस्तान्तरणमा हुने जटिलता र पार्टीभित्र अझै कायम रहेको शक्ति सन्तुलनका कारण उनी अगाडि बढ्ने प्रक्रिया चुनौतीपूर्ण बन्नसक्छ । उनले पार्टीभित्र संस्थागत सुधारको अभियानलाई दीर्घकालीन रणनीति बनाउन नसकेसम्म उनको लोकप्रियता मात्र नेतृत्व परिवर्तनका लागि पर्याप्त हुँदैन ।

    डा. शेखर कोइरालाको भूमिका पनि कांग्रेसको राजनीतिक संरचनामा अत्यन्त निर्णायक हुने देखिन्छ । उनी सुधारवादी धारका प्रतिनिधि, परिपक्व राजनीतिक उपस्थितिका साथ ‘ब्रिज फिगर’को रूपमा उदाएका छन् जो पुराना नेतृत्व र नयाँ पुस्ताबीचको संक्रमण सहज बनाउन सक्षम देखिन्छन् ।

    पार्टीभित्र वैचारिक सन्तुलन, संवाद, गुटगत विवाद समाधान र नेतृत्व परिवर्तनमा परिपक्व भूमिका खेल्न सक्ने व्यक्तित्वका रूपमा शेखर कोईराला कांग्रेसका संक्रमणकालीन समयका ‘स्थिर केन्द्र’ हुनसक्छन् । उनले पार्टीका दुवै धार अनुभवी नेतृत्व र आधुनिक सोच बोकेका युवा पुस्तालाई एकताबद्ध राख्न सके पार्टीले आगामी राजनीतिक चुनौती व्यवस्थित रूपमा सामना गर्नसक्छ ।

    कांग्रेसले अबका दिनहरूमा कुन बाटो लिन्छ भन्ने प्रश्न केवल संगठनात्मक निर्णय होइन देशको व्यापक राजनीतिक दिशासँग पनि जोडिएको छ । वर्तमान अवस्थामा कांग्रेसले पाँचवटा आधारभूत मोडेल अपनाउन सके मात्र पार्टी पुनर्जीवनको सुनिश्चित मार्गमा अघि बढ्नसक्छ ।

    पहिलो नेतृत्व हस्तान्तरणको स्पष्ट रोडम्याप अनुभवी नेतृत्वको प्रत्यक्ष अनुभव र नयाँ पुस्ताको क्षमताबीच सन्तुलन स्थापित गर्दै निष्पक्ष आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने संरचनागत परिवर्तन । दोस्रो, संगठनको डिजिटल आधुनिकीकरण सदस्यता, रिपोर्टिङ, निर्णय प्रक्रियादेखि नीति विश्लेषणसम्म आधुनिक व्यवस्थापन प्रणाली अवलम्बन, तेस्रो गुटबन्दी नियन्त्रण नियमित आचारसंहिता, स्वचालित निगरानी र वैचारिक समूहलाई संस्थागत सीमाभित्र राख्ने प्रणाली विकास, चौथो, नीतिगत स्पष्टता कांग्रेस आज कसका लागि राजनीति गर्छ भन्ने प्रश्नमा स्पष्ट वैचारिक र कार्यनीतिक दृष्टि आवश्यक छ किनकि पार्टीले इतिहासमा लोकतन्त्रका लागि लडे पनि समकालीन शासन शैलीमा उसको वैचारिक पहिचान स्पष्ट हुन बाँकी छ । पाँचौँ, जेनजी पुस्तालाई केवल ‘टोकन’ होइन वास्तविक नेतृत्वको ढोका खोल्ने संरचनागत सुधार भातृ संगठन पुनर्गठन ३० वर्षमुनिका युवालाई निर्णय तहमा प्रवेश र पार्टीका मुख्य अभियानहरूको प्रत्यक्ष नेतृत्वका लागि सहज मार्ग निर्धारण भए मात्र कांग्रेसको गौरवशाली विगत पुनः स्थापित हुनसक्छ ।

    नेपाली कांग्रेस अहिले “तीन पुस्ताको अदला बदली”को अत्यन्त संवेदनशील मोडमा छ । देउवा पुस्ताले संघर्ष र स्थिरताको विरासत बोकेको छ । शेखर कोईरालाको पुस्ताले संवाद, सुधार र सन्तुलन प्रस्तुत गर्छ । गगन थापासहितको नयाँ पुस्ताले आधुनिक राजनीतिक चेतना र भविष्यको नेतृत्वको आकांक्षा बोकेको छ । यी तीन तहबीच सहकार्य, सम्मान र रणनीतिक साझेदारी कायम गर्न सके कांग्रेस पुनः राष्ट्रिय राजनीतिक केन्द्र बन्नसक्छ । तर गल्ती दोहोरिने हो भने गुटबन्दी, अनुहार परिवर्तनको खेल र कार्य दिशाको अस्पष्टता दोहोरिने हो भने कांग्रेसबाट युवा पुस्ताको दूरी झनै बढ्दै जानेछ ।

    यसैले कांग्रेसका लागि आजको मुख्य आवश्यकता एकै वाक्यमा सीमित गर्नुपरे भने गल्ती स्वीकार गर्ने साहस, सुधारको दृढता र भविष्यको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने राजनीतिक चरित्र हो । नेतृत्व परिवर्तनको अहिलेको बहस केवल राजनीतिक समाचार होइन यो पार्टीको भविष्यको अस्तित्व र पुनर्जीवनको आधार स्तम्भ बन्नसक्ने ऐतिहासिक क्षण हो ।

    (लेखक बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १७:१७:०६ बजे
    प्रतिक्रिया

    रमेश कुमार बोहोरा

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij