२०८२ मंसिर २१ गते आइतवार
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन तोकिएको न्यूनतम उमेर नपुगेर वञ्चित हुने अवस्था आएका विद्यार्थीहरूको जन्मदर्ता सच्याउनका लागि राष्ट्रिय परीक्षा बोर्डले सबै माध्यमिक विद्यालयहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।
बोर्डले शुक्रबार सूचना जारी गर्दै शिक्षा नियमावली २०५९ को छैटौं संशोधन (मिति २०६७/१०/०९) अनुसार एसईईमा सहभागी हुन चैत्र मसान्तसम्ममा चौध वर्ष पूरा हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ। कतिपय विद्यार्थीहरूको जन्मदर्तामा उल्लिखित उमेर अवधि नपुग्ने गरी प्रमाणपत्र जारी भएकोले उनीहरू परीक्षाबाट वञ्चित हुने अवस्था आएको थियो।
यस सम्बन्धमा अभिभावक, विद्यालय र स्थानीय तहबाट बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा अनुरोध भएपछि समाधान खोजिएको हो।
नेपाल सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनको दफा ७२ अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा २५ (१) मा संशोधन गरेको छ। यस व्यवस्था अनुसार, कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन्।
बोर्डले विद्यालयहरूलाई सम्बन्धित स्थानीय तह र सो अन्तर्गतका स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट माग भएमा कक्षा १ मा विद्यार्थी भर्ना हुँदाको प्रमाणित अभिलेख उपलब्ध गराई जन्मदर्तामा उल्लिखित विवरण संशोधन गर्ने कार्यमा सहजीकरण गर्न अनुरोध गरेको छ। बोर्डको यो निर्णय मिति २०८२/०८/१५ गते अध्यक्षस्तरीय निर्णयबाट भएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij