२०८२ कार्तिक १७ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरिरहेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छलफलमा रहेको केन्द्रीय सदस्य शङ्कर भण्डारीले जानकारी दिए ।
भेलामा पार्टीको कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छन् । भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् । विश्वकर्मा पार्टीको प्रचार विभाग प्रमुखसमेत हुन् ।
केन्द्रीय सदस्य महरले कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले छलफल गरिरहेको जानकारी दिए । ‘जारी केन्द्रीय समितिलाई कसरी प्रभावकारी बनाउने रु कसैले विशेष महाधिवेशन भन्ने, कसैको नियमित महाधिवेशनको मितिमा कुरा नमिल्ने यस्तो सङ्कटबाट पार्टीलाई कसरी निकास दिने भनेर छलफल गरिरहेका हौँ,’ महरले रातोपाटीसँग भने ।
केन्द्रीय सदस्य भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा कसरी संकटको निकास निकाल्ने भनेर छलफलमा रहेको जानकारी दिए । ‘केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेको छ । त्यसबाट पार्टीलाई कसरी निकास निकाल्ने भनेर साथीहरूबिच छलफल गरिरहेका छौँ,’ भण्डारीले भने ।
आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिने तयारी पनि भेलाबाट गरिएको सहभागीहरूले बताएका छन् ।
केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गर्न नेतृत्वलाई सुझाउने तयारी उनीहरूको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij