२०८२ कार्तिक १२ गते बुधवार
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वलक्षित सञ्चालन गरिएको सहुलियत मूल्य पसल कात्तिक ३० गतेसम्म लागि निरन्तरता दिने जानकारी गराएको छ । चालु आव २०८२/८३ को चाडपर्वलक्षित सहुलियत मूल्य पसल गएको भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन गर्ने गरी प्रथम चरणको कार्यक्रम निर्धारण भएकोमा खाद्य कम्पनीले उक्त समयसीमा बढाएर कात्तिकभर निरन्तरता दिने जानकारी गराएको हो ।
खाद्य कम्पनी कार्यकारी अधिकृत रमेश आचार्यले खाद्य कम्पनीलाई चाडपर्वमा उपभोक्तालाई सहुलियत दिएबापत शोधभर्ना गर्ने भनेको रकममा एक तिहाइ (६६ लाख रुपियाँ) बाँकी रहेकाले कात्तिकसम्मका लागि निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार सरकारले यस वर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य कम्पनीलाई दुई करोड रुपियाँ शोधभर्ना गर्ने भनेको थियो । उक्त रकम बचत रहेसम्म चाडपर्व सकिएपछि पनि सहुलियत मूल्य पसललाई निरन्तरता दिने यसअघि नै निर्णय भएको कार्यकारी अधिकृत आचार्यले जानकारी दिए ।
कम्पनीले उपत्यकासहित देशका ४५ जिल्लाको १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले भदौ ३० गतेदेखि सञ्चालनमा ल्याएका सहुलियत मूल्य पसलबाट प्रतिकेजी/प्रतिलिटरमा पाँचदेखि १० रुपियाँसम्म छुट दिँदै आएको छ ।
कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुट दिएको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी १० रुपियाँ छुटको दिएको कम्पनीले जनाएको छ ।
साल्ट टेडिङको छुट सकियो
साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकासहित देशभर ४२ स्थानमा सुपथ मूल्य पसल कात्तिक १० गतेदेखि बन्द भएका छन् । कर्पोरेसनले बागमती प्रदेशमा १४ स्थान र तीन मोबाइल भेनसहित गरी १७ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेको थियो ।
कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट दिएको थियो । कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्रबाट छुटमा वस्तु उपलब्ध गराइएको जानकारी दिए । कर्पोरेसनले सञ्चालन गर्ने सहुलियत मूल्य पसलका लागि सरकारबाट एक करोड रुपियाँ शोधभर्ना गरिने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij