२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौं । जाडोयाम सुरु भएसँगै हिमपातको जोखिम बढेकाले म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रहरूमा सतर्कता अपनाउन सूचना जारी गरेको छ।
जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार देशका विभिन्न भू-भागमा कात्तिक १० देखि १२ गतेसम्म सामान्यदेखि हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
म्याग्दी जिल्लाभर आजदेखि पानी परिरहेको र अन्नपूर्ण बेसक्याम्पमा हल्का हिमपात सुरु भइसकेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
जिल्लाका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावित क्षेत्र भएकाले प्रशासनले स्थानीय बासिन्दा, पर्यटक, पर्यटन व्यवसायी र पदयात्रीहरूलाई आफू रहेको र यात्रा गर्ने क्षेत्रको मौसमी अवस्था र बसोबासको व्यवस्था ख्याल गरेर सुरक्षित रहन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले आज बेलुकादेखि कात्तिक १४ गते बेलुकासम्म अन्नपूर्ण बेसक्याम्प जान पूर्ण रूपमा रोक लगाइएको जानकारी दिएको छ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij