२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएका थिए । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न आरोपमा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोम गुरुङ,राजीव गुरुङ, युनिक श्रेष्ठ सुमित तितुङ र दीपक मगर रहेका छन् । उनीहरु भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंका हिरासतमा छन् । उनीहरुले कुटपिट गरेर महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको छ ।
महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए । काठमाडौं जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक रहेका छन् ।
काभ्रेको रोशी गाउँपालिका घर भएर बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका-७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान उत्तम थापालाई कुटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न रहेर पछि पक्राउ परेकाहरू विरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij