२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । सात वर्षदेखि बाबुलसँग प्रेम सम्बन्धमा रहेकी नितु पौडेल उनै बाबुलको अनामनगरमा रहेको स्टुडियोमा आगो लागेर घाइते भएको अवस्थामा अस्पताल पुर्याइएको थियो। उनको उपचारकोक्रममा शुक्रवार मृत्यु भएपछि शनिवार दाह संस्कार गरियो।
लोकगीतबाट आधुनिक गीतमा सफल हुँदै आएकी उनको दाह संस्कारकोक्रममा पशुपति आर्यघाटमा गायक तथा गायिकाहरूको निकै पातलो उपस्थिति थियो। आर्यघाटमा रहेका पौडेलको परिवारले कात्तिक १ गते बाबुलले विवाहको टुंगो लगाउनु पर्यो भनेर स्टुडियोमा बोलाएपछि उनी गएकी र पछि आफैँले आगो लगाएर जलेर घाइते भएकाले अस्पताल लगिएको खबर पाएको बताए।
अस्पताल लैजाँदासम्म बोल्न सक्ने अवस्थामा रहेकी उनले “बाबुल, कान्छा मलाई नछाड ल” भनिरहेको र उनको अवस्था बिग्रँदै गएपछि चिकित्सकहरूबाट सम्भव भए भारत लैजान सुझाव आएपछि बाबुलसँग सम्पर्क गर्दा सम्पर्कमै नआएको परिवारका सदस्यले बताएका छन्।
बाबुलसँग उपचारका विषयमा कुरा गर्न खोज्दा उल्टै साथीहरू लगाएर ब्ल्याकमेल गरेको भन्ने आरोप लगाएको, बाबुलको दाइ अस्पतालमा आएर उपचारमा सहयोग गर्ने बताए पनि कुनै सहयोग नगरेको पौडेल परिवारले बताए।
उल्टो शंकर नाम गरेका व्यक्तिले फोन गरेर परिवारको सदस्यलाई धम्क्याएको र नितुले अन्तिम पटक भेट्न चाहेको भन्दा पनि बाबुल अस्पताल नआएको नितुको बहिनीले बताइन्।
“मेरो दिदी बोल्न सक्ने अवस्थामा हुँदा पनि बाबुल मलाई नछाड ल भनिरहनु भएको थियो,” नितुको बहिनीले भनिन् “अन्तिम पटक भेट्न बोलाउँदा उनको साथीले अहिले तिहार मनाइरहेको छु, पछि ल्याउँला भने।”
चिकित्सकहरूले शरीरको अधिकांश भाग जलेकाले छाला ट्रान्सप्लान्ट गर्नु पर्ने र नेपालमा छाला बैंक नभएकाले थप उपचारका लागि सम्भव भए भारतमा लैजान सुझाव दिए पनि परिवारको आर्थिक कमजोरीका कारण भारत लैजान अप्ठ्यारो भएको उनीहरूको दाबी छ। आगोका कारण उनको श्वास नलीमा गम्भीर प्रभाव परेकाले अवस्था गम्भीर बनेको थियो। पछि उपचारकैक्रममा शुक्रवार उनको निधन भएको थियो।
गायिका पौडेलको परिवारका अनुसार दुवै सात वर्षदेखि प्रेम सम्बन्धमा थिए। एक वर्ष अगाडिबाट भने बाबुलको परिवारका सदस्य, विशेष गरेर दिदीहरूले फोन र मेसेजबाट अनेक आरोप लगाएर मानसिक तनाव दिने गरेका थिए। बाबुले पनि पछि परिवारले नमानेको भन्दै विवाह गर्न अस्वीकार गरेका थिए।
“सात/आठ वर्ष मेरो दिदीलाई खेलायो, अन्तिममा पुतली जसरी जलाएर मार्यो” आर्यघाटका गायिका पौडेलको बहिनी भन्दै थिइन्। पौडेल परिवारले बाबुल विरुद्ध प्रहरी वृत्त सिंहदरबारमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिइसकेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij