Logo

२०८२ कार्तिक ४ गते मंगलवार

२०८२ कार्तिक ४ गते मंगलवार

विपिनको पोष्टमार्टम गरिएन, आज महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै

विपिनको पोष्टमार्टम गरिएन, आज महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै


  • 456
    Shares

    विपिनको पोष्टमार्टम गरिएन, आज महाकाली  नदी  किनारमा अन्त्येष्टि गरिँदै
    images

    काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिअघि जाेशीकाे शवयात्रा बिहान ८ बजे भीमदत्त  नगरपालिकाबाट सुरु भई महाकाली नदीकाे भुजेला घाट लगिने छ ।

    उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्‍याइएको थियो । राति अबेर घरमा शव ल्याइपुर्‍याइएकाले आज बिहान महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गर्न लागिएको हो ।

    विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो । तिहारको बेला विपिनको शव घर आइपुग्दा सन्नाटा छाएको छ ।

    ‘बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुने आशामा थिइन्,’ परिवारका सदस्य किशोर जोशीले भने, ‘लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।’

    बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिकता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेकी जोशी परिवारको भनाइ छ ।

    गरिएन पोष्टमार्टम

    इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको हो ।

    त्यसैले उनको मृत्युको कारण पत्ता लागिसकेकाले परिवारका सदस्यले पोष्टमार्टम नेपालमा गर्न नपर्ने बताएको परराष्ट्र मन्त्रालय स्रोतले भनाइ छ ।

    दुई वर्षअघिसुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए ।

    उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो ।

    प्रकाशित मिति :कार्तिक ४ २०८२ मंगलवार - ०७:३६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij