२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुरको अभियुक्त रहेको भेटिएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो ।
उक्त टोलीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग समेत गरेको छ । उनको टिमले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई घरबाटै थुत्ने अभिव्यक्ति दिएको समेत भिडियो फुटेजमा देखिन्छ । शाही विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
श्रीकृष्ण फुयाँलले दिएको जाहेरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जले उनी विरुद्धको अनुसन्धान अघि बढाएको थियो । महाराजगञ्ज वृत्तले शाहीलाई ठगी मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको थियो । विभागमा दर्ता भएको मुद्दा टुङ्ग्याएर उनलाई प्रहरीमा उपस्थित गराइएको थियो ।
प्रहरी वृत्त महाराजगञ्जमा दर्ता भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त उनी ३० हजार धरौटी बुझाएर छुटेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताएका छन् । उनी विरुद्ध प्रहरी वृत्त बौद्धले पनि बैंकिङ कसुर मुद्दा चलाएको थियो ।
जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही शितल निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij