Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

गुण्डुमा गरेको सम्बोधनमा परिवर्तनको पूरै विपक्षमा उभिए ओली , यस्तो छ मुख्य हाइलाइट

गुण्डुमा गरेको सम्बोधनमा परिवर्तनको पूरै विपक्षमा उभिए ओली , यस्तो छ मुख्य हाइलाइट


  • 771
    Shares

    गुण्डुमा गरेको सम्बोधनमा परिवर्तनको पूरै विपक्षमा उभिए ओली , यस्तो छ मुख्य हाइलाइट
    images

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन्।

    जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओली त्यसयता गुण्डुमा बस्दै आएका छन्। कार्यकर्ता भेलादेखि पार्टीको कार्यक्रम पनि गुण्डुमै हुँदै आएको छ।

    बिहीबार गुण्डुमै आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जेनजी आन्दोलन र वर्तमान सरकारबारे कटाक्ष गरेका छन्।

    प्रस्तुत छ उनको सम्बोधनको हाइलाइट–

    १. लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो।

    २. चुनाव गराउने भनेको त राष्ट्रपतिले तोकिदिएको म्यान्डेट हो। उहाँहरूको उद्देश्य होइन।

    Laxmi bank
    ३. राति/राति ३ बजेसम्म मिटिङ राखेर केपी ओली र रमेश लेखकलाई कसरी पक्राउ गर्न सकिन्छ भन्ने छलफल हुन्छ।

    ४. यो सरकार कसैको प्रतिनिधि होइन। नेपालीको चाहिँ होइन।

    Ncell
    ५. पासपोर्ट रोक्का र काठमाडौं छाड्न नपाइने भनेर तमासा देखाइयो।

    ६. सुशीला कार्कीको डरले केपी ओली भाग्छ? गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन र नचम्किन सम्हालिन सल्लाह दिन चाहन्छु।

    ७. देशका लागि लडेर यो ठाउँसम्म आइपुगेको हो, जुनसुकै वलिदान दिन तयार छौं। जिस्क्याउनुपर्दैन।

    ८. यो सरकार कसैको प्रतिनिधि होइन। कम्तिमा नेपाली जनताको होइन।

    ९. हामीले पञ्चायत देखेका छौं, निरंकुश राजतन्त्र देखेका छौं। अस्ति भर्खर ज्ञानेन्द्रले गरेको कू देखेका छौं, प्रतिगमन देखेका छौं। सबै कुरा देखेका छौं। जेलनेल भोगेका छौं। यस्ता कुरा हाम्रा लागि नयाँ होइनन्।

    १०. नेपालमा अस्थिरता कायम गर्छु भन्नेहरू असफल भए। माओवादीले आन्दोलन गर्‍यो असफल भयो, भड्काउन सकेन। रास्वपा उफ्रियो, करायो, मच्चियो, थच्चियो। केही पनि भएन। राप्रपाले उधुम मच्चाउन खोज्यो केही गर्न सकेन। अहिले सबै चुप लागेर पछाडिपट्टि बसेर जेनजी भन्ने बालबालिका अगाडि सारेर आफू पछाडि बसे।

    ११. पेट्रोल जेनजीले फ्याँकेको हो? आगो जेनजीले लगाएको हो? तिनीहरूलाई अहिलेको सरकारले कारबाही नगर्ला। गृहमन्त्रीले कारबाही नगर्नू भनेर आदेश देला, थामिएला। तर यत्रो अपराध क्षम्य हुने छैन। एकछिनलाई जे-सुकै गरोस्।

    १२. जेनजीलगायत सम्पूर्ण युवाहरूको उद्देश्य यो देशमा शान्ति सुव्यवस्था कायम होस् भन्ने हो। कायम गरेर छाडिन्छ।

    १३. सम्पत्ति छानबिन एकपल्ट होइन, दसपटक गर। मन्त्रीज्यूहरू तपाईंहरूको सम्पत्ति छानबिन गराउने आँट गराउनुहुन्छ?

    १४. पहिले नै केपी ओलीलाई थुन्नुपर्छ, समाउनुपर्छ भन्नेहरूको आयोग बनेको छ। आयोग नेकपा (एमाले)लाई मञ्जुर छैन। स्वीकार्य छैन। विरोधीबाट निष्पक्ष हुन सक्छ?

    १५. विभिन्न देशमा हाम्रा दाजुभाइहरू गएर काम गरिरहेका थिए। भिसा दिन्न भन्न थाले। त्यसको असर नेपालमा के पर्छ? होटलमा पर्यटक लुटिएका छन्। पर्यटन के होला?

    १६. यो सरकारले राज्य आतंक सिर्जना गरेको छ। चुनावको नाटक गरेर नेताहरूलाई जेल हालेर, मुद्दा लगाएर, अपमान गरेर, बुथ कब्जा गरेर, चुनाव लड्न नदिएर, आफूमात्रै चुनाव लडेर दिग्विजय घोषणा गर्ने सपना देखेको होला। त्यस्ता दिवासपना हुन्। जसको टाउकामा चिसो पानी खन्याइन्छ।

    १७. चुनाव गर्नुपर्नेछ तर उहाँहरू राजनीतिक दलसँग संवाद गर्नुहुन्न। राजनीतिक दलहरूसँग पौँठेजोरी खेलेर, दललाई बाइपास गरेर, दललाई दमन गर्छु भनेर चुनाव हुन्छ?

    १८. गृहमन्त्रीले विभिन्न व्यक्तिहरू बोलाएर फलाना–फलानाका विरुद्ध उजुरी ल्याऊ, निवेदन हाल भनेर माग गर्नुभएको छ। उनीहरूले निवेदन दिएका छन्। निवेदन आयो, प्रेसर आयो भनेर उहाँहरूले कारबाही गर्न दबाब दिनुभएको छ।

    १९. अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन। मैले विश्वास लिएको छु, नेपाली कांग्रेस पनि यही विश्वासलाई लिएर अगाडि बढ्नेछ, अरू पार्टी पनि यही बाटोमा अगाडि बढ्नेछ।

    २०. असंवैधानिक र अलोकतान्त्रिक गतिविधिलाई मान्यता दिएर, त्यसलाई स्वीकार गरेर अगाडि बढ्न खोज्यौं भने देश बर्बादीमा पुग्न सक्छ।

    २१. कुनै पनि हालतमा संविधान मासिन, संसद् मासिन, थिचोमिचो गर्न दिँदैनौं।

    २२. नयाँ पुस्तालाई आग्रह गर्छु– तपाईंहरूले धेरै बाँच्नुछ। तपाईंहरू गम्भीर हुनुपर्छ, देश बर्बाद बनाइँदैछ, देश अस्तित्व खतरामा छ। युवाहरू सचेत ढंगले अगाडि बढ्नुपर्छ। भ्रष्टाचार र सुशासनको अभियान साझा हो, जारी रहन्छ।

    २३. २३ गतेको गोलीकाण्ड, २४ गतेको आगजनी, तोडफोड, लुटपाटका लागि आधार बनाइएको थियो, तयारी थियो। त्यसका लागि गरिएको थियो।

    २४. सामाजिक सञ्जाल दर्ता हुनुपर्छ भनेको हुँ। मलाई हेपियोस्, देशलाई हेपेको सहन्नँ भनेको हुँ। केही जेनजीले बुझेनन्। साग बेच्नेले कर तिर्नुपर्छ, अर्बौं नेपालबाट लैजानेहरूले पैसा तिर्नुपर्दैन?

    २५. अहिलेको सरकार भाँडभैलोको पक्षमा छ। यसबाट देशलाई जोगाउन लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा मिल्नुपर्छ। लोकतन्त्रको रक्षामार्फत, सामाजिक न्याय र समानतामार्फत, शान्ति सुव्यवस्था कायम गर्दै देशलाई समृद्ध नेपाल, सुखी नेपालीको बाटोमा अगाडि बढाउनुपर्नेछ।

    २६. लोकतन्त्रको पुनर्बहाली यतिबेलाको मुख्य कुरा हो। त्यसका लागि लोकतान्त्रिक शक्तिहरू एक ठाउँ हुनुपर्ने मुख्य हो। यसका लागि अगाडि बढौं।

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १६:२९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij