२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी पहिरो पीडितहरुका लागि विभिन्न राहत सामग्री पुर्याएको छ। बिहान हेलिकप्टरमार्फत राहत सामग्री पुर्याएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहतलाई तीव्र रुपमा वितरण गर्ने र मृतक परिवारलाई सहयोग गर्ने कामलाई प्रभावकारी रुपमा अगाडि बढाइएको जानकारी दिएका छन्। कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पठाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु इलामका लागि पठाइएको छ।
अहिले बिहान इलामको माङ्सेबुङ र इलाम सदरमुकाममा हेलिकप्टरमार्फत सामग्री पुगेको छ। र थप सामग्री पुर्याउने सरकारको तयारी छ।
बाढी पहिरोका कारण इलाममा बढी क्षति भएकाले इलामलाई प्राथमिकतामा राखेर राहत सामग्रीहरु पठाइएको प्रदेश सरकारले जानकारी दिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री कार्की आफैँ राहत सामग्री लिएर इलाम गएका थिए।
सबै प्रभावित क्षेत्रमा राहत सामग्री आजै पुर्याइने बताइएको छ । बाढीपहिरोले सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij