२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । जेनजी अगुवा सुदन गुरुङको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न काठमाडौं प्रहरीलाई दबाब दिइरहेको छ ।
सोमबार उनको समूह काठमाडौंको भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसरमा पुगेर दबाब दिएसँगै त्यहाँ उनीहरूसँग भएको अनौपचारिक संवादलाई आधार मानेर प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
सोमबार साँझदेखि नै काठमाडौं जिल्लामा कार्यरत प्रहरी नियमित ड्युटी छाडेर सम्भावित हुलदङ्गा नियन्त्रणमा ‘अलर्ट’ छन् । गएराति नै बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले ओली र लेखकलाई पक्राउ गर्ने जेनजीको मागबारे छलफल गरेकी थिइन् । तर, त्यहाँ कुनै ठोस निर्णय नभएको छलफलमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले बताएका छन् ।
अख्तियार प्रमुख प्रेम कुमार राईलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने भन्दै मंगलबार जेनजी समूहले टंगाल स्थित अख्तियार मुख्यालय घेर्न लागेका हल्ला फैलिएपछि त्यहाँ पनि सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।
सुरक्षा संवेदनशीलता बढेको निष्कर्ष सहित उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृत भन्छन्, ‘सानो संख्यामा कार्यरत युनिटका प्रहरीलाई स्ट्रेन्थ भएको युनिटमा जान भनेका छौँ ।’
भदौ २३ र २४ मा भएको प्रदर्शनपछि हिजो साँझदेखि शुरु भएको जेनजी मुभमेन्टका कारण उपत्यकामा प्रहरीलाई ‘हाई अलर्ट’मा राखिएको छ । माइतिघर लगायका ठाउँमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij