२०८२ आश्विन २६ गते आइतवार
१. श्रद्धा र भक्ति भावसहित मनाइँदै महाष्टमीः जनकपुरको राजदेवी मन्दिरमा भक्तजनको घुइँचो
नेपालीहरुको महान पर्व बडा दशैँको महाअष्टमी पर्व नेपालभर श्रद्धा र भक्ति भावसहित मनाइँदैछ । धार्मिक परम्पराअनुसार महाष्टमीका दिन देवी दुर्गाको महागौरी स्वरूपको पूजा–आराधना गर्ने गरिन्छ । भक्तजनहरूले माता गौरीको आराधना गर्दै परिवार, समाज र राष्ट्रको शान्ति, समृद्धि र सुख–शान्तिको कामना गर्ने गर्दछन् । जनकपुरधामस्थित माता राजदेवी मन्दिरमा पनि मंगलवार बिहानैबाट भक्तजनहरूको घुइँचो लागेको छ । पूजाअर्चना गरी प्रसाद चढाउने तथा महिलाहरूले खोइछ भर्ने क्रम जारी छ । घरपरिवारसहित आएका श्रद्धालुहरू दर्शन, आरती र चढावा अर्पण गर्न लाइनमा उभिएका छन् ।
२. राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । मंगलवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवतीमा पुगेर पूजा आराधना गर्नुभएको हो । पूजा आराधना र दर्शन गर्नुका साथै उहाँले टीका र प्रसाद ग्रहण गर्नुभएको हो । दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । बडा दशैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।
३. भद्रकालीमा सवारी पूजा गर्नेको भीड
काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । बडा दशैँअन्तर्गत आज महाष्टमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोई,पखाली गाडी सर्भिसिङ गरिन्छ । महाष्टमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन् । आजको दिन विशेषतः अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरुको विशेष पूजाअर्चना गर्छन् । विधिवत रुपमा गरिने यो पूजालाई विशेष महत्वका रुपमा लिइन्छ ।
४. फेरि प्रभावित हुन सक्छ दशौं राष्ट्रिय खेलकुद, सदस्यसचिव घिसिङ भन्छन् आयोजना हुन्छ
जेनजी आन्दोलनपछि देशमा अन्तरिम सरकार आए पनि अधिकांश ठूला प्रतियोगिताहरू प्रभावित हुँदा नेपाली खेलकुद क्षति पुगेको छ । देशमा भएको पछिल्लो घटना क्रमले विभिन्न घरेलु प्रतियोगिताहरूका आयोजनाका मिति सरेका छन् भने मैत्रीपूर्ण फुटबल, अन्तर्राष्ट्रिय रग्बी सिरिजदेखि काभा महिला नेसन्स लिग लगायत आयोजनाहरू प्रभावित भइसकेको छ । अब नेपाली खेलाडीको सबैभन्दा धेरै चासो रहेको दशौं राष्ट्रिय खेलकुद के होला भन्ने छ ? आगामी मंसिरमा नै हुन्छ भनिएको राष्ट्रिय खेलकुद हुन्छ त ? यो प्रश्न अहिले नेपाली खेलकुदप्रति चासो राख्ने सबैको हो ।
५. दशैँ मनाउन काठमाडौंबाट गाउँ फर्किने क्रम जारी
नेपालीहरुको महान पर्व विजया दशमीमा दशैँको टीका लगाउन गाउँ फर्किने क्रम जारी छ । महाष्टमी पर्वका अवसरमा घर फर्किनेहरु सडकमा सवारीसाधन कुरेर बसेको देख्न सकिन्छ । आम नागरिकहरु गाउँ फर्किनका लागि सडकमा उभिएर बसेका छन् । यस वर्ष विजया दशमीको शुभ साईतको टीका असोज १६ गते परेको छ । जसकारण पनि काठमाडौं उपत्यकालाई कार्यथलो र अध्ययनस्थल बनाइ बसेकाहरु गाउँ फर्किने चाप छ । काठमाडौंको कोटेश्वर, जडिबुडी लगायत सडकहरुमा मानिसहरु गाडी कुरेर बसेका छन् । महानवमी अर्थात बुधवारसम्मै काठमाडौंबाट आफन्तजन र आफू भन्दा ठूलाबडाको हातबाट दशैँको टीका लगाउन र आशिर्वाद थाप्न जानेको संख्या उल्लेख्य हुने गर्दछ ।
६. तृष्णा शाक्यको विदाई, नयाँ कुमारी आर्यतारा कुमारी आसनमा विराजित
नयाँ कुमारी आर्यतारा शाक्यलाई कुमारी आसनमा विराजमान गराइएको छ । मंगलवार मध्यान्ह आर्यतारालाई कुमारी आसनमा विराजमान गराइएको हो । साढे दुई वर्षीया आर्यातारा केशचन्द्र पारावर्त महाविहार इन्तुबहालकी कुलपुत्री हुनुहुन्छ । मंगलवार दिउँसो सवा १२ बजेर ५ मिनेटको शुभ साईतमा वसन्तपुरस्थित कुमारी घरमा विशेष अनुष्ठान गरी कुमारी आसनमा विराजमान गराइएको हो । मंगलवार नै वर्तमान कुमारी तृष्णा शाक्यलाई आसनबाट उतारी बाजागाजासहित कुमारी घरबाट विदा गरिएको छ ।
७. जेन—जी आन्दोलनको असर पर्यटन क्षेत्रमाः खालि गुड्छन् पर्यटक बोक्ने बस
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रा.लि.का अध्यक्ष एनकुमार साईले जेन—जी आन्दोलनको असर पर्यटन क्षेत्रमा देखिएको बताउनुभएको छ । आन्तरिक पर्यटकहरु पनि जेन जी आन्दोलनको त्रासका कारण बाहिर ननिस्कएको उहाँको भनाइ छ । वाह्य पर्यटकरु नेपालको अहिलेको परिस्थिति हेरेर र आगामी दिनमा के हुन्छ भन्ने पूर्वानुमान गर्न नसकेर धेरै नआएको बताउनु भयो । पर्यटन क्षेत्र जेन जी आन्दोलनसँगै सुस्ताएको उहाँको भनाइ छ । उहाँकाअनुसार आन्दोलनअघि पृथ्वी राजमार्ग हुँदै दैनिक यात्रा गर्ने पर्यटकहरु सय भन्दा बढी हुने गरेपनि अहिले त्यो संख्या नहुँदा पर्यटक बोक्ने बसहरुले काम पाएका छैनन् ।
८. चाडवाडमा आकस्मिक सेवा र अन्तरंग विभाग सधैँ सुचारु गर्न स्वास्थ्य संस्थाहरुलाई सरकारको निर्देशन
सरकारले चाडवाडको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँ सुचारु गर्न निर्देशन दिएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँ सुचारु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वास्थ्य संस्थाहरुमा कुनैपनि अत्यावश्यक सेवा आवश्यक पर्ने, बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने, सेवालाई असर नपरोस् र निरन्तर रहोस् भन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना स्वास्थ्य संस्थाहरुलाई सधैँ सेवाहरु सुचारु राख्न निर्देशन दिएको बताउनु भयो । अस्पतालमा हुने आपत्कालीन मेडिकल टिम, एम्बुलेन्स सर्भिस र एम्बुलेन्सहरुको नेटवर्किङलाई निरन्तर राखिरहन र स्वास्य मन्त्रालयअन्तर्गत गुनासो सुन्ने हटलाइन पनि सुचारु राखेको जानकारी दिनुभयो ।
९.चीनद्वारा दुई नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण
चीनले सोमवार दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाएको छ । परीक्षण उपग्रहहरू शियान–३० ०१ र ०२, बिहान ११ः०० बजे (बेइजिङ समय) लङ मार्च–२डी क्यारियर रकेटबाट प्रक्षेपण गरिएको थियो । तिनीहरूको पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ । उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च शृङ्खला क्यारियर रकेटहरूको ५९८ औं उडान मिसन थियो ।
१०. भियतनाममा बुआलोई आँधीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो
भियतनाममा बुआलोई आँधीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । १३ जना अझै बेपत्ता छन् । ३३ जना घाइते भएको स्थानीय दैनिक पत्रिका न्हान डान (पिपल) ले रिपोर्ट गरेको छ । आँधीले धेरै सार्वजनिक पूर्वाधार, घर, माछा मार्ने जहाजमा क्षति पु¥याएको छ । साथै उत्तरी र मध्य भियतनाममा विद्युत आपूर्ति अवरुद्ध भएको छ । भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आँधीपछिको अवस्था र त्यसपछिको बाढीलाई तुरुन्तै सम्बोधन गर्न अधिकारीहरूलाई आग्रह गर्नुभएको छ ।
११. मुटुरोग भएका अफगानी बालबालिकाहरू उपचारको लागि संघर्ष गर्दै
सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाइँदै गर्दा अफगानिस्तानले एउटा गम्भीर वास्तविकताको सामना गरिरहेको थियो । गरिबी, कमजोर स्वास्थ्य सेवा प्रणाली र दशकौंको द्वन्द्वको लामो घाउले फसेका हजारौं मुटु रोगका कारण प्रत्येक वर्ष हजारौंको मृत्यु हुन्छ । काबुलका कम सुविधासम्पन्न अस्पतालहरूमा, निजामुद्दीन र अली हुसेन जस्ता परिवारहरू जन्मजात मुटुरोग भएका शिशुहरूको लागि कमजोर आशामा हुन्छन् । धनी राष्ट्रहरूमा नियमित रूपमा उपचार गरिने अवस्था रहेपनि अफगानिस्तानमा उपचारका लागि संघर्ष गरिरहेका छन् । निजामुद्दीनको लागि, संकट पीडादायी रूपमा व्यक्तिगत छ ।
१२. राष्ट्रपति चुनावमा विजय हासिल गरेपछि मुथारिकाले मलावीको पुनर्निर्माण गर्ने प्रतिवद्धता
मलावीका निर्वाचित राष्ट्रपति पिटर मुथारिकाले सेप्टेम्बर १६ को राष्ट्रपति चुनाव जितेपछि राष्ट्रलाई एकतावद्ध गर्ने र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्ने प्रतिवद्धता गर्नुभएको छ । प्रतिष्पर्धाको समय सकिएको र सहयोगको समय शुरु भएको बताउनु भयो । राजनीतिले आफ्नो भुमिका खेलेको बताउनु भयो । अब राष्ट्रिय रूपान्तरणको कामले केन्द्रमा आउनुपर्ने बताउनु भयो । अगाडिका चुनौतीहरू अझै जटिल रहेको बताउनु भयो । सबैका लागि खाना उपलब्ध हुनुपर्ने, अर्थतन्त्र पुनरुत्थान हुनुपर्ने र रोजगारी सिर्जनाका साथै स्वास्थ्य सेवा र शिक्षा प्रणाली बलियो बनाउनुपर्ने चुनौति रहेको बताउनु भयो । पूर्वाधार सुधार,सार्वजनिक संस्थाहरूमा विश्वास पुनर्निर्माण गर्नुपर्ने चुनौति रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij