Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

दशैंमा पनि खुल्लै छन् बैंकका ५५० वटा शाखा (सूचीसहित)

दशैंमा पनि खुल्लै छन् बैंकका ५५० वटा शाखा (सूचीसहित)


  • 2.2K
    Shares

    दशैंमा पनि खुल्लै छन् बैंकका ५५० वटा शाखा (सूचीसहित)
    images

    काठमाडौं । बैंकिङ सेवा अत्यावश्यक सेवामध्ये एक हो । सामान्यतः बिदाको बेलामा बैंकका अधिकांश शाखा बन्द हुन्छन् । तर, सबै शाखा बन्द हुँदा सर्वसाधारणले पैसा राख्ने र झिक्ने सेवा नपाउन सक्छन् । त्यसैले खासगरी त्रैमासको अन्तिम बिदाको दिन, चाडपर्वलगायत विशेष परिस्थितमा बैंकहरूले केही शाखा खोलेका हुन्छन् ।

    यसपालीको दशैंमा पनि नेपालीको महान चाड बडा दसैंमा सरकारले सार्वजनिक बिदा दिए तपनि बैंकका कर्मचारीलाई आलोपालो व्यवस्था गरेर सर्वसाधारणलाई बैंकिङ सेवा दिइँदैछ । खासगरी फूलपातीदेखि एकादशीसम्म सबै कर्मचारीलाई बिदा हुन्छ । यसपाली असोज १६ गते टीका परेकाले १३ देखि १७ गतेसम्म बिदा छ । १८ गते शनिबार परेकाले सबै कार्यालयहरू १९ गतेमात्र खुल्छन् । तर, बैंकहरूले भने ग्राहकको आवश्यकतलाई ध्यानमा राखेर विभिन्न शाखा र काउन्टर खुला राख्ने भएका छन् ।

    दसैंको समयमा सञ्चालनमा आउने शाखा कार्यालयबाट भने ग्राहकले निक्षेप राख्ने, झिक्ने, खाता खोल्ने र रेमिट्यान्सको कारोबारको मात्र सुविधा पाउँछन् ।

    कुन बैंकका कुनकुन शाखा खुल्छन् ?

    ग्लोबल आइएमई बैंकले ५० शाखा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । सातै प्रदेशका शाखाहरू बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला हुनेछन् ।

    नबिल बैंकले असोज १३ र १६ गते कुल १९ शाखा सञ्चालन गर्नेछ । सातै प्रदेशका यी शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सीमित सेवा पाइनेछ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उपत्यकाभित्र १९ शाखा तथा काउन्टर खोल्ने तालिका बनाएको छ । फूलपातीदेखि एकादशीसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा उपलब्ध हुनेछ ।

    राष्ट्रिय वाणिज्य बैंकले ७ शाखा सञ्चालन गर्नेछ । बैंकले विराटनगर, काठमाडौंको बसन्तपुरस्थित मुख्य शाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका २ शाखा, धनगढी र इटहरी शाखाबाट सेवा दिनेछ ।

    प्रभु बैंकका १८ शाखा असोज १३, १४, १५ र १७ गते खुल्नेछन् । बैंकले काठमाडौंमा ४ र बाहिर १४ शाखाबाट सेवा दिनेछ ।

    कुमारी बैंकले पनि ५० शाखाबाट सेवा दिने जनाएको छ । फुलपातीदेखि एकादशीसम्म बैंकका यी शाखा बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म खुला हुनेछन् ।

    हिमालयन बैंकले सप्तमी, अष्टमी, नवमी र एकादशीका दिन २९ शाखा सञ्चालन गर्ने तालीका बनाएको छ । यी शाखाबाट सीमित नगद कारोबारको सेवा पाइनेछ ।

    लक्ष्मी सनराइज बैंकले असोज १३ देखि १७ गतेसम्म कुल ५२ शाखा खोल्ने जनाएको छ । ती शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नगद कारोबारलगायतका सेवा प्रदान गरिनेछ ।

    प्राइम बैंकले ४८ वटा शाखा खोल्नेछ । ती शाखाबाट नगद कारोबार र अन्य अत्यावश्यक सेवा पाइन्छ ।

    एभरेस्ट बैंकले असोज १४ गते काठमाडौंका न्युरोड, पुल्चोक र ठिमी शाखा खुला रहनेछन् । यी शाखाबाट नगद कारोबारसँगै उपलब्धताको आधारमा विदेशी मुद्रा विनिमय सुविधा पनि दिइनेछ ।

    एनएमबी बैंकले टीकाको दिनबाहेक कुल १८ शाखा सञ्चालन गर्नेछ । यी शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नगद, चेक भुक्तानी, आईपीएसलगायतका सुविधा पाइनेछ ।

    दशैं बिदामा नेपाल बैंकका ४ वटा एक्सटेन्सन काउन्टर सञ्चालन हुनेछन् । बैंकको मेची भन्साका दुई काउन्टर, कृष्णनगर भन्सार र न्युरोड शाखाबाट बैंकिङ सेवा पाइनेछन ।

    कृषि विकास बैंकले दशैंमा ३६ शाखा खुला गर्नेछ । यी शाखा सातै प्रदेशमा अवस्थित छन् । तोकिएका दिनमा ग्राहकहरूले नगद जम्मा–भुक्तानीसहित सीमित बैंकिङ सुविधा पाउनेछन् ।

    एनआईसी एशिया बैंकले दशैं अवधिमा १८ शाखा चलाउने तालिका बनाएको छ । सप्तमीदेखि एकादशीसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा पाइनेछ ।

    सिद्धार्थ बैंकका ३१ शाखामार्फत् बैंकिङ सेवा पाइनेछ ।

    सिटिजन्स बैंकले दशैंमा २६ शाखा सञ्चालन गर्नेछ । काठमाडौं उपत्यकाभित्रका साथै प्रमुख शहरमा रहेका शाखा असोज १३ देखि १८ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।

    माछापुच्छ्रे बैंकले दशैंका चार दिनमा ३३ शाखा सञ्चालन गर्ने भएको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने ती शाखाबाट नगद कारोबार, चेक जम्मा–भुक्तानी, आरटीजीएस/ईसीसी लगायत सेवा पाइनेछ ।

    सानिमा बैंकले सबैभन्दा ६३ वटा शाखा खुलाउने योजना बनाएको छ ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज १३, १४, १५ र १७ गते तालीकाअनुसार सबै शाखा सञ्चालन गर्नेछ । काठमाडौंका नयाँ बानेश्वर र नक्साल शाखा २ दिन खुल्नेछन् ।

    नेपाल एसबीआई बैंकका १४ शाखा असोज १३ देखि १६ गतेसम्म खुला रहनेछन् । यी शाखामा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा पाइनेछ ।

    प्रकाशित मिति :आश्विन १३ २०८२ सोमवार - १६:५९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij