२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी कलाकार आँचल नाथ बिहीबार काठमाडौंस्थित डेरामै जल्दै गरेको अवस्थामा भेटिइन् । चार वर्षअगाडि कञ्चनपुरबाट उनी काठमाडौं आएकी थिइन् ।
भाइ दीपेन्द्र नाथ दिदीसँगै बसेर जापानिज भाषा पढिरहेका छन् । भाइ दीपेन्द्र दिदीले आत्मदाह गर्न नसक्ने बताउँछन् । उनले भने, ‘आँचल दुःख, पीडा र संघर्षसँग डराउने मान्छे होइन । काठमाडौंमा मोडलिङ क्षेत्रमा स्थापित हुन भनेर आएकी थिइन् । तर, उनको सफलता देखेर शत्रुले खुट्टा तान्ने प्रयास गरिरहे ।’
‘केही बदमास केटाहरूले दिदीको चरित्र हत्या गरिरहेका थिए । टिकटक लाइभमा आएरै उनीबारे नराम्रो कुरा बोल्थे’, उनी थप भन्छन्, ‘त्यतिबेलै उनीहरूलाई उजुरी दिएर कारबाही गर्नुपर्ने रहेछ । तर दिदी आफैँ टिकटकमा सक्रिय भइरहने भएर त्यो कुरालाई सामान्य मान्नु गल्ती भयो ।’
गम्भीर घाइते अवस्थाकी उनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको । भेन्टिलेटरमा राखेर उनको जीवन बचाउने कोसिस भइरहेको छ। उनका बुवाले दिएको जानकारी अनुसार आँचलको करिब ८० प्रतिशत शरीरको भाग जलेर अवस्था गम्भीर छ ।
यो घटनामा सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने तीनजना युवकहरूमाथि शंका लागेको भाइ दीपेन्द्र बताउँछन् । ‘टिकटकपछि आँचललाई फोन गरेर मार्दिन्छु भन्नेसम्म धम्की दिएका थिए । प्रहरीले सबैभन्दा पहिले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ । आत्मदाह हो वा अरुले आगो लगाए, छिटो छानबिन होस् ।’
बिहीबार साँझ आफ्नै डेरामा आँचल जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् । त्यो दिन भाइ कोठामा थिएनन् । उनी कञ्चनपुर गएका थिए । घटनाको प्रारम्भिक अवस्था हेर्दा प्रहरीले आत्मदाहको शंका गरे पनि परिवारले शंकास्पद भएको दाबी गरेको छ । कक्षा १० सम्म अध्ययन गरेकी आँचलले २० वर्षमै विवाह गरेकी थिइन् । तर बिहेको दुई वर्षमा सम्बन्ध सकिएको थियो । टिकटकमा उनले श्रीमान्ले अर्को विवाहकाले छुट्टिनुपरेको सुनाएकी थिइन् ।
उनी विभिन्न गीतमा मोडलिङ गर्दै अगाडि बढिरहेकी थिइन् । मोडलिङबाहेक टिकटकमा पनि उनको राम्रो फ्यान फ्लोइङ छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij