२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन् ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहारको शिकार भएका देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्यस्थिति विश्लेषण गरेपछि डिस्चार्ज हुने स्वकीय सचिव भानु देउवाले बताए । डिस्चार्जपछि उनीहरूको अस्थायी बसोबास ललितपुरमा हुने पनि उनले बताए । ‘सानेपा र जावलाखेलमध्ये एक ठाउँमा हुन्छ’, उनले भने, ‘उहाँहरूलाई जहाँ उपयुक्त लाग्छ, त्यहीँ जानुहुन्छ ।’
सानेपा, झम्सिखेलमा डा. राणाको माइती घर र जावलाखेलमा उनका भाइ भूषण राणाको घर छ । झम्सिखेलस्थित डा. राणाको स्वामीत्वमा रहेको माइती घरसँगै तरुण दलका पूर्वअध्यक्ष तथा राष्ट्रियसभाका सदस्य जितजंग बस्नेतको घर छ ।
बूढानीलकण्ठको क्षतिग्रस्त घरको पुनःनिर्माणमा समय लाग्ने कारण उक्त घर तयार नहुञ्जेलका निम्ति देउवाको दम्पती त्यहाँ बस्ने तयारीमा रहेको नेपाली कांग्रेसका एक नेताले बताए । उनको आवास व्यवस्थापनका निम्ति राष्ट्रियसभा सदस्य बस्नेत सक्रिय छन् ।
स्रोतका अनुसार, जावलाखेलको घर मध्यबजारमा भएका कारण सुरक्षाका दृष्टिले अनुपयुक्त हुने सुझाव पार्टीका नेताहरूले दिएका छन् । उक्त घर प्रशासनिक प्रशिक्षण केन्द्र (स्टाफ कलेज) को अगाडि छ । झम्सिखेलको घर भने होटल भिभान्तानजिकै छ ।
प्रदर्शनकारीले गरेको दुर्व्यवहारका क्रममा सभापति देउवाको गर्धनमा आठ वटा टाका लगाइएको थियो । डा.राणाको पनि गर्धनमै चोट थियो । टाँका खोलिएको र अन्य जटिल स्वास्थ्य समस्या नभएका कारण अस्पतालले उनीहरूलाई डिस्चार्ज दिन लागेको स्रोतले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij