२०८२ आश्विन २७ गते सोमवार
काठमाडौँ । सुशीला कार्की नेतृत्वको नवगठित सरकारमा सोमबार कुलमान घिसिङ पनि मन्त्री बनेका छन् । उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीः
निश्चित समयका लागि कठिन परिस्थितिमा भौतिक पूर्वाधार, सहरी विकार र ऊर्जा जस्ता विकास निर्माणसँग सम्बन्धित महत्त्वपूर्ण मन्त्रालय सम्हाल्न आइपुग्नुभएको छ । यी मन्त्रालय मातहतका सरकारी संरचनाहरू धेरै जलेका छन्, जसको पुनर्निर्माण गर्नुछ । साथसाथै नियमित विकास निर्माणको काम पनि गर्नुपर्नेछ । यी दुई काम कसरी अघि बढाउनुहुन्छ ?
पहिलो काम पुनर्निर्माणको छ । ठूलो क्षति भएको छ । सरकारी कार्यालय, सरकारी भवनमा ठूलो क्षति पुगेको छ । क्षतिको मूल्यांकन मैले नेतृत्व गर्ने मन्त्रालयले गर्नेछ । समग्र मूल्यांकन गर्न मन्त्रिपरिषद्ले समेत एउटा समिति गठन गरेको छ । दुवैतिरबाट मूल्यांकनको काम छिटोभन्दा छिटो गर्नेछौं । भोलिबाटै काम सुरु गर्ने गरी अघि बढेका छौं ।
मूल्यांकनपश्चात् पुनर्निर्माणका लागि बजेट धेरै आवश्यक भन्ने आउन पनि सक्छ । त्यसका लागि हामीले आजैबाट एउटा अभियान सुरु गरेका छौं । हाम्रा सार्वजनिक संरचना आफैं निर्माण गरौं भनेर सहरी विकास मन्त्रालयअन्तर्गत एउटा कोष स्थापना गर्ने भएका छौं । त्यो कोषमा देश, विदेशमा रहेका आम नेपाली जनतालाई आफूले सकेको सहयोग गर्नुस् भन्ने आह्वान गरेका छौं ।
जनताको अपनत्व होस् भनेर त्यस्तो आह्वान गरेका हौं । सबैले जिम्मेवारी लिनुपर्छ भनेर यो अभियान सुरु गरेका हौं । जसले जति सकिन्छ, त्यति राख्न पाइन्छ । सरकारले दिने बजेट पनि त्यही कोषमा राख्नेछौं । त्यो बजेट पुनर्निर्माणमा प्रयोग गर्नेछौं । यो काम सुरु गर्नुपूर्व सफाइ अभियान सुरु गर्नुछ । त्यसका लागि समेत हामीले श्रमदानको आह्वान गर्नेछौं ।
अर्कोतर्फ देशमा आशा जगाउनुछ । भ्रष्टाचार मौलाएको, सुशासन कायम नभएको, निराशै निराशाको विस्फोट भएर यो परिस्थिति आएको हो । त्यसकारण हामीले आशा जगाउनुछ । त्यसका लागि मैले नेतृत्व गरेका तीन मन्त्रालयको महत्त्वपूर्ण भूमिका रहन्छ । ६ महिनाभित्र नै सबै काम सकिन्छ भन्ने स्थिति छैन । तर नियमित विकास निर्माणका काम पनि अघि बढाउँछौं । तत्कालै सम्पन्न गर्न सकिने विकास निर्माणका कामहरू पहिचान गर्छौं । देशमा हुन्छ, केही भइरहेको छ भनेर आशा जगाउने काम गर्छौं ।
कन्ट्याक्टरले काम गरेको छैन भने सम्झौता रद्द हुन्छ । तत्काल सम्पन्न हुने काम तीव्र गतिमा अघि बढाउँछौं । दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने आयोजना पनि रणनीतिक रूपमा अघि बढाउँछौं । सडक, विद्युत्, सहरी विकास, विद्युत् र सिँचाइ क्षेत्रमा धेरै काम गर्नुपर्नेछ । योजनाबद्ध रूपमा काम गर्छौं ।
समग्रमा हामीले देशमा अब केही हुँदै छ, अब देशमा परिवर्तन हुन्छ, विकास निर्माणमा फड्को मार्छ भन्ने आशा जगाउने हो । पुनर्निर्माण गर्दै अघि बढ्ने हो । सुशासन कायम गर्ने हो । जेन–जी पुस्ताले गरेको आन्दोलन पनि यसैका लागि हो । यो काम गर्छौं ।
उद्योगी व्यवसायीले तिनुपर्ने डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने भनेर तपाईंले पहिलो निर्णय गरिसक्नुभएको छ । तपाईं विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा धेरै प्रयास गर्दासमेत उठाउन सक्नुभएन । अबचाहिँ कसरी र कुन उपायले उठाउनुहुन्छ ?
यो बक्यौता सबै निकायले उठाउनुपर्छ भनेका छन् । त्यो रकम उद्योगीले तिर्नुहुन्छ । उहाँहरू पनि राष्ट्रको एउटा जिम्मेवार नागरिक हो । त्यसै हिसाबले उहाँहरूलाई नै मैले आह्वान पनि गरिसकेको छु । उहाँहरूले इज्जतसाथ तिर्नुहुन्छ । विद्युत् प्राधिकरण नियमभित्र रहेर बिल काटेको रकम हो । त्यो रकम धेरै ठूलो पनि छैन । त्यो रकम तिर्नुहुन्छ । तिर्नु भएन भने देशमा कानुन छ, नियम छ, त्यसैअनुसार हामी अघि बढ्छौं । हिजो पनि नियमअनुसार अगाडि बढेका थियौं । अब सबै बक्यौता उठाउँछौं ।
तर डेडिकेटेड र ट्रंकलाइनको बक्यौता कहिले साढे ६ अर्ब, कहिले ८ अर्ब, कहिले २२ अर्ब भनिएको छ । कति उठाउने हो ?
मन्त्रिपरिषद्ले नै साढे ८ अर्ब उठाउने भनिसकेको छ । सर्वोच्च अदालतले पनि यसबारे बोलिसकेको छ । मन्त्रिपरिषद्को निर्णय, अदालतले भनेको विषय हेरेर हामी अघि बढ्छौं । तिरेनन् भने विद्यमान नीति नियम प्रयोग हुन्छ ।
यसको अर्थ बक्यौता तिरेनन् भने फेरि उद्योगको लाइन काटिन्छ भन्ने हो ?
नियम, कानुन विधि भनेकै त्यही हो ।
अर्को आमचासोको विषय हाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य हुनुहुन्छ । तपाईंलाई हटाएर उहाँलाई त्यहाँ ल्याइएको हो । तपाईंले अब उहाँसँगै काम गर्नुहुन्छ कि हटाउनु हुन्छ ?
हितेन्द्रजीसँग मेरो कुनै रिस, राग छैन । प्रतिशोध पनि छैन । पहिला पनि म अन्तर्गत रहेर नै काम गर्नुभएको हो । तर उहाँले अर्कै हिसाबले काम गर्न थाल्नुभयो । ‘राइट म्यान, राईट प्लेस’ हुन्छ । प्राधिकरणलाई अघि बढाउन उहाँ आफैंले आफ्नो क्षमताको मूल्यांकन गर्नुपर्ने स्थिति छ । उहाँले यो परिस्थितिलाई बुझेर बाटो तय गर्नुहुन्छ ।
यदि बाटो खुला गर्नु भएन भने ?
उहाँले बाटो खुला गर्नुहुन्छ । बाटो खुला गर्नुहुन्छ भन्ने विश्वास छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले तपाईंलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि देश, विदेशमा घुम्नुभयो । उज्यालो नेपालको अभियान सुरु गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्नुभयो, घोषणा गर्नुभयो । त्यो घोषणापछि तपाईंले अब पार्टी खोल्नुहुन्छ राजनीतिमा आउनुहुन्छ भन्ने अनुमान गरेका थिए । अबको ६ महिनापछि हुने निर्वाचनमा तपाईंले पार्टी खोल्ने वा कुनै रूपमा उम्मेदवार हुने के सोच्नुभएको छ ?
म मन्त्री भएँ भन्दैमा अरू गतिविधि गर्न पाउने छैन भन्ने छैन । मन्त्री पनि हुने, चुनावमा पनि जाने भन्ने नैतिक विषय रहला त्यतिबेला नै सोचौंला । तर म राजनीतिमा जान्छु भनिसकेको छु । राजनीतिक गतिविधि गर्न पाइन्छ । आफ्नो हिसाबले सुरु गर्न पाइन्छ ।
अहिले मैले नेतृत्व गरेको मन्त्रालयमा आउनुको अर्थ राष्ट्रको जिम्मेवारी बोध गरेर हो । म खोजेर आएको हैन । सबै साथीहरू, आन्दोलनमा संलग्न जेन–जी पुस्ताका साथीहरूको अनुरोधमा सरकारमा गएर सामधान गर्नुपर्छ भनेपछि आएको हो । मुलुक गम्भीर मोडमा छ, विषम परिस्थितिमा छ, तपाईंहरू अगाडि बढ्नुपर्छ भन्ने सुझावपछि आएको हुँ । देशले मागेका बेला भाग्ने हैन, चुनौतीलाई सामना गर्दै निकास दिनुपर्छ भनेर आएको हुँ ।
यो परिवर्तनलाई कसरी अगाडि बढाउने ?, जेन–जी पुस्ताले राखेका आकांक्षा कसरी पूरा गर्ने ?, केही योगदान गर्न सकिन्छ ? कि भन्ने आवश्यक महसुस गरेर र सबैको आग्रहका कारण आएको हुँ । २४ घण्टामा १८ घण्टा खटेर यसलाई पार लगाउनुपर्छ भनेर आएको हुँ । प्रधानमन्त्री सुशीला कार्कीले पनि त्यो जिम्मेवारी महसुस गर्नुभएको छ । यो जिम्मेवारीलाई पूरा गरेर समयमै चुनाव गराउन पूर्वाधार तयार गर्ने काम हुनेछ । जिम्मेवार नागरिकको हिसाबले मन्त्री बनेको हुँ । यो भन्दै गर्दा मैले मेरो राजनीतिक मिसन बन्दै गर्छु भनेको छैन । त्यसमै म अघि बढ्छु ।
आगामी निर्वाचनमा कुन रूपमा अघि बढ्नुहुन्छ ? स्वतन्त्र उम्मेदवार वा पार्टी खोलेर वा पुरानै कुनै पार्टीबाट चुनाव उठ्नुहुन्छ ?
स्वतन्त्र हैन । पार्टी नभई राजनीतिक अभियान हुँदैन । समूह कसरी बनाउने भन्ने पनि हामी छलफल गर्छौं । कसरी अगाडि बढ्ने भन्नेबारे आगामी दिनमा तपाईंहरूले देख्नुहुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij