२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै आफ्नो पहिलो निर्णयमार्फत जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा पुगेको क्षतिको मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र तयार गर्न निर्देशन दिएका छन्।
पदभार ग्रहण कार्यक्रम पश्चात मन्त्रालयमा सचिव गोपाल सिग्देलले स्वागत गर्दै ब्रिफिङ गरेका थिए। सो क्रममा मन्त्री घिसिङले आन्दोलनका क्रममा भौतिक संरचना, सवारीसाधन, फर्निचर, कागजात र अन्य सम्पत्ति क्षति भएकाले त्यसको ड्यामेज एसेसमेन्ट तत्काल सुरु गर्न निर्देशन दिएका छन्।
उनले विशेषज्ञ टोली परिचालन गरी तीन दिनभित्र क्षति विवरण सङ्कलन गर्ने र त्यसलाई आधार मानेर एक हप्ताभित्र पुनर्निर्माण तथा पुनर्स्थापना कार्ययोजना तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतका लागि पेस गर्ने बताएका छन्।
मन्त्रालयले दुई वटा फाइल तयार गरेको छ । पहिलो, क्षति मूल्याङ्कन र कार्ययोजना स्वीकृति प्रक्रिया अघि बढाउने र दोस्रो, पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने प्रणाली कार्यान्वयन गर्ने रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij