२०८२ भाद्र १९ गते बिहिवार
१. स्मार्ट वर्क, टिमवर्क र नविन सोचबाट मात्रै प्रदेशको समृद्धि सम्भव छः भौतिक पूर्वाधारमन्त्री देवकोटा
वागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा.दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउँदै परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’ लाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ ।
२. वागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाइ लगाइयो लम्पी स्किन विरुद्धको खोप
वागमती प्रदेशमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ । लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दुध उत्पादनमा गिरावट आउने, शरीर सुन्निने र जनावर अशक्त देखिने जस्ता लक्षणहरू देखिन्छन् ।
३. ललितपुरको लोंल टोलमा आकाश भैरवको प्रतिमा पुनःस्थापना हुने
ललितपुरको लोंल टोलमा आकाश भैरवको प्रतिमा पुनःस्थापना हुने भएको छ । बुधवार पत्रकार सम्मेलनमार्फत लोंल टोल सुधार समितिले यसबारेमा जानकारी गराएको हो । प्रतिमा भदौ २२ गते आईतवार विशेष पूजाआज गरी सम्पन्न हुने लोंल टोल आकाश भैरव पुनः स्थापना व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण महर्जनले बताउनु भयो ।
४. रोमाञ्चक बन्दै राष्ट्रिय महिला लिग छनोट
शिर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लबको हारसँगै जारी महिला राष्ट्रिय फुटबल लिग छनोटमा समूह ‘ए’ बाट होड रोमाञ्चक बनेको छ । समूहको शिर्ष दुई टोली सीधै राष्ट्रिय महिला लिगमा छनोट हुने प्रावधान रहेको छ । दुवै लिग खेल अन्तिम चरणमा पुग्दा समूहबाट छनोटका लागि प्रतिष्पर्धा रोमाञ्चक बनिरहेको छ । समूह ‘ए’ बाट दुई टोली नै छनोट हुन बाँकी छन् । समूह ‘बी’ बाट संकटा छनोट भइसकेको छ ।
५. मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया
नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले देशको कार्यकारी पद अर्थात मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रश्ताव अघि बढाउनुभएको छ । उहाँले यो व्यवस्था संविधानमै सुनिश्चित गर्न आवश्यक रहेको धारणा राख्नुभएको हो । सरकार स्थिर रहनसक्यो भने विकास निर्माणका कुराहरू पनि निरन्तर रूपमा अघि बढ्नसक्ने बताउनु भयो ।
६. नेपालको नागरीकता बस र सिनेमाको टिकट जसरी दिनहुन्नः प्रेम सुवाल
नेपाल मजदुर किसान पार्र्टीका सांसद प्रेम सुवालले नेपालको नागरीकता बसको टिकट जसरी दिन नहुने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नागरीकता सम्बन्धि विधेयकको दोस्रो संसोधनले राम्रो मात्रै होला भन्न नसकिने बताउनुभएको हो । खुला सीमाना भएको देश नेपालमा जन्मको आधारमा मात्र नागरिकता दिनुपर्ने विषयमा उहाँले जोड दिनुभयो ।
७. तराई–मधेसमा सर्पदंशका घटना बढे
तराई–मधेसका जिल्लाहरुमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको संख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । दैनिक पाँच÷छ जना सर्पदंश बिरामीहरु अस्पताल आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आपतकालिन सेवा कक्ष प्रमुख उज्वल झाले जानकारी दिनुभयो । उहाँकाअनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ ।
८. खाद्य उद्योग दर्ता सिफारिस, अनुमतीपत्र जारी तथा नविकरण सेवा अब अनलाइन
खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नविकरण सेवा अबदेखि अनलाइनबाट हुने भएको छ । सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाईन सेवा उपलब्ध गराएको हो । खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इण्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो ।
९.त्रिवी क्रिकेट मैदानः भदौ मसान्तसम्म प्यारापिट निर्माण सकिने, फ्लड लाइट जडान हुन अझै एक महिना लाग्ने
संसदीय समितिद्वारा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण
राष्ट्रिय सभा अन्तर्गतको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको छ । समितिले बुधवार मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको निरीक्षण गरेको हो । समितिलाई मैदान स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले हालसम्म भइरहेको कार्यप्रगतिको बारेमा जानकारी गराउनुभएको थियो । भदौ मसान्तसम्म प्यारापिट निर्माणका सम्पूर्ण काम सम्पन्न हुने अवस्थामा रहेको जानकारी दिनुभयो ।
१०. बिहीवारबाट विधिवत रुपमा इन्द्रजात्रा प्रारम्भ हुने
गुठी संस्थानले बिहीवार (भदौ १९ गते) बाट काठमाडौं उपत्यकामा विधिवत रुपमा इन्द्रजात्रा प्रारम्भ हुने बताएको छ । संस्थानले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी बिहीवार विहान १०ः३१ बजे गुठी संस्थानबाट पूजाआज होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरुले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएपछि सहरमा विधिवत रुपमा ईन्द्र जात्राको प्रारम्भ हुने जानकारी दिएको हो ।
११. संसदीय समितिद्वारा त्रिभूवन विश्वविद्यालयको पुस्तकालयको अनुगमन
राष्ट्रिय सभा अन्तर्गतको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिले कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको केन्द्रिय पुस्ताकालयको अनुगमन गरेको छ । समितिले बुधवार पुस्तकालयको अनुगमन गरेको हो । अनुगमनका क्रममा पुस्तालयको व्यवस्थापन राम्रो रहेको देखिएको समितिका सदस्य युवराज शर्माले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय पठन संस्कृति भने हटेको पाईएको बताउनु भयो ।
१२. सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयमा बुधवार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले बताउनुभएको हो । प्रारम्भिक चरणमा सबै प्रदेशमा एक÷एक वटा अटिजम स्कुलको खाँचो औँल्याउनु भयो ।
१३. अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार १ सय २४ पुग्यो
पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार १ सय २४ पुगेको छ । अन्य ३ हजार २ सय ५१ जना घाइते भएका छन् । अफगान रेड क्रिसेन्ट सोसाइटीका सूचना तथा प्रकाशन प्रमुख जुमा खान नायलले बताएअनुसार भूकम्पका कारण मुख्यतया कुनार प्रान्तमा ८ हजार भन्दा बढी आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन् ।
१४. इजिप्टका सरकारी स्वामित्वका बैंकहरूले ब्याजदर घटाए
इजिप्टका दुई ठूला सरकारी स्वामित्वका बैंकहरू – नेशनल बैंक अफ इजिप्ट र बैंक मिस्रले इजिप्टका पाउण्ड र अमेरिकी डलर दुवैमा मूल्याङ्कन गरिएका वचत उत्पादनहरूमा ब्याजदर घटाउने घोषणा गरेका छन् । इजिप्टको केन्द्रीय बैंकले गत बिहीवार प्रमुख ब्याजदरहरू २ प्रतिशतले घटाउने निर्णय गरेपछि यो कटौती गरिएको हो । यी कदमहरूले स्थानीय अर्थतन्त्रको विश्वव्यापी मौद्रिक विकाससँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।
१५. भारतको पञ्जावमा बाढीको असर
भारतको उत्तरी राज्य पञ्जावमा बाढीको गम्भीर असर परेको अधिकारीहरूले बताएका छन् । मनसुनी वर्षाले राज्यभरि विनाश मच्चाएको छ । जसका कारण प्रमुख नदीहरू खतराको तह भन्दा माथि बगेका छन् । पञ्जावका २३ जिल्लामध्ये अहिलेसम्म २२ जिल्ला प्रभावित भएका छन् । बाढीको पानीले प्रभावित जिल्लाका गाउँहरू डुबानमा पारेको छ र कृषि जमिन डुबानमा परेको छ । विनाशकारी बाढीले किसानलाई ठूलो आर्थिक क्षति पु¥याएको छ । लगभग ३ लाख एकड कृषि जमिन डुबानमा परेको छ ।
१६. युद्धका कारण शिक्षाबाट वञ्चित गाजाका विद्यार्थी
सेप्टेम्बर महिना विश्वभरका धेरै भागका बालबालिकाका लागि विद्यालय वर्षको शुरुवात हो । तर युद्धग्रस्त गाजामा बसोवास गर्ने प्यालेस्टिनी विद्यार्थीका लागि यस सेप्टेम्बरमा विद्यालय फर्कने सम्भावना गत वर्ष जस्तै टाढाको आशा बनेको छ । मध्य गाजापट्टी शहर देइर अल–बलाहमा रहेको विस्थापन शिविरको प्रवेशद्वारमा १२ वर्षीया मारम चुपचाप बसिरहेकी थिइन् । उनको छेउमा पुरानो धुलोले ढाकिएको झोला राखिएको थियो ।
१७. उखु किसानका मागहरु सम्बोधन गर्न एमाले सांसद महतोद्वारा सरकारको ध्यानाकर्षण
नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले उखु किसानका मागहरु सम्बोधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले किसानको लागत र मेहनतको प्राथमिकता राखेर उखुको मूल्य निर्धारण गर्न तथा अनुदान वितरणमा रहेको अपारदर्शिता हटाउन समेत सरकारसँग माग गर्नुभयो । उहाँले किसानहरू सधैं आफ्नो पसिनाको मूल्य प्राप्तिका लागि सडकमा आउनुपर्ने बाध्यता अन्त्य गर्न समेत माग गर्नुभयो ।
१८. जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सांसद शाहीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । विदेशी स्याउ आयातमा २ महिना प्रतिवन्ध लगाउन पनि उहाँको माग छ । उहाँले विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको कारण स्वास्थ्यमा समस्या देखिने तथा स्वदेशी स्याउले उचित मूल्य नपाउने भएको कारण स्वदेशी स्याउको लागि बजार सुनिश्चित गर्न माग गर्नुभयो ।
१९. नागरिकता विधेयक ः राष्ट्रिय सभाबाट पठाएको संशोधन प्रश्ताव प्रतिनिधि सभाबाट स्वीकृत
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक , २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ । सभाको बुधवारको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।
२०. नेपालको भूभाग र सार्वभौमिकता बचाउन संसद, दल र जनता एकजुट हुनुपर्छः सांसद बडू
नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच सहमतिप्रति प्रधानमन्त्रीले स्पष्ट आपत्ति जनाएको उल्लेख गर्दै धन्यावाद व्यक्त गर्नुभयो ।
२१. बजेट विनियोजन गर्दा सरकारले झापालाई मात्रै नेपाल देख्छः सांसद तामाङ
नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले बजेट विनियोजन गर्ने समयमा सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई मात्र नेपाल देख्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले कर्णाली क्षेत्रका सडकलगायत भौतिक पूर्वाधारमा पर्याप्त स्रोत नछुट्याएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।
२२. संविधान कार्यान्वयनको लागि नीतिगत र कानूनी सुधार सरकारको प्राथमिकतामाः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनको लागि नीतिगत र कानूनी सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । संविधानको कार्यान्वयन, सुशासन कायम र सेवा प्रवाहलाई प्रभावकारी बनाउन कानूनहरुलाई पूर्णता दिने र नयाँ ऐन निर्माणमा सरकार सक्रियताका साथ लागिरहेको जिकिर गर्नुभयो ।
२३. सत्तापक्षको कर्कस र अराजक शैलीका कारण लोकतन्त्र कमजोर भयोः सांसद ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारको अराजक, असहिष्णु र कर्कस शैलीका कारण लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनु भयो । उहाँले आफूहरू ९५ दिनदेखि निरन्तर आन्दोलनरत रहे पनि सत्तापक्षले सुन्न नचाहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले उहाँले पार्टीका नेताहरुका डीपफेक भ्वाइस रेकर्डहरु प्रयोग गरेर चरित्र हत्या गर्ने प्रवृत्ति बढेकोप्रति पनि संसदको ध्यानाकर्षण गराउनु भयो ।
२४. एमालेको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे छलफल गर्न हुँदैनः शंकर पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पार्टीको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे फरक मत प्रश्तुत गर्न नमिल्ने बताउनुभएको छ । विधान महाधिवेशनमा पार्टीको दस्तावेजमाथि मात्रै छलफल हुने वैधानिक व्यवस्था भएकाले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारेको फरक मत राख्न नमिल्ने तर्क गर्नुभएको हो ।
२५. वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैनः पुष्पकमल दाहाल
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताउनुभएको छ । भ्रष्ट र दलालहरुले काँग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उहाँले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताउनुभएको हो । दलाल, विचौलियाहरुले आफू अनुकूल काम गराउन वर्तमान सरकार बनाइएको अध्यक्ष दाहालको जिकिर थियो ।
२६. सरकारले मल कारखाना स्थापना गर्न ढिलाई नगरोस्ः विनोद चौधरी
सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मल कारखाना तत्काल स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ । मल कारखाना खोल्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत तदारुकता देखाएको उल्लेख गर्दै उहाँले त्यसको निर्णय लिन सरकारलाई सचेत गराउनुभएको हो । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद चौधरीले सो कारखाना बर्दघाटमा नै स्थापना गर्न पनि सरकारलाई सुझाव दिनुभयो । उहाँले मलको कृतिम अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
न्युज एजेन्सी नेपाल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij